१२ असोज, काठमाडौं ।
कोभिड–१९ का कारण धरासायी बनेको लुम्बिनी क्षेत्रको पर्यटन व्यवसायले विभिन्न अफरको सार्वजनिक गर्दै व्यापार खुला गरेको घोषणा गरेका छन् ।
आन्तरिक पर्यटकलाई लक्ष्य गर्दै यहाँका होटलले आवास र खानामा विभिन्न छुटको व्यवस्था गरेको लुम्बिनी होटल एशोसिएसनले जानकारी दिएको छ ।
होटल एशोसिएसनले छुट अफर सार्वजनिक गर्दै पर्यटकलाई लुम्बिनी आउन निमन्त्रणा गरेका छन् । कोभिडका कारण कमजोर अवस्थामा पुगेको व्यापारलाई सहयोग पुग्ने उद्देश्यका साथ अफर गरिएको हो । ठूलो नोक्सान व्यहोरिसकेका व्यवसायीले यो अफर सार्वजनिक गरेपछि पर्यटक आउने अपेक्षा गरिएको छ ।
लुम्बिनी होटल एशोसियसनले आवासमा २५ प्रतिशत र खानामा १० प्रतिशत छुटको व्यवस्था गरेको होटल एशोसिएशन लुम्बिनीका अध्यक्ष मिथुन श्रेष्ठले जानकारी दिए। उनले भने, ‘लुम्बिनी घुम्न आउने पर्यटकका लागि यो अफर सार्वजनिक गरिएको हो ।’
अध्यक्ष श्रेष्ठका अनुसार होटल बन्द अवस्थामा रहे पनि सफा गर्नुपर्ने, बिजुली, पानी तथा केही कर्मचारी राख्नुपर्ने, घरभाडा तिर्नुपर्नुे बाध्यता रहेकाले यो अफरले केही सहयोग पुग्नेमा विश्वास छ ।
यो अफरपछि लुम्बिनीमा केही पर्यटक आउने क्रम पनि जारी रहेको देखिन्छ । महामानव गौतमबुद्धको जन्मस्थान लुम्बिनी आउने बौद्धमार्गीलाई समेत यो अफरले सहयोग पुग्ने पर्यटन व्यवसायीले बताउने गरेका छन् ।
लुम्बिनी क्षेत्रका साथसाथै भैरहवा क्षेत्रका होटलले पनि भारी अफरको व्यवस्था गरेको सिद्धार्थ होटल एशोएियसनले जानकारी दिएको छ । चाडपर्व लक्षित दशैँ–तिहारलाई मध्यनजर गरेर घुम्न आउने पर्यटकका लागि विशेष छुटको व्यवस्था गरिएको होटल एशोसिएसनले जनाएको छ ।
सिद्धार्थ होटल एशोएिसनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले आवास २५ देखि ५० प्रतिशतसम्म छुट र खानामा समेत परिकार हेरेर छुटको व्यवस्था गरेको बताए।
पर्यटक तथा व्यापारी र स्थानीय कार्यक्रमलाई मध्यनजर गरेर गरिएको अफरमा अवस्था हेरेर विशेष छुट होटलले गरेका छन् ।
नेपाल–भारत सीमानाका बन्द हुँदा यस क्षेत्रमा सबैभन्दा बढी मार पर्यटन व्यवसायी परेका छन् । दैनिक सयौं भारतीय ट्रक तथा कन्टेनर नेपाल भित्रिने गरेका छन् । तर पर्यटकलाई भने नेपालमा प्रवेश निषेध गरिएको छ । यसले गर्दा व्यवसायी मारमा परेको पर्यटन व्यवसायीको गुनासो रहेको छ।

