काठमाडौं, ३० चैत ।नेकपा माओवादी केन्द्रले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङकाे तस्वीर प्रयाेग गरिएकाे चुनावी प्रचार सामग्री हटाएकाे छ । आज बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आधिकारिक फेसबुक पेजबाट सार्वजनिक भएको प्रचार सामग्रीमा कुलमानको तस्वीर प्रयोग गरिएपछि चाैतर्फी आलाेचना भएकाे थियाे ।
घिसिङले समेत आफूलाई कुनै जानकारी नदिएर तस्वीर दुरुपयाेग गरेकाे भन्दै आपत्ति जनाएपछि प्रचण्डकाे फेसबुक पेजबाट उक्त सामग्री हटाइएकाे छ । घिसिङले चुनावी प्रचार सामग्रीबाट आफ्नो तस्वीर हटाउन माओवादी केन्द्रलाई आग्रह गरेका थिए ।
प्रचण्डकाे फेसबुक पेजबाट सार्वजनिक भएकाे पोस्टरमा ‘अँध्यारोबाट उज्यालोको यात्रा’ भन्दै अध्यक्ष प्रचण्ड, अर्थमन्त्री जनार्दन शर्मा र कुलमान घिसिङको तस्वीर राखिएको थियाे । अहिले उक्त पाेष्टबाट तस्वीर हटाइएकाे छ ।
