१७ साउन, काठमाडौं ।
देशकै सर्वोच्च फुटबल प्रतियोगिता सहिद स्मारक ए डिभिजन लिग कात्तिक २९ गतेबाट सुरु हुने भएको छ । यसअघि असोज ३ गतेबाट सुरु गर्ने भनिएकोमा पूर्व निर्धारित मिति भन्दा झन्डै २ महिना सर्ने भएको हो ।
साफ च्याम्पियनसिप अक्टोबरको पहिलो साता आयोजना हुने भएकाले त्यसलाई ध्यानमा राख्दै लिग सारिएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।
एन्फा र सहभागी १४ क्लबका प्रतिनिधिबीच आइतबार भएको बैठकले लिगको पुरस्कार राशीमा पनि वृद्धि गरेको छ । यसपटक लिगको विजेताले ७५ लाख रुपैयाँ पाउनेछ । गत वर्षको तुलनामा पुरस्कार राशीमा २५ लाख रुपैयाँ बृद्धि गरिएको बताइएको छ । त्यस्तै दोस्रो हुने टोलीले ५० लाख रुपैयाँ पाउनेछ । यसअघि दोस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाएको थियो । सहभागी सबै क्लबले तयारी वापत एन्फाबाट २० लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
एक चरणमा हुने लिगको अंकतालिकाको पुछारमा रहने दुई टोली बी डिभिजनमा घटुवा हुनेछन् । यसअघि पहिलो चरणका खेलपछि शीर्ष ८ बीच उपाधिका लागि र पुछारका ६ टोलीबीच रेलिगसेनको टुंगो लगाउनका लागि खेल हुने बताइएको थियो । तर कोभिडका कारण एक चरणमा नै लिग सक्न क्लबहरु सहमत भएको एन्फाले जनाएको छ ।
लिगका लागि खेलाडीहरुको दर्ता प्रक्रिया सुरु भइसकेको पनि एन्फाले जनाएको छ ।