३० चैत , एजेन्सी ।
युक्रेनमा युद्ध जारी राखेको रुस यतिबेला खराब मौसमको चपेटामा परेको छ । औसत तापक्रममा लगातार वृद्धि, हिउँ पग्लने र नदीहरूमा बाढी आएका कारण रुसको पश्चिमी साइबेरिया, भोल्गा क्षेत्र र केन्द्रीय संघीय जिल्ला बाढीको चपेटामा परेका छन् । यसैका कारण ओरेनबर्ग, कुर्गन र ट्युमेन क्षेत्रमा संकटकाल घोषणा गरिएको छ ।
सबैभन्दा बढी प्रभावित पश्चिमी ओरेनबर्ग क्षेत्रमा सात हजार ८०० मानिसलाई विस्थापित गरिएको छ । क्षेत्रीय सरकारका अनुसार, उरल नदीमा पानीको स्तरले सीमा नाघेको छ । निकट भविष्यमा यस क्षेत्रमा ठूलो बाढी आउने अनुमान छ । कुर्गन क्षेत्रमा ६ हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको क्षेत्रीय गभर्नर वादिम सुम्कोभले बताए ।
ट्युमेन क्षेत्रमा इशिम र टोबोल नदीहरूमा पानी एकैदिनमा ५६ सेन्टिमिटर र २२ सेन्टिमिटरले बढेको स्थानीय अधिकारीहरूले बताएका छन् । बाढी अप्रिल २३ देखि २५ सम्म झनै बढ्ने अनुमान गरिएको छ । त्यहाँ आएको बाढीबाट जोगाउन बिहीबारसम्म कम्तीमा १३ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।
रुसका धेरै क्षेत्रमा पानीको सतह बढ्दै गएपछि उनीहरूलाई सुरक्षित स्थानमा सारिएको हो । उता टेक्सासदेखि फ्लोरिडासम्म फैलिएको अमेरिकाको दक्षिणी क्षेत्रमा आएको आँधीका कारण एकजनाको मृत्यु भएको छ । १० जनाभन्दा बढी घाइते छन् । क्षेत्रभर १०० भन्दा बढी घर र भवनहरू क्षतिग्रस्त भएका छन् । हजारौँ मानिस विद्युत्को पहुँचबाट टाढिएका छन् ।
मध्य मिसिसिपीको स्कट काउन्टीमा अहिलेसम्म एकजनाको मृत्यु भएको बताइएको छ । हालसम्म तीन आँधीको पुष्टि भएको छ । जसमा दुई लुइसियाना र एक टेक्सासमा आएको थियो । स्लिडेलमा हालसम्म ५० जनाभन्दा बढीको उद्धार गरिएको छ । यता पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको हब जिल्लामा भएको ट्रक दुर्घटनामा कम्तीमा १७ जनाको मृत्यु हुनुका साथै अन्य ३५ जना घाइते भएको स्थानीय उद्धार सेवाले पुष्टि गरेको छ ।
बुधवार राति धार्मिक तीर्थयात्री बोकेको ट्रक जिल्लाको गुलाम हुसेन चट्टा क्षेत्रमा खाल्डोमा खस्दा उक्त दुर्घटना भएको इधी उद्धार संस्थाका स्थानीय प्रतिनिधि अब्दुल हकीमले बताए । चालकले गाडीको नियन्त्रण गुमाएका कारण दुर्घटना भएको बताए । सूचना पाएपछि उद्धारकर्मीहरू घटनास्थलमा पुगेर पीडितहरूलाई स्थानीय अस्पतालमा सारिएको थियो ।
उनीहरूलाई थप उपचारको लागि दक्षिणी बन्दरगाह शहर कराँची लगिएको छ । तीर्थयात्रीहरू दक्षिणी सिन्ध प्रान्तको थट्टा जिल्लाबाट बलुचिस्तानको खुजदार जिल्लामा रहेको एउटा तीर्थस्थलमा जान लागेका थिए ।