२६ भदाै, चितवन ।
नेपाली काँग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले आफू सभापतिको पदबाट पछि नहट्ने बताएका छन् । आज यहाँ पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले पार्टीको १४औँ महाधिवेशनमा आफू सभापतिको उम्मेदवार रहने बताएका हुन् ।
उनले भने, “हैन म कहाँ ब्याक हुन्छु । म त उठ्ने नै प्रयत्न गर्दैछु ।” महामन्त्री कोइरालाले पार्टीको महाधिवेशनमा संस्थापन इतरको साझा उम्मेदवार समय आएपछि बन्ने भन्दै आफू सभापतिको उम्मेदवारबाट पछि नहटेको बताए।
उनले जिल्लाहरूमा काँग्रेसको अधिवेशन चलिरहेको समयमा कार्य तालिका संशोधन गर्नु बाध्यता रहेको उल्लेख गर्दै क्रियाशील सदस्यता विवाद अझै २१–२२ जिल्लामा कायमै रहेको र यो विवाद मिलाउनका लागि कार्य तालिका संशोधन गरिएको जानकारी दिए । क्रियाशीलको अन्तिम टुङ्गो छिट्टै लाग्ने उनले जानकारी दिए ।
एक फरक प्रसङ्गमा महामन्त्री कोइरालाले कम्युनिष्ट उच्छृङ्खल चरित्रका हुन्छन् भन्ने उदाहरण हिजो संसद्मा भएको घटनाले पुष्टि गरेको बताए ।
विपक्षीको धर्म विरोध गर्ने भए पनि हिजोको घटनाले संसद्को गरिमामाथि आँच आउने काम भएको बताउँदै उनले भने, “उच्छृङ्खल चरित्रले कम्युनिष्ट पार्टीहरू चलिरहेका छन् ।” रासस