विराटनगर, साउन २८
आज साउन महिनाको चौथो तथा अन्तिम सोमबार । देशभरका शिवालयका साथै विराटनगर नगरक्षेत्रका मन्दिरहहरुमा बिहानैदेखि श्रद्धालु भक्तजनहरुको घुइँचो लागेको छ ।
विराटनगरको बासुकीनाथ धाम, बनसखण्डी, मण्ठा पोखरी र विराटेश्वर मन्दिर लगायतका शिवालयहरुमा भक्तजन र दर्शनार्थीहरुको भीड लागेको छ । काठमाडौंको पशुपतिनाथ, नवलपरासीको त्रिवेणी तथा देवघाट र झापाको अर्जुनधारामा समेत दर्शनार्थीहरुको बिहानैदेखि भीड लागेको छ ।
पूर्वाञ्चलकै प्रमुख धार्मिक पर्यटकीयस्थल सुनसरीको धरानस्थित पिण्डेश्वर बाबाधाममा पनि भक्तजनहरुको घुइँचो लागेको छ । गेरुबस्त्र लगाएर सुनसरीको चतराबाट १६ किलोमिटर पैदलयात्रा गरेर सप्तकोसी नदीबाट जल ल्याएर पिण्डेश्वर बाबाधाममा चढाउनेकोे बिहानैदेखि भीड लागेको छ ।
पहेँलो बस्त्र अर्थात् गेरुबस्त्र धारण गरी सप्तकोशी नदीको जल ल्याएर पिण्डेश्वर बाबाको मन्दिरमा चढाउँदा मनोकांक्षा पूरा हुन्छ भन्ने विश्वास रहिआएको छ । साउन महिनाभर भगवान शिवको आराधाना गरी जल चढाएमा मनोकामना पूरा हुने विश्वासका कारण यो बोलबम धार्मिक मेलामा नेपालका विभिन्न ठाउँलगायत भारतको बिहार, पश्चिम बंगाल, दार्जिलिङ, खर्साङ, सिक्किम लगायतका स्थानबाट समेत भक्तजनहरु आउने गरेको पिण्डेश्वर बाबाधाम समितिले जनाएको छ ।
				
                                                    
                                                    






                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
