१५ भदौ, एजेन्सी ।
अफगानिस्तान २० वर्ष अघिकै नेतृत्वलाई हस्तान्तरण गर्दै हारको औचित्यहिन युद्ध र हारेको भारी मन बोकेर अमेरिकाले झण्डै २० वर्षपछि पूर्णरुपमा अफगानिस्तान छाडेको छ । अमेरिकाले २० वर्षे युद्धमा गरेको व्यापक कारबाही तालिबानको उदयसँगै निर्रथक देखिएको छ । तालिबानविरुद्ध अमेरिकाले छेडेको कारबाहीपछि तत्कालीन अवस्थामा उनीहरु सत्ताच्यूत भएपनि २० वर्षको अन्तरालमा उनीहरुको पुर्नउदय भएको छ ।
यसबीचमा अमेरिकाले खबौ डर युद्धमा खर्च गरेको छ भने हजारौ मानिसको ज्यान गएको छ । यसअघि तालिबानले विदेशी सेना फिर्ताको लागि समयसीमा तोकेकै दिन अगष्ट ३१ मै अमेरिका पूर्णरुपमा फिर्ता भएको हो ।अमेरिकाले अफगानिस्तानबाट आफ्नो सेना दुई दशक लामो युद्ध पछि बाहिरिएको बताएको छ । अफगानिस्तानको राजधानी काबुलबाट अमेरिकी राजदूत रस विल्सन र अमेरिकी कमाण्डर जनरल क्रिश डोनाह्यु गएरातिको अन्तिम उद्धार उडानमा सहभागी भएका थिए । अमेरिकाको अन्तिम उद्धार उडानअन्तर्गत काबुलस्थित हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलबाट सी–सेभेन्टीन विमान उडेलगत्तै तालिबानहरूले आकाशमा रातो प्रकाश छरेर र मेसिन गनमार्फत गोली चलाएर खुशीयाली मनाएका थिए।
अमेरिकी सेनाको केन्द्रीय कमाण्डका प्रमुख जनरल फ्र्याङ्क मकेन्जीले पेन्टागनमा आयोजित प्रेस ब्रिफिङमा सन् २००१ को सेप्टेम्बर ११ देखि अफगानिस्तानमा सुरु भएको युद्ध पूर्णरुपमा बन्द भएको घोषणा गर्नेछन् । विद्रोही समूह तालिबानलाई परास्त गर्न भन्दै २० वर्ष अघि अमेरिकाले आफ्ना सेनालाई अफगानिस्तानमा खटाएको थियो । तर, राष्ट्रपतिमा जो बाइडेन आएसँगै अमेरिकाले आफ्ना सेना फिर्ता गर्ने घोषणा गरेको थियो । अमेरिकी सेनाले अफगानिस्तान छोड्न थालेसँगै तालिबान सक्रिय भएको थियो । ग्रामीण क्षेत्रमा मात्रै सीमित भएको तालिबानले त्यसपछि सहर केन्द्रित आक्रमण गर्न थाल्यो । गएको साउन ३१ गते तालिबानले राजधानी काबुललाई नियन्त्रणमा लिएपछि त्यहाँ फसेका आफ्ना नागरिक र सेनाको उद्धारका लागि अमेरिकाले आजसम्मको समय पाएको थियो ।
यसैबीच, अमेरिकाले काबुलमा भएको ड्रोन आक्रमणका बारेमा पनि अनुसन्धान भइरहेको जनाएको छ । विद्रोही समूह आईएसको रकेट आक्रमणलाई रोक्न अमेरिकाले ड्रोन आक्रमण गरेको थियो । अमेरिकी सेना पूर्णरुपमा फिर्ता भएसँगै अब काबुल विमानस्थललाई तालिबानले आफ्नो हातमा लिने छ । तालिबानले अब विमानस्थलमा व्यापारिक उडानको शुरुवात गर्ने र कागजात भएका व्यक्ति देशबाहिर जान पाउने बताएको छ । अहिले पनि हजारौ अफगानी देश छाड्नका लागि विमानस्थलमा बसिरहेका छन् ।
