विराटनगर,भदौ ३१
अन्तराष्ट्रिय खेलकुद प्रतियोगिताहरुमा नेपाली खेलाडीहरुले आशाति खेल प्रस्तुत गर्न नसकेको गुनासो भईरहेको समयमा प्रदेश १ का खेल क्षेत्रको बिकासका लागि सरकारले नियुक्त गरेका खेल प्रशिक्षकहरु भने फुर्सदिला भेटिएका छन् । काम नगरी महिनैपिच्छे सरकारी तलव भत्ता खाने उनीहरुको महिनौदेखिको दैनिकी बनेको छ ।
राष्ट्रिय खेलकुद परिषदबाट सितेरियो कराते खेल विधाका प्रशिक्षकको नियुक्ति लिएका विराटनगरका नारायण वुढाथोकी प्राय फुर्सदिला देखिन्छन् । खेल प्रशिक्षणका लागि मासिक सरकारी तलव बुझने वुढाथोकी थोरै समय खेल प्रशिक्षणमा भेटिन्छन भने,धेरै जसो उनी आफनै पसलमा भेटिने गर्दछन् । उनी जस्तै हेण्डवलका प्रशिक्षक रमेश सापकोटापनि खेल प्रशिक्षणमा भन्दा अरु क्षेत्रमा नै वढी व्यस्त रहन्छन् । उनी सरकारी कर्मचारी भएपनि हेण्डवल विधाको नियमित प्रशिक्षणमा भेटिदैनन् । नेपाल सरकारले स्थायी र करारमा खेल प्रशिक्षक नियुक्ति गरेपनि धेरै जसो कोचहरु प्रशिक्षण कार्यमा भन्दा अन्य व्यवसायमा तल्लिन देखिन्छन् । कतिपय खेल विधाका प्रशिक्षकले त खेल प्रशिक्षण नगराईपनि तलव भत्ता बुझने गरेका छन् ।
स्थायी तथा करारमा कार्यरत खेल प्रशिक्षणले अन्य क्षेत्रमा काम गर्न नपाउने प्रावधान छ । तर सरकारी अनुगमनको अभावमा साविकको पुर्वाञ्चल अन्तर्गतका १६ जिल्लाका नियुक्त भएका खेल प्रशिक्षकहरुमा त्यो नियम निकै थोरैलाई मात्र लागु भएको पाइन्छ । सरकारले फुटवल,कराते,वास्केटवल,उसु,एथलेटिक्स,भारोत्तोलन,भलिबल,वक्सिङ, सितेरियो कराँते,तेक्वान्दो,उसु,किक्रेट,व्याटमेन्टिन,कुस्ती,सवटेनिस लगायतका खेल विधाका लागि प्रशिक्षक (कोच)को व्यवस्था गरेको छ । द्धितिय श्रेणीतहदेखि नासुस्तरको पदमा उनीहरु कार्यरत रहेका छन् ।क्षेत्रिय स्तरमा र जिल्लास्तरगरी कुल १ सय ३५ खेल प्रशिक्षक पूर्वाअञ्चलका १६ जिल्ला कार्यरत छन् । जसमा धेरै विधाका खेल प्रशिक्षकले खेल प्रशिक्षण नगराई लामो समयदेखि सरकारको मासिक तलव बुझने गरेका छन् ।
प्रशिक्षकलागि बार्षिक ४ करोड तलवमै खर्च
राष्ट्रिय खेलकुद परिषदले पूर्वाअञ्चल क्षेत्रीय खेलकुद विकास समिति अन्तर्गत विभिन्न खेल विधाका लागि स्थायी खेल प्रशिक्षक नियुक्ति गरेको छ । जसका लागि राज्यकोषबाट बार्षिक ४ करोड रुपैया तलवमा खर्च हुने गरेको छ । खेलकुद विकास समिति विराटनगर कार्यालयका प्रमुख टेकप्रसाद कट्टेलका अनुसार पूर्वाअञ्चलका १६ जिल्लामा विभिन्न खेल विधाका लागि १ सय ३५ जना कोचको व्यवस्था सरकारले गरेको छ । सरकारले पूर्वाअञ्चलका लागि प्रमुख खेलहरु फुटवल,कराते,वास्केटवल,उसु,एथलेटिक्स,भारोत्तोलन,भलिबल,वक्सिङ,सितेरियो कराँते,तेक्वान्दो,उसु खेलको प्रशिक्षकको व्यवस्था गरेको छ । १ सय ३५ प्रशिक्षक मध्ये धेरैमा २० जना प्रशिक्षकले नियमित रुपमा खेल प्रशिक्षण गराई रहेका छन् भने आधा भन्दा वढीले विविध कारणले खेल प्रशिक्षणलाई नियमित गर्न सकेका छैनन् ।
