३१ वैशाख , काठमाण्डौ।
यस वर्षको मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । राष्ट्रिय मनसुन फोरम, २०८१ ले आगामी मनसुनी अवस्थाबारे आज आयोजित सार्वजनिक कार्यक्रममा विभागमा मौसमविद् सुदर्शन हुमागाईंले अधिकांश स्थानमा सरदरभन्दा ३५ दशमलव चार प्रतिशतदेखि ५५ दशमलव चार प्रतिशत अधिक वर्षा हुने सम्भावना रहेको जानकारी दिए ।
सुदूरपश्चिम प्रदेशको उत्तरी–पश्चिम भू–भाग, वाग्मती प्रदेशको दक्षिण–पूर्वी भू–भाग, मधेस प्रदेशको मध्य भू–भाग र कोसी प्रदेशको मध्य तथा मध्य–पश्चिम भू–भागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ दशमलव चार प्रतिशतदेखि ६५ दशमलव पाँच प्रतिशत छ ।
साथै, कर्णाली प्रदेशको पश्चिमी भू–भाग, गण्डकी प्रदेशको मध्य भू–भाग तथा कोसी प्रदेशको उत्तर–पूर्वी भू–भागमा सरदर रहने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको विभागले जनाएको छ । यस्तै विभागले अधिकतम तापक्रम पनि देशका अधिकांश स्थानमा सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ६५ प्रतिशत रहेकोसमेत जनाएको छ ।
त्यसैगरी न्यूनतम तापक्रम देशका अधिकांश स्थानमा सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ६५ प्रतिशत रहेको विभागले जनाएको छ । यो मनसुनमा वर्षा सरदरभन्दा बढी र तापक्रम पनि सरदरभन्दा बढी हुने प्रक्षेपण भएकाले चरम मौसमी घटना हुनसक्ने सम्भावना रहेको छ ।
सामान्यतया नेपालमा जुन १० तारिखदेखि मनसुन सुरु भएर सेप्टेम्बर २३ तारिखमा बाहिरिन्छ । गत वर्ष नेपालमा १२४ दिनसम्म रहेर २८ असोजमा मनसुन बाहिरिएको थियो । सरदर मितिभन्दा एक दिन ढिला गरी ३१ जेठमा भित्रिएको मनसुन १३ दिन ढिलो बाहिरिएको थियो । नेपालमा मात्रै होइन यस वर्षको मनसुन अवधिमा दक्षिण एसियाली देशहरुमा नै सामान्यदेखि अधिक वर्षा हुने प्रक्षेपण सार्वजनिक भएको छ ।