रोकिएको कांग्रेस अधिवेशन सुरु

रोकिएको कांग्रेस अधिवेशन सुरु

२८ कार्तिक, काठमाडौँ ।

क्रियाशील सदस्यता विवाद टुंगो लाग्न नसक्दा रोकिएको नेपाली कांग्रेसका तल्लो तहका अधिवेशन शनिबारबाट सुरु भएको छ। प्रदेश नम्बर २ को सर्लाही, पर्सा र रसुवाबाहेकका जिल्लामा शनिबार वडा अधिवेशन सुरु भएको हो। १३ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक नहुँदा अधिवेशन सुरु भएका अन्य जिल्लाको पनि प्रक्रिया रोकिएको थियो।

१३ जिल्लाले सबै तहको अधिवेशन सके पनि प्रदेश २ का आठसहित डोल्पा, बाँके, कैलाली, सुर्खेत, रसुवा जिल्लामा वडा अधिवेशन सुरु हुन सकेको थिएन।

बाँकी सबै जिल्लाको अधिवेशन प्रक्रिया एकसाथ अघि बढाउने कांग्रेस निर्वाचन समितिको निर्णयसहित संशोधित कार्यतालिकाअनुसार फेरि अधिवेशन प्रक्रिया सुरु भएको हो। कतिपय जिल्लामा शनिबार नै प्रदेशसभा क्षेत्रीय अधिवेशन भएका छन्।तर क्रियाशील सदस्यता विवाद अझै सुल्झेको छैन।

सबैभन्दा अन्तिममा क्रियाशील सदस्यता सार्वजनिक गरिएको रौतहटदेखि सर्लाही, डडेलधुरासम्मको विवाद कायमै छ। पार्टी सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराका सभापति कर्णबहादुर मल्लले यसअघि भएको वडा र पालिका अधिवेशन रद्द गरी पुनः अधिवेशन गराउन माग गर्दै आएका छन्।

जिल्ला कार्यसमितिको सहमतिबिनै क्रियाशील सदस्यता विवरण सार्वजनिक गरी डडेलधुरामा वडा र पालिका अधिवेशन गरिएको छ। सभापति मल्लले ती अधिवेशन रद्द गरी पुनः नगराए मंसिर १ गतेदेखि पार्टी केन्द्रीय कार्यालयमा अनशन र धर्नामा बस्ने जानकारी शनिबार पत्रकार सम्मेलनमार्फत गराएका छन्।

पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको शनिबार बसेको बैठकमा संस्थापन इतरका नेताहरूले डडेलधुरासहितका जिल्लाको सदस्यता विवाद प्रवेश गराएका छन्।जिल्लाहरूको विवाद टुंगोमा पुग्न नपाउँदै जनसम्पर्क समितिभित्रको सदस्यता विवादले पनि बैठकमा प्रवेश पाएको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.