नायक अनमोल केसी अभिनित बहुप्रतिक्षित फिल्म ‘क्याप्टेन’ को अफिसियल पोस्टर सार्वजनिक भएको छ ।निर्देशक दीवाकर भट्टराईले शनिवार सामाजिक सञ्जालमार्फत् फिल्मको आधिकारिक पोस्टर सार्वजनिक गरेका हुन् ।
पोस्टरमा गोल हान्न मैदानमा संघर्षरत एक फुटबल खेलाडीको अवस्थामा अनमोललाई चित्रण गरिएको छ । पोस्टरको ब्याकग्राउण्डमा उनले ११ नम्बरको जर्सी लगाएर खेल मैदानतर्फ निहालिरहेका छन् । जर्सीमा उनको नाम ‘इशान’ लेखिएको छ ।
गाउँदेखि राष्ट्रिय स्तरको खेलाडी बन्न एउटा युवाले गरेको संघर्षको कथा फिल्म ‘क्याप्टेन’ ले बोल्छ । फिल्मको आधिकारिक पोस्टर सार्वजनिक भएपनि प्रदर्शन मितिको टुङ्गो लागिसकेको छैन ।
भुवन केसीले निर्माण गरेको ‘क्याप्टेन’ मा यसपटक अनमोलले दुई नव–अभिनेत्री उपासना सिंह ठकुरी र प्रियंका एमभीसँग स्क्रिन साझेदार गरेका छन् । चलचित्रको कथा सामिप्यराज तिमल्सिनाले लेखेका हुन् ।‘क्याप्टेन’ मा सुनिल थापा, सरोज खनाल, प्रशान्त ताम्राकार, विल्सन विक्रम राईलगायतका कलाकारहरुको पनि अभिनय छ ।
‘क्याप्टेन’ मा चन्द्र पन्तको द्वन्द्व, अर्जुन पोखरेलको संगीत, कविराज गहतराजको कोरियोग्राफी छ भने सम्पादनको जिम्मेवारी दिर्घ खड्काले सम्हालेका छन् । त्यस्तै सुदीप बराल डिओपी रहँदा क्यामेरामेनमा नवराज उप्रेती छन् ।
गएको वर्ष प्रदर्शनमा आएको फिल्म ‘कृ’ पछि ‘क्याप्टेन’ मार्फत् पर्दामा देखिन लागेका अनमोलले पहिलो पटक फुटबल खेलाडीको भूमिका निर्वाह गरेका कारण दर्शकमाझ यस फिल्मको व्यग्रताका साथ प्रतिक्षा भइरहेको छ ।