११ मंसिर, काठमाडौँ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले हालका महासचिव इश्वर पोखरेललाई वरिष्ठ उपाध्यक्ष बनाउनका लागि संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई प्रतिस्पर्धाबाट अलग्याउने प्रयास असफल भएको छ ।
ओलीले नेम्वाङलाई राष्ट्रपति बनाउने आश्वासन दिएका छन् । ओली निकट नेताहरूले नेम्वाङलाई वरिष्ठ उपाध्यक्षमा उम्मेदवार नबन्न दबाब दिइरहेको बताइएको छ ।
इश्वर पोखरेल लगायतका नेताहरूले नेम्वाङलाई पार्टीमा बसेर आगामी निर्वाचनपछि राष्ट्रपतिको तयारी गर्न भनेको स्रोतले जानकारी दियो । स्रोतले भन्यो–‘नेम्वाङलाई तपाईं राष्ट्रपति हुने मान्छे हो । राष्ट्रपति हुने मान्छेले कार्यकारिणीमा किन लड्नुहुन्छ । पार्टीमा बसेर राष्ट्रपतिको तयारी गर्नुपर्छु भन्नुभएको रहेछ।’
नेम्वाङले आफू वरिष्ठ उपाध्यक्षमा उम्मेदवार बन्ने कुरा ओलीलाई जानकारी गराएको बताइएको छ । स्रोतका अनुसार हिजो तपाईंका लागि सहयोग गरियो अब मलाई सहयोग गर्नुस् भनेर नेम्वाङले अध्यक्षलाई भेटेर फर्किएका छन् ।
वरिष्ठ उपाध्यक्षमा सर्वसम्मत हुनका लागि पोखरेलले ओलीको साथ पाएको बताइएको छ । तर, नेम्वाङ लगायतका नेताहरूले भने आफू पनि उम्मेदवार बन्ने अडान लिएपछि पोखरेल र ओली अप्ठ्यारोमा परेका छन् ।