विराटनगर,भदौ ३
इन्डोनेसियामा जारी १८औं एसियाली खेलकुद (एसियाड) अन्तर्गतको पुरुष फुटबलमा नेपालले आज पाकिस्तानसँग समना गर्दै छ । खेल प्याट्रिओट चन्द्रभागा स्टेडियममा स्थानिय समयअनुसार ४ः४५ बजेपछि सुरु हुनेछ ।
समूह चरणको शुरुवाती दुई खेलमा जापानसँग १–० र भियतनामसँग २–० ले पराजित भएको नेपाल समूह चरणको अन्तिम खेलमा पाकिस्तानलाई पराजित गर्दै समूहको उत्कृष्ट तेस्रो टोली बनेर अघि बढ्ने योजनामा हुनेछ ।
एसियाडमा खेलेका कुनैपनि खेलमा अहिलेसम्म जित हात पान नसकेको नेपालका लागि पाकिस्तानविरुद्धको खेलमा इतिहास बनाउने मौका पनि हुने छ ।समूह चरणमा कमजोर देखिएको पाकिस्तान समूह भियतनामसँग ३–० र जापानसँग ४–० ले पराजित भएको छ । त्यसैले समूहमा सबैभन्दा कमजोर देखिएको पाकिस्तानलाई हराउन सके नेपालले एसियाली खेलकुदमा इतिहास बनाउनेछ।
तर, नेपालले अहिलेसम्म एसियाडमा खेलेका १७ खेलमा ६८ गोल खाँदा केवल १ गोल मात्र गर्न सकेको छ । नेपालले सन् १९८२ मा भारतको नयाँ दिल्लीमा भएको एसियाली खेलकुदमा पहिलोपटक फुटबलमा प्रतिस्पर्धा गर्दा समूह चरणका तीनै खेलमा हार बेहोरेको थियो । पहिलो खेलमा कुवेतविरुद्ध वाइबी घलेले गोल गरेका थिए । त्यसपछि नेपालले एसियाडमा गोल नै गर्न सकेको छैन ।