१ असोज, काठमाडौं ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एक हप्ताभित्र मन्त्रिपरिषदले पूर्णता पाउने बताएका छन् । शुक्रबार काठमाडाैँकाे मिनभवनस्थित केन्द्रीय कार्यालय उदघाटन गरेपछि पत्रकारहरुलाई प्रतिक्रिया दिंदै नेपालले सो कुरा बताएका हुन् ।
उनले सरकारमा जान आफूहरु आज भने आजै, भोलि भने भोलि नै तयार रहेको पनि बताए । मन्त्रिपरिषदले कहिले पूर्णता दिने भनेर पत्रकारहरुले सोधेको प्रश्नमा उनले भने ‘म प्रधान्मन्त्री भएको भए ठ्याक्कै भनिदिन्थें, आशा गरौं, यो हप्ताभित्र हुने छ ।’
नेपालले आगामी चुनावमा सत्तारुढ ५ दलीय गठबन्धन मिलेर एमालेविरुद्ध जाने बताएका छन् । उनले तत्काल अरु पार्टीसँग एकीकरणको सम्भावना नरहेको बताए ।
अध्यक्ष नेपालले भने, ‘हामी चुनावअघि अरु पार्टीसँग एकीकरण गर्दैनौं । यो पाँच दलीय गठबन्धनलाई निरन्तरता दिन्छौं । आउने चुनावमा पनि हामी मिलेर लड्छौं । यो गठबन्धन चुनावसम्म लैजान्छौं ।’