१७ मंसिर,एजेन्सी।
दक्षिण कोरियामा कुकुरको मासु प्रतिबन्धको प्रस्ताव अघि सारिएको छ । त यो प्रस्ताव आएसँगै कृषकहरु भने आक्रोशित भएका छन् । कुकुरको मासु प्रतिबन्ध नलगाउन माग गर्दै २ सय जना कृषकले आन्दोलन गरेका छन् । सरकारले आफूहरुको माग सम्बोधन नगरे राजधानी सोल वरपरका सरकारी कार्यालयमा २० लाख कुकुर छोड्ने उनीहरुले चेतावनी दिएका छन् ।
सरकारले आफूहरुको माग सुनुवाइ नगरे राष्ट्रपति कार्यालय, कृषि मन्त्रालय र कुकुरको मासु प्रतिबन्धमा सहमति जनाउने सांसदहरुको घर तथा कार्यालयमा कुकुर छोडिदिने चेतावनी कृषकहरुको छ । सरकारी प्रस्तावको विषयमा कृषकहरु आक्रोशित भएसँगै राजधानी सोल वरपर उच्च सतकर्ता अपनाइएको छ ।
सुरुवाती चरणमा आन्दोलनमा आएका कृषकहरुले आफूसँगै १०० वटा कुकुर ल्याएर छोड्ने गरेका थिए । सरकारले प्रस्ताव गरेको विधेयकमा सन् २०२७ सम्म दक्षिण कोरियामा कुकुरको मासु पूर्ण रुपमा प्रतिबन्ध लगाउने उल्लेख छ । यो कानुन पारित भएको अवस्थामा कुकर पालन, कुकुर वध गर्न वधशाला तथा कुकुरको परिकार बिक्री गर्ने रेस्टुरेन्ट पूर्ण रुपमा बन्द हुने छन् ।
दक्षिण कोरियाली अधिकारीहरुका अनुसार कुकुर उत्पादनका लागि १ हजार भन्दा बढी फार्म रहेका छन् । यस्तै ३४ वटा वधशाला र १६०० वटा रेस्टुराले कुकुरको मासु बेच्छन् । कुकुरको मासु प्रतिबन्ध लगाउनुअघि सरकारले यससँग सरोकार राख्ने सबै व्यापार व्यवसायलाई तीन वर्ष समय दिने भनेको छ ।
यस्तै अन्य पेशा तथा व्यवसाय थालनीका निम्ति अनुदान समेत दिने सरकारको प्रस्ताव छ । सत्तारुढ पिपल पावर पार्टीले प्रतिबन्धपछि मासुका लागि कुकुर बिक्री वितरण गरेमा ५ करोड रुपैयाँ जरिवाना प्रस्ताव गरेको छ । यो विधेयकमाथि छलफलका लागि ४४ सांसद सहभागी छन् ।
कुकुरको मासु प्रतिबन्धको सबैभन्दा ठूलो वकालत गर्ने व्यक्ति फस्ट लेडी हुन् । उनी आफैंले पाँचवटा बिरालो र ६ वटा कुकुर पालेकी छिन् । विगतमा पनि दक्षिण कोरियामा कुकुरको मासु प्रतिबन्धको प्रयास गरिएको थियो । तर निकै ठूलो प्रदर्शनका कारण सरकार पछि हटेको थियो ।
दक्षिण कोरियामा कुकुरको मासु खाने चलन सय वर्ष पुरानो हो । सन् २०२३ मा ह्युमन सोसाइटी इन्टरनेशनल नामक संस्थाले गरेको सर्वेक्षणले ८६ प्रतिशत दक्षिण कोरायालीले कुकुरको मासु खाने देखाएको थियो । तीमध्ये ५७ प्रतिशत कुकुरको मासु प्रतिबन्धको पक्षमा थिए ।
चीनको शेन्जेन शहरमा कुकुर र बिरालोको मासु खान रोक लगाइएको छ । यस्तो प्रतिबन्ध लागू गर्ने चीनको यो पहिलो शहर हो । विश्वमा कुकुरको मासु खाने प्रमुख देशहरुमा चीन, नाइजेरिया, भियतनाम, दक्षिण कोरिया र इन्डोनेसिया रहेका छन् ।