विराटनगर,साउन २६
बाँदरको समस्याले धरान बजार अहिले पनि आक्रान्त छ । बाँदर आतंक अचाक्ली भएपछि अघिल्लो वर्ष धरान उपमहानगरपालिकाले बिना शिर्षकको बजेट निकासी गरि बाँदर धपाउने भन्दै साढे ९ लाख रुपैया खर्च गरे पनि नियन्त्रण हुन सकेको छैन् ।
धरानमा चार वर्षअघि २०७१ सालमा बाँदर व्यवस्थापन संघर्ष समिति नै गठन गरेर स्थानीयले धरान नगरपालिकासंग समस्या समाधानको माग गर्न थालेको थियो । तत्कालिन कार्यकारी अधिकृत विष्णु कोईरालाले बाँदर नियन्त्रण गर्न भन्दै साढे ९ लाख रुपैया खर्च गरे । तर खर्चको शिर्षक र खर्च भएको विवरण बुझाउन नसक्दा महालेखा परिक्षण कार्यालयले बेरुजु देखाएको धरान उपमहानगरपालिका लेखा अधिकृत भेषराज अधिकारीले बताए ।
नगरपालिकाले ५ सय १८ वटा बाँदर पक्रन ९ लाख १८ हजार ९ सय ६० रुपैयाँ भुक्तानी दिएको पाइएको छ । तर, महालेखाले बाँदर पक्राउ गरिएको कुनै रेकर्ड नै फेला पारेको छैन् । बाँदरको नाममा तत्कालिन नगरपलिकाको उक्त रकम हिनामिनाको श्रेणीमा महालेखाले राखेको छ । यता रकम बेरुजु देखिएको छ भने बाँदरको समस्या धरानमा अझै जस्ताको त्यस्तै छ ।