१० मंसिर, चितवन ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राजनीतिक दलहरु आपसमा मिल्न नसक्दा मुलुकमा बाह्य शक्तिले खेलिरहेको बताएका छन् ।
चितवनमा नेकपा एमालेको दशौं महाधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै उनले देशभित्र एकले अर्को दललाई खुइल्याउने काम भएकाले बाह्य शक्तिले खेलिरहेको बताएका हुन् ।
उनले भने, ‘बाह्य शक्ति खेल्छ त । हामी लडाइ गर्नुपर्ने एकले अर्कोलाई खुइल्याउनुपर्ने । बाह्य शक्तिले त त्यही खोजरिहेको छ ।’ उनले विश्वमा कम्युनिस्ट आन्दोलन कमजोर भएका बेला नेपालमा पनि कम्युनिस्ट पार्टीमा टुटफुट आएको भन्दै कम्युनिस्ट पार्टीको अन्तरविरोधमा बाह्य शक्तिले खेल्न खोजेको बताए ।
अहिले गणतन्त्र र धर्मनिरपेक्षता चाहने सबै शक्ति एक ठाउँमा रहनुपर्ने पनि उनले बताए । मुलुकको अहिलेको अवस्थाका कारण निराशा बढिरहेको पनि केसीले बताए ।
संसद्, सरकार र न्यायपालिकामा जारी विवाद, अस्तव्यवस्तताको जिम्मेवारी राजनीतिक दलहरूले लिनुपर्ने बताएका छन् । ‘अहिले जसरी मुलुक जानुपर्ने हो त्यसरी गएको छैन, कार्यकारीमा राम्रो वातावरण छैन । न्यापालिकामा पनि रामो स्थिति छैन, निराशा छ । हामी एउटाले अर्कोलाई दोष लगाइरहेका छौं’ उनले भने, ‘अहिलेको अराजकता र नैराश्यता पनि हामो कारणले भएको हो, नेपाली जनताका अगाडि इमान्दारिताका साथ स्वीकार्नुपर्छ ।’