विराटनगर, भदौ १२
आसन्न एभरेष्ट प्रिमियर लिगका लागि काठमाडौ किङ्सले तेस्रो विदेशी खेलाडी अनुबन्ध गरेको छ । जसमा जिम्बावेका अलराउन्डर सिकन्दर राजालाई काठमाडौले टिममा भित्र्याएको छ ।
यसअघि आयरल्याण्डका केभिन ओब्राइन र युएईका कप्तान रोहन मुस्तफालाई अनुबन्ध गरिसकेको काठमाडौ किङ्सले सिकन्दरलाई पनि टिममा समावेश गरेको छ । इपिएलमा ३ विदेशी खेलाडी राख्न पाउने नियम अनुसार काठमाडौले आफ्नो टिममा तीन जनालाई अनुबन्ध गरेको हो । जिम्बावे टिमका सफल र चर्चित खेलाडी सिकन्दरले राष्ट्रिय टिमबाट ८५ एकदिवसिय १० टेष्ट र २० टी–२० खेल खेलिसकेका छन ।
यो बर्षको विश्वकप छनोटमा म्यान अफ द सिरीज बनेका सिकन्दरले ३१९ रन बनाउनुका साथै १५ विकेट पनि लिएका थिए । जिम्बावेका भरपर्दा खेलाडी सिकन्दरलाई टिममा भित्र्याउन पाउदा निकै खुसी लागेको काठमाडौ किङ्सले जनाएको छ ।
३२ बर्षे सिकन्दरले टेष्टमा ७६२ र एकदिवसियमा दुई हजार ३८१ रन बनाएका छन । जसमा उनले ३ सतक र १३ अर्धसतक प्रहार गरेका छन । यस्तै टेष्टमा पनि उनले १ सतक र ३ अर्धसतक बनाएका छन् । बलिङमा पनि अब्बल सिकन्दरले जिम्बावेबाट टेष्टमा १३, एकदिवसिय ५० र टी–२० मा ९ विकेट लिएका छन ।