१ असाेज, काठमाडौं ।
माल्दिभ्समा आयोजना भएको १३औं संस्करणको साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोली नेपाल आइपुगेको छ । नेपाली टाेली केहीबेरअघि कतार एयरको जहाजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओेर्लिएको हो ।
तर, नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी भने नेपाल आएनन् । अलमुताइरी माल्दिभ्सबाटै कुवेत गएका छन् । साफ च्याम्पियनसिपपछि मुख्य प्रशिक्षकबाट राजीनामा दिने र नेपाल कहिल्यै नफर्किने घोषणा गरेका उनी नेपाल आएर नेपाली टोली सम्हाल्न राजी भएको एन्फा स्रोतले जनाएको छ । त्यहाँ उनी परिवारसँग केही समय बिताएर नेपाल फर्किने एन्फा स्रोतले जनाएको छ ।
अलमुताइरी सन् २०२२ को फिफा विश्वकप छनोट र सन् २०२३ को एसिया कपअन्तर्गत दोस्रो चरणको छनोटका लागि नेपाली टोली सम्हाल्न नेपाल आएका थिए । प्रो-लाइसेन्स प्राप्त अलमुताइरी २०७७ चैतमा नेपालको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए ।
माल्दिभ्सको राजधानी मालेमा शनिबार राति भएको फाइनलमा नेपाल भारतसँग ३–० ले पराजित हुँदै उपविजेता बनेको थियो । फाइनलमा पराजित भएपछि नेपाल ऐतिहासिक उपाधि जित्नबाट विमुख भएको थियो । तर, पहिलो पटक साफ च्याम्पियनसिपको उपविजेता बनेर नेपालले इतिहास भने रच्न सफल भयो ।