६० किलो सुन तस्करी प्रकरणमा थप एक पक्राउ,१३७  कर्मचारीले मागे सरुवा

१३ भदौ , काठमाण्डौ ।
त्रिभुवन विमानस्थलबाट बाहिरिएको ६० किलो ७१६ ग्राम सुन तस्करीमा संलग्न आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरोले थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाल्पा घर भएका गणेश पौडेल छन् । हङकङबाट ‘रेडी ट्रेड प्रालि’ को नाममा तस्करी गरेर ल्याएको सुन त्रिभुवन विमानस्थल भन्सार गेट बाहिरबाट राजस्व अनुसन्धान विभागले साउन ३ मा बरामद गरेको थियो ।

Advertisement

सो सुन मोटरसाइकल र स्कुटरको ‘ब्रेक प्याड’मा लुकाएर काठमाडौँ ल्याइएको हो । सुन प्रकरणमा पक्राउ गरिएका गणेश पौडेल सहित पक्राउ पर्नेका संख्या २४ पुगेको छ । तस्करीमा चिनियाँहरूको मुख्य भूमिका देखिएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । यसैबीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका १३७ जना कर्मचारीले सामूहिक सरुवा माग्दै भन्सार विभागमा निवेदन दिएका छन् ।

विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक टोकराज पाण्डेले पनि कर्मचारीहरुले सरुवा माग्दै निवेदन दिएको पुष्टि गरेका छन् । यसरी सरुवा माग गर्नेमा ३८ जना अधिकृतस्तरका कर्मचारी छन् । भन्सार कार्यालयमा रहेका नासु, खरदार र कार्यालय सहयोगीले समेत सरुवा माग गरेका छन् । उनीहरूले अर्थ सचिवलाई पनि पत्रको बोधार्थ पठाएका छन् ।

Advertisement

सरुवा माग्दै दिइएको निवेदनमा ‘६० किलो सुनका विषयलाई लिएर विभिन्न निकायबाट अनुसन्धान र छानबिनको वहानामा विनाकारण दुःख दिने र मानसिक रुपमा क्षतविक्षत बनाउने काम भएको’ भनिएको छ । राज्यबाट उपलब्ध स्रोत, साधनको अधिकतम उपयोग गरेर आफ्नो ज्ञान, सीप र क्षमताले भ्याएसम्म असल नियत र मनसायका साथ कार्यजिम्मेवारी पूरा गर्दै आएकामा अहिले विनाकारण दुःख दिने काम भएकाले कामकाज गर्न कठिनाइ भएको निवेदनमा उल्लेख गरिएको छ ।

‘घटनामा दोषी जो कोहीलाई कानुन बमोजिम कारबाही गरियोस् भन्ने कुरामा हाम्रो कुनै दुईमत रहेन तर, कर्तव्य पालनाका सिलसिलामा खटिएका कर्मचारीहरुमाथि अनावश्यक धरपकड गर्ने, प्रमाणबिना थुनामा राख्ने,संलग्नता भएका यथेष्ट प्रमाण नहुँदा नहुँदै समेत पक्राउ गरी दुःख दिने नियत देखिएको हुँदा कार्यालयमा उपस्थित भइ तोकिएको कार्यजिम्मेवारी पूरा गर्न हामी कर्मचारीहरुमा व्यक्तिगत मनोवैज्ञानिक त्रास उत्पन्न भएको छ’, निवेदनमा भनिएको छ ।

Advertisement

विनाकारण भोग्नु परेको मानसिक तनावका कारण घर, परिवार तथा समाजबाट समेत बहिष्कार हुने स्थिति सिर्जना भएको कर्मचारीहरुले उल्लेख गरेका छन् । ‘हामीसँग सरोकार राख्ने विभिन्न निकायले हामीप्रति हेर्ने दृष्टिकोण समेत पूर्ण रुपमा नकरात्मक हुँदै गएको अवस्था छ’, निवेदनमा भनिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top