विराटनगर,भदौ ६
प्रदेश १ का प्रमुख जिल्ला अधिकारीहरुले दोश्रो पटक पनि प्रदेश सरकारले घोषणा गरेको विदालाई अस्विकार गरेका छन् । प्रदेश १ को मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले बकर इदका अवसरमा बुधबार सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।
सोही निर्णयका आधारमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मंगलबार १४ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएर विदा कार्यन्वयनबारे जानकारी गराएको थियो । तर मन्त्रालय रहेको जिल्ला मोरङमै भने जिल्ला प्रशासन कार्यालय लगायतका अन्य कार्यालय खुलेका छन् ।
घोषणा गरेको विदा कार्यन्वयन हुन नसकेपछि प्रदेश सरकारको कार्यक्षमताबारे सर्वसाधारणले नै प्रश्न उठाउन थालेका छन् । उनीहरुले निर्णय कार्यन्वयन गर्न नसक्नुलाई सरकारको असक्षमता भन्दै टिप्पणी गरेका हुन् । यसअघि पनि साउन २४ गते प्रदेश सरकारले प्रदेश १ मा विश्व आदिवासी दिवसका अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।
तर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले संघीय सरकारको मातहतमा भएका कारण प्रदेश सरकारले दिएको विदा कार्यन्वयन गर्न नसकिने भन्दै कार्यालय खोलेका थिए । आन्तरिक मामिलाले विदाबारे जानकारीसहितको पत्र पठाएपछि मंगलबार मोरङका प्रमुख जिल्ला अधिकारी रमेश केसीले गृहमन्त्रालयमा सम्पर्क गरेर राय लिएका थिए ।
विदा घोषणा गरेपनि जिल्ला प्रशासन कार्यालयसहित केन्द्र सरकारकै मातहत रहेका सरकारी वित्तीय संस्थाहरु र अन्य कार्यालय पनि खुलेका छन् ।