विराटनगर, भदौ ३
विराटनगरमा एक सुरक्षा गार्डको हत्या भएको छ । विराट नर्सिङ होम नजिकै रहेको न्यू बिक्की हार्डवेयरमा काम गर्ने गार्डको हत्या भएको हो । आइतबार बिहान ५० वर्षीय टंक भट्टराईको शव आँखा निकालिएको अवस्थामा फेला परेको मोरङ प्रहरीले जनाएको छ ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी निशान थापाका अनुसार विराटनगर–४ पिपलचोक घर भएका भट्टराई राति हार्डवेयर पसलमा रहेको सुरक्षागार्ड सुत्ने कोठामा सुतेका थिए ।
तर, बिहान पौने १० बजे हार्डवेयरका कामदारले ढोका खोल्दा उनी मृत अवस्थामा फेला परेका हुन् । उनको सुत्ने कोठाको खाटमुनि शव देखेपछि कामदारले प्रहरीलाई खबर गरेका थिए ।
उनको शव सिरानीले मुख थुनेको अवस्थामा फेला परेको थियो । भट्टराईको अनुहार र शरीरका विभिन्न भागमा चोट देखिएको छ । कोठामा रहेको इन्भरटर तल खसेकोबाहेक अन्य कुनै सामान घटनास्थलमा नचलाइएको पाइएको छ । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।