४ असोज, काठमाडौँ ।
नेपालीहरुको महान चाड बडादशैंका लागि सोमबारदेखि नयाँ नोट साट्न सुरु गरिएको छ । कोरोना भाइरसको जोखिमका बीच पनि नेपाल राष्ट्र बैंकले कोरोना भाइरसबाट बच्न जनस्वास्थ्यका मापदण्ड अपनाउँदै सर्वसाधरणका लागि नयाँ नोट साट्ने व्यवस्था मिलाएको हो ।
राष्ट्र बैंकबाट मात्रै नभएर बैंकहरुले आफैंले पनि आफ्ना ग्राहकहरुलाई नयाँ नोट सटहीको व्यवस्था गर्ने भएका छन् । वाणिज्य बैंकहरुले वितरण गर्नका लागि ४ अर्ब रुपैयाँका नयाँ नोट लगिसेकेको राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालले जानकारी दिएका छन् । बैंकहरुले प्रधान कार्यालय वा अन्य तोकिएका कार्यालयहरुबाट नयाँ नोट सटहीको सुविधा दिनेछन् ।
राष्ट्र बैंकले भने बालुवाटार कार्यालय र प्रदेशस्थित ७ वटै प्रदेशका प्रादेशिक कार्यालयहरुबाट नयाँ नोट वितरण गर्नेछ । यसका अलवा केही विकास बैंक र फाइनान्स कम्पनीहरु समेतले नयाँ नोट लगिसकेका छन् । राष्ट्र बैंकले सर्वसाधरणका लागि ३० देखि ३५ अर्ब रुपैयाँ बराबरको नयाँ नोट सटही गर्ने तयारी गरेको छ । जसमध्ये १२ देखि १५ अर्ब रुपैयाँसम्म ५, १०, २०, ५० र १ सय रुपैयाँको नोटहरु वितरण गर्ने तयारी राष्ट्र बैंकको छ । कार्यकारी निर्देशक नेपालका अनुसार प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले नयाँ नोट वितरण हुनेछ । हरेक वर्ष दशैंमा नयाँ नोट वितरण गर्दै आएको राष्ट्र बैंकले गत वर्ष कोरोनाका कारण नयाँ नोट वितरण गरेको थिएन ।