११ वैशाख, एजेन्सी ।
फ्रान्सका लागि चिनियाँ राजदूत लु शेले दिएको एउटा बयानका कारण यतिबेला युद्धग्रस्थ युक्रेनले आफ्नो पारो निकै तातेको प्रतिक्रिया दिएको छ । शेले पूर्वसोभियत मुलुकहरूको अन्तर्राष्ट्रिय स्तरमा कुनै हैसियत छैन भन्ने किसिमको टिप्पणी गरेपछि युक्रेन चिढिएको छ ।
युक्रेनमात्रै होइन चिनियाँ राजदूतको टिप्पणीलाई लिएर फ्रान्स र बाल्टिक राज्यहरू इस्टोनिया, लाटभिया र लिथुआनियाले पनि निराशा व्यक्त गरेका छन् । चिनियाँ राजदूत लु शेलाई क्रिमिया युक्रेनको हिस्सा हो या होइन भन्नेमा उनको धारणाबारे सोधिएको थियो ।
शुक्रबार फ्रान्सेली टेलिभिजनमा प्रसारित एक अन्र्तवार्तामा उनले ऐतिहासिक रूपमा प्रायद्वीप रुसको हिस्सा भएको र पूर्वसोभियत लिडर निकिता ख्रुश्चेभले युक्रेनलाई हस्तान्तरण गरेको भनेका छन् । “यी पूर्व युएसएसआर (सोभियत संघ) मुलुकहरुको अन्तर्राष्ट्रिय कानूनमा वास्तविक हैसियत छैन, किनभने तिनीहरूको सार्वभौम स्थितिलाई साकार पार्न कुनै अन्तर्राष्ट्रिय सम्झौता छैन,” शेले भनेका छन् ।
उनको यो टिप्पणी युक्रेनलाई मात्र नभएर सबै पूर्वसोभियत गणतन्त्रहरूप्रति हो । सन् १९९१ मा सोभियत संघको पतन भएपछि धेरै राष्ट्रहरू स्वतन्त्र देशका रुपमा उभिएका थिए र अहिले धेरैजसो युरोपेली युनियन (ईयू) को सदस्यसमेत बनिसकेका छन् ।
यो टिप्पणीबारे आइतबार प्रतिक्रिया दिँदै युक्रेनी राष्ट्रपतिका सहयोगी मिखायलो पोडोल्याकले चिनियाँ राजदूतको बेतुकको टिप्पणी भन्दै सोभियत संघको पतनपछि बनेका देशहरूको स्थिति अन्तर्राष्ट्रिय कानुन निहित भएको बताएका छन् ।