खेल प्रशिक्षकले बुझछन मासिक ३४ हजारसम्म तलव
राखेप अन्तर्गत विभिन्न खेल विधाको प्रशिक्षणका लागि पूर्वाअञ्चलमा १ सय ३५ खेल प्रशिक्षक रहेका छन ।जसमा वरिष्ठ खेल प्रशिक्षकका रुपमा ९ जना ,अधिकृत तृतिय १९ जना र नायव सुब्बास्तरका सबै भन्दा वढी १ सय ७ जना रहेका छन् । नेपाल सरकारबाट वरिष्ठ खेल प्रशिक्षक पदमा कार्यरतलाई मासिक ३४ हजार अधिकृत तृतिय तहकालाई मासिक ३० हजार र नासुस्तरको पदमा कार्यरत प्रशिक्षकले मासिक २४ हजार तलव बुझने गरेका छन् । सरकारको स्थायी कर्मचारी भएपनि अन्य सरकारी कार्यालयका कर्मचारीको भन्दा फरक प्रकृतिको काम भएकाले सरकारी कर्मचारी भएपनि उनीहरु सबै घरपायक नियुक्ति लिएर लामो समयदेखि बस्दै आएका छन् । खेल प्रशिक्षकका रुपमा झापा जिल्लामा सवैभन्दा २७ जना कोच रहेका छन भने मोरङ र सुनसरीमा १७÷१७ जना कोच रहेका छन ।
कर्मचारी भन्दा पदाधिकारीको जम्बो टोली
नेपाल सरकारले खेलकुदको विकासका लागि भनेर खेलकुद विकास समिति गठन गरेको छ ,सोही अनुसार खेलकुद प्रशिक्षणदेखि प्रतियोगिता समेत हुदै आएको छ । तर खेलकुदको विकास गर्ने उद्घेश्य राखिएको समितिमा सरकारका कर्मचारी भन्दा पदाधिकारीको टोली भने जम्बो हुने गरेको छ ।
पूर्वाअञ्चल क्षेत्रीय खेलकुद विकास समितिमा कुल कर्मचारी ३५ जना रहेका छन तर पदाधिकारी संख्या भने यो भन्दा तेब्बर संख्यामा १ सय ६० जना रहेका छन् । समितिका पदाधिकारी नियुक्त भएपछि उनीहरुलाई तलवको कुनै सुविधा नभएपनि बैठक भत्ताको व्यवस्था रहेको छ । प्रति बैठक ७ सयका दरले उनीहरुले बैठक भत्ता पाउने गरेका छन् ।
समस्याको चाङ
समग्र खेलकुदको विकास गरी नेपाललाई राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा चिनाउनका लागि राखेपले क्षेत्र साथै जिल्ला तहमा खेलकुद विकास समिति निर्माण गरेको छ ।यद्यपि खेलकुद विकासका लागि भनेर गठन भएको विकास समिति भने बर्षाेदेखि प्रयाप्त बजेटको अभावदेखि आवश्यक खेल सामाग्रीको अभाव साथै भौतिक संरंचनाको अभाव खेप्न बाध्य छ ।
वार्षिक रुपमा खेलकुद प्रतियोगिताका लागि सानो अंक बजेट छुटिने गरेको छ । पूर्वाअञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख टेकप्रसाद कटे्लले बार्षिक खेलकुद प्रतियोगिताका लागि १० लाख रुपैया विनियोजना हुने गरेको जानकारी दिए । कार्यालय प्रमुख कटेलका अनुसार विभिन्न खेल विधाका लागि कोचको व्यवस्था भएपनि भौतिक संरचना अभाव यहाँको बर्षेदेखिको मुख्य समस्याको रुपमा रहेको छ । त्यसैगरी प्रशिक्षण गराउन आवश्यक खेल सामाग्रीको व्यवस्थापनका लागि बजेट नछुट्उदा प्रशिक्षण कार्य नै नियमित हुन सकेको छैन ।