दसैंमा घर फर्किनेको लर्को, नाका खुकुलो हुँदा कर्णालीमा कोरोना जोखिम बढ्दो

२० असोज ७८, बिहीबार

२१ असोज, दैलेख ।

Advertisement

कर्णाली प्रदेशमा कोभिड–१९ को संक्रमण दर उच्च छ । बुधबार मात्र प्रदेशमा एक सय २७ को परीक्षण गर्दा २४ जनामा संक्रमण पुष्टि भएको छ ।

न्यून संख्यामा गरिएको परीक्षणमा पनि ठूलो संख्या संक्रमित भेटिने गरेका छन् । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार कर्णालीमा दैनिक सरदर २० प्रतिशत हाराहारी संक्रमण दर कायमै छ । चाडपर्व नजिकिएसँगै भिडभाड बढ्ने र त्यसले थप संक्रमण फैलाउने जोखिम देखिएको छ ।

Advertisement

पछिल्ला दिनमा देशभित्रकै विभिन्न सहर र भारतबाट कर्णाली आउनेको संख्या बढ्दो छ । रोजगारीका लागि भारत गएकाहरू स्वदेश फर्कने क्रम बढेसँगै कोरोनाको जोखिम बढेको छ । उनीहरू विना सावधानी सिधै गाउँ पुग्ने गरेकाले संक्रमणको खतरा झनै बढेको छ ।

दसैँ–तिहारको मुखमा चाड मनाउन फर्कनेको चाप भए पनि सीमानाकामा सतर्कता अपनाइएको छैन । त्यहाँ स्वास्थ्य सहायता कक्ष राखिएका छैनन् ।

Advertisement

गत वर्ष संक्रमण तीव्र बनेका बेला प्रदेश सरकारले नाकाबाट आवतजावत गर्नेको स्वास्थ्य परीक्षण गर्ने गरेको थियो । ती स्वास्थ्य सहायता कक्ष अहिले हटाइएका छन् ।

पछिल्लो समय यात्रुहरूको सामान्य चेकजाँचसमेत नहुँदा निर्वाध रूपमा आउजाउ भइरहेको छ । संक्रमण व्यापक भएका सहरहरूबाट धमाधम आइरहेका नागरिक विनानिगरानी कर्णाली भित्रिएकाले चाडपर्वका समयमा संक्रमण भयावह बन्ने देखिएको छ ।

सरकारी संयन्त्र र नागरिक दुवैबाट लापरबाही भइरहेकाले थप जोखिमको अवस्था निम्तिन सक्ने चिकित्सकहरूले औंल्याएका छन् ।

संक्रमण दर बढ्न सक्ने चिन्ता

स्वास्थ्य सुरक्षामा ध्यान नदिनु तथा भिडभाड हुने स्थानका साथै सीमानाकामा निगरानी नहुनुले कोरोना संक्रमणको दर उच्च हुनसक्ने आकलन गरिएको प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा. डम्बर खड्का बताउँछन् । गत वर्ष संक्रमण नियन्त्रण गर्न कर्णाली प्रदेश भित्रिने तीनवटा सीमानाकामा निगरानी गरिएको थियो ।

यात्रुको ज्वरो नाप्नुका साथै कोभिडसँग मिल्दोजुल्दो लक्षण भए एन्टिजेन तथा पीसीआर परीक्षण गरिन्थ्यो । प्रदेशका प्रवेशद्वार सुर्खेतको सीमाना बबई तथा पञ्चपुरीको जामु, सल्यानको कपुरकोटलगायतका स्थानमा हेल्थ डेस्क राखिएका थिए ।

स्वास्थ्य सतर्कता नअपनाए पुनः संक्रमण तीव्र रूपमा फैलिन सक्ने स्वास्थ्यकर्मीहरूले बताइरहेका बेला प्रदेश सरकारले भने सीमानाकाबाट आउने व्यक्तिहरूको अभिलेखसमेत राखेको छैन ।

प्रदेश सरकारले सीमानाकामा आवश्यक सतर्कता अपनाएको छैन

सरकारको फितलो व्यवस्थापन तथा नागरिकमा स्वास्थ्य सुरक्षामा हेलचेक्य्राइँ बढेपछि संक्रमण फेरि तीव्र हुनसक्ने देखिएको हो । तेस्रो लहरको संक्रमण नियन्त्रणका लागि योजना बनाएर पूर्वतयारी थालिएको बताइरहेको प्रदेश सरकारले सीमा नाकामा आवश्यक सतर्कता अपनाएको छैन ।

यसपटक नाकामा यात्रुहरूको स्वास्थ्य परीक्षण नगरे पनि सुरक्षाका मापदण्ड अपनाउन भनिएको आन्तरिक मामिला तथा कानुनमन्त्री एवं सरकारका प्रवक्ता सीता नेपाली बताउँछिन्।

‘संक्रमण नियन्त्रणका लागि विभिन्न माध्यमबाट सचेतनामूलक सूचना प्रसारण गरिएकै छ,’ उनले भनिन्, ‘सामाजिक विकास मन्त्रालयसँग समन्वय गरेर जोखिमजन्य गतिविधिको निगरानी र न्यूनीकरणमा काम गरिने छ ।’

भारतसँगको खुल्ला सीमानाका कारण कर्णालीमा संक्रमणको जोखिम बढी

भारतसँगको खुल्ला सीमानाका कारण कर्णालीमा संक्रमणको जोखिम बढी छ । यहाँका हजारौं नागरिक मजदुरी गर्न भारतका विभिन्न सहरमा पुग्छन् । उनीहरू मुख्य चाडपर्व मनाउन घर फर्कने गर्छन् ।

कर्णालीका युवाहरूको रोजगारीको प्रमुख गन्तव्य भारत नै हो । प्रहरी तथ्यांकअनुसार यतिबेला भारतबाट फर्किएकाहरू बबई नाका भएर मात्र दैनिक एक सयको हाराहारीमा आइरहेका छन् ।

अन्य खुल्ला नाकाहरूबाट आउनेको संख्या पनि त्यस्तै छ । दसैँ नजिकिएकाले यो संख्या दिनप्रतिदिन बढ्ने प्रहरीको भनाइ छ । अहिले बढी भिडभाड हुने व्यापार व्यवसाय, उद्योगधन्दा तथा कार्यालयहरूसमेत खुल्ला छन् । सार्वजनिक स्थलहरूमा नागरिकहरूको उत्तिकै भिड छ । संक्रमण दर उच्च रहेकै बेला स्वास्थ्य सुरक्षाप्रति बेवास्ता गरिएको हो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top