२९ साउन, जनकपुरधाम ।
वैदेशिक रोजगारीको शिलशिलामा ६ वर्षदेखि मलेसियामा रहेका सप्तकोशी नगरपालिका– १०, सप्तरीका गोपाल प्रसाद सन्तले यसपालिको एसईई परीक्षामा २.७५ जिपिए ल्याएका छन् ।
सन्त स्थानीय जनता माध्यमिक विद्यालय भगनी मलेठबाट एसईई उतीर्ण भएका हुन् । विदेशमा रहेका उनी एसईई उतीर्ण भएपछि चर्चाको विषय बनेको छ ।
उनका बुवा रामप्रसाद सन्त विद्यालयका सहयोगी रहेका छन् । स्रोतका अनुसार एसईई परीक्षा फारम भर्दा विद्यार्थी स्वयम् उपस्थित हुनुपन भएपनि बुवाले नै प्रधानाध्यापक श्याम चौधरीको मिलोमतोमा छोरालाई सबै कागजी प्रक्रिया पूरा गरी उतीर्ण गराएका हुन् ।
सप्तकोशी नगरपालिकाको शिक्षा शाखाले विदेशमा रहेका व्यक्ति कसरी एसईई उत्तिर्ण भए भन्ने विषयमा ‘विरण खुलाइ पठाउन’ विद्यालयलाई पत्र काटेको छ । पत्रमा भनिएको छ, ‘सम्बन्धित विद्यार्थीको प्रयोगात्मक परीक्षा कुन प्रक्रियाबाट लिइएको हो ? सम्पूर्ण तथ्य खुल्ने विवरणहरु तयार गरी २ दिनभित्र शिक्षा शाखामा पेश गर्नु हुन निर्देशानुसार अनुरोध छ ।’
साउन २६ गते नै विद्यालयलाई शिक्षा शाखाले पत्र पठाएर दुई दिन भित्र विवरण माग गरेको छ । तर आज तीन दिन बित्न लाग्दा पनि विद्यालयले जवाफ पेश गरेका छैन ।
प्रधानाध्यापक चौधरीले यस विषयमा बोल्न चाहेनन् ।