२६ मंसिर,एजेन्सी ।
पाकिस्तान र अफगानिस्तानबीच गोलाबारी हुँदा ६ जना पाकिस्तानीको मृत्यु भएको छ । सो घटनामा १७ बढि घाइते भएका छन् । हमलापछि जारी विज्ञप्तिमा पाकिस्तानी सेनाले अफगानिस्तानको सुरक्षा बलले बिनाकारण हमला गरेको आरोप लगाएको छ । पाकिस्तानी सेनाले हमलामा अफगानिस्तानको सुरक्षा बलले गोलाबारुदको प्रयोग गरेको र त्यसपछि पाकिस्तानी सीमा सुरक्षा बलले जवाफी कारबाही गरेको बताएको छ।
समाचार एजेन्सी रोयटर्सका अनुसार कान्दाहारका प्रहरी प्रवक्ता हाफिज सावेरले यस हमलामा एक अफगानी सैनिकको पनि मृत्यु भएको र तीन सर्वसाधारणसहित अन्य १० जना घाइते भएको बताएका छन् । अफगान सरकारका अधिकारी नुर अहमदले दुई पक्षबीचको वार्तापछि अहिले घटनास्थलको अवस्था सामान्य रहेको बताएका छन् ।
यसैबीच पाकिस्तानी प्रधानमन्त्री सहबाज सरिफका छोरा सुलेमान सहबाज चार वर्षको स्वनिर्वासनपछि पाकिस्तान फर्किएका छन् । इस्लामावाद उच्च अदालतले संघीय अनुसन्धान एजेन्सी (एफआईए) र राष्ट्रिय जवाफदेहिता ब्यूरो (एनएबी) लाई उनलाई पक्राउ गर्न रोक लगाएको केही दिनपछि सुलेमान सहबाज आइतबार बिहान पाकिस्तान फर्किएको डनले रिपोर्ट गरेको छ ।
सुलेमान सहबाजको सुरक्षात्मक जमानतको लागि याचिका सुन्ने क्रममा अदालतले उनलाई ट्रायल कोर्टमा आत्मसमर्पण गर्न अनुमति दिने घोषणा गरेको छ । शहबाज शरीफको पार्टी पाकिस्तान मुस्लिम लीग (एन) ले सुलेमान शहबाज स्वदेश फर्केको भिडियो ट्विटरमा सेयर गरेको छ ।
भिडियोमा सुलेमान शहबाजले आफ्नो बुबालाई भेटेको र दुवैले अंगालो हालेको देखाइएको छ। भिडियोमा सेहबाज सरिफले सुलेमानलाई माला लगाएका छन् । भिडियोमा प्रधानमन्त्रीका विशेष सहायक अताउल्लाह तरार पनि देख्न सकिन्छ । बिहीबार इस्लामाबाद उच्च अदालतले सुलेमान शहबाजलाई १३ डिसेम्बरसम्म अदालतमा आत्मसमर्पण गर्न निर्देशन दिएको थियो ।