२२ असोज, काठमाण्डौ ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता एकबाल मिया नेकपा एमालेमा प्रवेश गरेका छन् । निवर्तमान प्रतिनिधि सभा सदस्यसमेत रहेका उनलाई शनिबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका हुन् । उनलाई बारा क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यको टिकट दिने एमालेको तयारी छ ।
अन्तिम समयमा लोसपा गठबन्धनमा सहभागी भएको हुँदा बारा ४ बाट आफ्नो टिकट खोसिने भएपछि उनी एमालेबाट टिकट पक्का गरेर पार्टी प्रवेश गरेका हुन् । बारा ४ मा गठबन्धनबाट एकीकृत समाजवादीका किसान श्रेष्ठले टिकट पाएका छन् ।
एमालेसंग चुनावी तालमेलको प्रयास विफल भएपछि लोसपा सत्ता गठबन्धनमा मिसिन पुगेको हो । सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) बाहिरिंदा गठबन्धनमा भित्रिएको लोसपाले प्रतिनिधिसभाको १५ सिट र मधेश प्रदेशमा मुख्यमन्त्री आफूहरुले पाउनुपर्ने दाबी गरेको छ ।
गठबन्धनका दलहरुले भने १० सिट दिने मुडमा छन् । दुवै पक्षबीच सहतिका लागि कांग्रेस र लोसपाले वार्ता जारी राखेका छन् । सत्ता गठबन्धनले लोसपासँग वार्ताको जिम्मा प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवालाई दिएको थियो । तर शनिबार विहान बालुवाटारमा भएको छलफल भने निष्कर्षमा पुग्न नसकेको बताइएको छ ।
लोसपालाई १० सिट दिन सत्तारूढ गठबन्धन तयार रहे पनि उसले १५ सिट दाबी गरिरहेकाले सहमति हुन नसकेको बैठकमा सहभागी एक कांग्रेस पदाधिकारीले जानकारी दिए । जसपा गठबन्धनबाट बाहिरिएपछि सत्ता गठबन्धनले अर्को मधेसवादी दल लोसपासँग मिलेर चुनाव लड्न शुक्रबारदेखि नै छलफल अघि बढाएको थियो ।
यसबीच कांग्रेस, माओवादी र एकीकृत समाजवादीबीच निर्वाचन क्षेत्रको विभाजन भने टुंगिसकेको छ । यो सहमतिअनुसार कांग्रेसले ८८ सिट लिने, माओवादीले ४७, एकीकृत समाजवादीले १८ र राष्ट्रिय जनमोर्चाले २ सिट लिने छन् । लोसपाले १५ सिटमा दाबी गरे पनि उसलाई ८ देखि १० सिट छुट्याउन सत्ता गठबन्धनका तीन प्रमुख दल तयार रहेको बुझिएको छ ।