१६ फागुन, काठमाडौँ । चार दिनदेखि युद्धको रणमैदान बनिरहेको युक्रेनबाट त्यहाँ रहेका नेपालीहरु छिमेकी देश पोल्यान्ड, स्लोभाकिया, रोमानिया र हङ्गेरी प्रवेश गर्ने क्रम चलिरहेको छ ।
उनीहरुको उद्धार तया सहयोगका लागि गैर आवासीय नेपाली संघसंस्था र नेपाली दूतावासहरुले समन्वय गरिरहेका छन् ।
अहिलेसम्म पोल्यान्ड, स्लोभाकिया, रोमानिया र हङ्गेरीमा ५८ जना नेपाली प्रवेश गरिसकेका छन् ।
९० जना नेपाली सीमाक्षेत्रमा पुगेका छन् । ८० नेपाली युक्रेन छाड्ने पर्खाइमा छन् । पोल्यान्डमा मात्रै ३० नेपाली प्रवेश गरेका छन् । ७० जना लाइनमा छन् ।
पोल्यान्डले सीमा क्षेत्रमा रोकी राखेकाले घण्टौँसम्म लाइनमा बस्न नेपाली बाध्य भएका छन् ।
सीमा क्षेत्रमा अलपत्र रहेका नेपालीलाई पोल्यान्ड प्रवेशका लागि गैरआवासीय नेपाली सङ्घले समन्वय गरिरहेको छ ।
त्यस्तै, १२ नेपाली युक्रेनबाट स्लोभाकिया पुगेका छन् भने १२ जना रोमानिया प्रवेश गरेका छन् ।
स्लोभाकियामा गैरआवासीय नेपाली सङ्घले आईओएमसँग समन्वय गरेर सय नेपालीका लागि बस्ने व्यवस्था मिलाएको बर्लिनमा रहेको दूतावासलाई जानकारी दिएको छ ।
युक्रेनका लागि गैरआवासीय राजदूत रामकाजी खड्काका अनुसार युक्रेनमा रहेका र छोडेकासमेत अहिलेसम्म दुई सय २८ जना नेपाली बर्लिनमा रहेको नेपाली राजदूतावासको सम्पर्कमा छन् ।
अहिलेसम्म ३४ नेपालीलाई दूतावासले ट्राभल डकुमेन्ट बनाइदिएको छ । राजदूत खड्काका अनुसार पूर्वी युक्रेनको खार्किभमा पाँच नेपाली छन् । दक्षिण–पश्चिमको बेलासेरकुवा र मारियोपोलमा तीन–तीन जना छन् । उनीहरू सुरक्षित रहेका खड्काले बताएका छन् ।
यस्तै, चार नेपाली हङ्गेरी प्रवेश गरेका छन् । युक्रेनको खार्किभ र राजधानी किएभमा सोमवार बिहानसम्म कर्फ्यु छ ।
त्यहाँबाट कर्फ्यु हट्नासाथ नेपालीहरू पश्चिम युक्रेनतर्फ जाने पर्खाइमा छन् । धेरैजसो नेपाली भूमिगत मेट्रो स्टेसनमा बसेका छन् ।
