११ मंसिर, काठमाडौँ ।
नेपाली कांग्रेसका नेता गगन थापाले नेकपा एमालेको महाधिवेशनका नाममा चितवनको नारायणी किनारमा ‘ओलीवेशन’ भइरहेको बताएका छन् । काठमाडौंमा आफूपक्षीय जिल्ला सभापतिका उम्मेदवार सबुजकृष्ण बानियाँको उम्मेदवारी घोषणासभामा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘त्यहाँ सबै बा’का छोराछोरीहरू मात्रै छन् । त्यहाँ सबै बा १ बा १ मात्रै भन्छन् । आज नारायणी किनारमा अधिवेशन भइरहेको छैन, कसले ओली बा’को पाउमा तेल राम्रोसँग दल्न सक्दछ भन्ने प्रतिस्पर्धा भइरहेको छ ।’
उनले कांग्रेसको अधिवेशन र एमालेको ओलीवेशनलाई लिएर अलमलमा नपर्न आग्रह गरे । थापाले भने– ‘एमाले र हामीहरूबीचमा अलिकति फरक छ । हाम्रो अधिवेशन हो, त्यो ओलीवेशन हो । अधिवेशन र ओलीवेशनमा फरक छ । हाम्रो पार्टीको अधिवेशनमा कार्यकर्ताहरू सहभागी हुन्छन् । हरेक कार्यकर्ता आफैंमा एउटा स्वतन्त्र व्यक्ति हुन् । हरेक स्वतन्त्र व्यक्तिको आफ्नो मत छ, जहाँ मत हुन्छ, त्यहाँ मतभेद हुन्छ, त्यहाँ मतान्तर हुनसक्छ । तर, ओलीवेशनमा त्यहाँ कोही पनि स्वतन्त्र कार्यकर्ता छैन ।’
उनले १४ औँ महाधिवेशनले पार्टीको नेतृत्व परिवर्तन गर्न सक्नुपर्ने बताए । नेता थापाले संसारभरि लोकतान्त्रिक पार्टीहरूमा एक पटक सभापतिमा प्रतिस्पर्धा गरिसकेपछि हारेरजिते विश्राम लिनुपर्ने अभ्यास रहेको भन्दै नेताहरूसँग आफूले त्यही आग्रह गरेको सुनाए ।