काठमाडौँ असार २२
उपत्यकाका विभिन्न स्थानबाट हराएको ३३ थान मोटरसाइकल फेला पारेर सम्बन्धित धनीलाई बुझाइएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा विभिन्न समयमा न्युरोड, क्षेत्रपाटी, कोटेश्वर, ठमेल, पाटन, पुतलीसडक, थानकोट, नयाँबसपार्क, महाराजगञ्ज, कालीमाटीलगायत स्थानबाट हराएका मोटरसाइकल फेला पारेर आज सम्बन्धित धनीलाई जिम्मा लगाएको हो ।
महाशाखाका प्रवक्ता सुरेन्द्रप्रसाद मैनालीले उपत्यकाबाट विभिन्न समयमा हराएका मोटरसाइकल निवेदनका आधारमा खोजेर सम्बन्धित धनीलाई बुझाइएको जानकारी दिए । “उपत्यकामा दैनिक दर्जनौँ दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारी साधन हराउने गरेका छन्, मानिसको लापरवाहीका कारण धेरै सवारी साधन हराउने गरेका हुन्”, उनले भने । विसं २०६६ पुस २६ गते भीमसेनगोलाबाट मे५प २९०२ नंको असिम प्रसाईंको मोटरसाइकलसमेत फेला पारेर आज सम्बन्धित धनीलाई बुझाइयो ।
महाशाखाका प्रवक्ता मैनालीले धेरै व्यस्त हुने ठाउँबाट सवारी साधन हराउने गरेको भन्दै पार्किङ गर्दा धेरै चनाखो हुनुपर्ने बताए।
रासस