२१ असाेज, काठमाडौं।
इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत सनराइजर्स हैदरावादले रोयल च्यालेन्जर्स बैंग्लोरलाई पराजित गरेकाे छ । अबुधाबीमा बुधबार राति सम्पन्न खेलमा हैदरावादले बैंग्लोरलाई ४ रनले पराजित गरेको हो।
हैदरावादले दिएको १ सय ४२ रनको लक्ष्य पछ्याएको बैंग्लोरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३७ रनम समेटियो। बैंग्लोरका देबदूत पडिकलले सर्वाधिक ४१ रन जोड्दा ग्लेन म्याक्सवेलले ४० रन बनाए।
एबी डी भिलियर्सले अविजित १९ रन बनाए भने शाहबाज अहमेदले १४ तथा श्रीकार भारतले १२ रन जोडे। हैदरावादका भुवनेश्वर कुमार, जासन होल्डर, राशिद खान, सिदार्थ कउल र उम्रन मलिकले एक÷एक विकेट लिए।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४१ रन बनाएको थियो।हैदरावादका लागि जासन रोयले ४४ तथा कप्तान केन विलियम्सनले ३१ रन बनाए। जासन होल्डरले १६ तथा प्रियम गार्गले १५ बनाएका थिए। बैंग्लोरका हर्सल पटेलले ३ तथा डान क्रिस्टियनले २ विकेट लिएका थिए।
लिग तालिकाको पुछारमा रहेको हैदरावादले जितसँगै १३ खेलमा ६ अंक जोडेको छ। बैंग्लोर १६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ। बेंगलोरको झिनो हारसँगै दिल्ली शीर्ष दुईमा रहने पक्का भएको छ । एक खेल खेल्न बाँकी हुँदा दिल्लीको २० अंक छ । चेन्नई अन्तिम खेलमा विजयी भए २० अंक हुनेछ । बेंगलोर अन्तिम खेलमा विजयी भए १८ अंकमा मात्र पुग्छ । जसको कारण दिल्ली क्वालिफायरमा पुगेको हो । बेंगलोरले अन्तिम खेलमा शुक्रबार दिल्लीसँग खेल्नेछ । चेन्नईले अन्तिम खेलमा बिहीबार पन्जाब किंग्ससँग खेल्नेछ । चेन्नई र बेंंगलोर मध्य एक क्वालिफायरमा पुग्नेछन् ।
चेन्नई उक्त खेलमा पराजित भएमा र अन्तिम खेलमा बेंगलोरले फराकिलो जित निकालेमा नेट रनरेटको आधारमा अन्तिम दुईमा रहनसक्छ । चेन्नई विजयी भएमा बेंगलोर शीर्ष दुईमा रहने सम्भावना सकिने छ । चेन्नई अन्तिम खेलमा पराजित भएपनि नेटरनरेटका आधारमा शीर्ष दुईमा रहने उच्च सम्भावना छ । चेन्नईलाई नेट रनरेटमा पछि पार्न बेंगलोरले फराकिलो र अविश्वसनिय नतिजा निकाल्नुपर्ने हुन्छ । प्लेअफमा अव एक टोलीले स्थान बनाउन बाँकी छ । जसमा सनराइजर्स हैदराबाद बाहेक अन्य चार टोली दौडमा छन् । मुम्बई इन्डियन्स र कोलकाता नाइट राइडर्सको सम्भावना बलियो छ । राजस्थान रोयल्स र पन्जाब किंग्सको पनि सम्भावना छ ।