१५ जेठ ,काठमाण्डौ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारीको रकम अपचलनबारे छानबिन गर्न बन्ने संसदीय समिति बनाउने सहमति अनुमोदन गरेको छ । बानेश्वरस्थित संसद भवन परिसरमा बसेको कांग्रेस संसदीय दलको बैठकले सोमबार प्रमुख दलहरुबीच भएको सहमतिलाई अनुमोदन गरेको हो । कांग्रेस प्रमुख सचेतक रमेश लेखकले कार्यदल बैठकले शीर्ष तहमा भएको सहमति अनुसार कार्यादेशलाई अन्तिम रुप दिने बताएका छन् ।
लेखकले भने, ‘हामीले जुन सहमति गरेका छौं, यसमा कसैको नाम वा पद लेखिहाल्ने भन्दा सहकारीको रकम जहाँ–जहाँ गएको छ, कानुनी गैरकानुनी रुपले गएको हेर्ने, त्यसमा संलग्न मानिस जो सुकै होस्, उसका बारेमा छलफल हुनसक्ने, छानबिन हुनसक्ने अनुसन्धान हुन सक्ने स्थिति बनाएको हुनाले कुनै व्यक्ति विशेषको नाम लेखिराख्न आवश्यक छैन भन्ने निष्कर्षमा हामी पुगेका छौं ।’
साथै आजै ४ बजे बस्ने संसद बैठकले कार्यादेशसहित संसदीय समिति बनाउने छ । दलहरुबीचको सहमतिपछि सहकारीको रकम अपचलन भएको विषयमा छानबिन गर्न बनाउने संसदीय समितिको कार्यादेश (टीओआर) मा सहमति जुटाउन कार्यदलको बैठक बसिरहेको छ । कानून मन्त्रालयमा जारी बैठकले टीओआरलाई अन्तिम रूप दिनेछ ।
हिजो बालुवाटारमा शीर्ष नेताहरूको बैठकले ७ सदस्यीय छानबिन समिति बनाउने सहमति गरेसँगै टीओआरलाई आज अन्तिम रूप दिन लागिएको हो । कार्यदलले अन्तिम रूप दिएपछि कार्यादेश शीर्ष नेताहरूले टुंग्याउने छन् । सरकार र कांग्रेसबीच ७ सदस्यीय संसदीय छानबिन समिति बनाउने सहमति भएको छ । कांग्रेसले आफ्नो पार्टीबाट तीन बजेभित्रमा समितिमा रहने सदस्यको नाम दिइसक्ने प्रमुख सचेतक रमेश लेखकले बताए ।
समितिमा पाँच दलका प्रतिनिधि रहनेछन् । जसमा एमाले र कांग्रेसबाट दुई÷दुई जना, माओवादी, रास्वपा र राप्रपाबाट एक÷एक जना रहने छन् । समितिलाई प्रतिवेदन बुझाउन ३ महिनाको समय दिइएको छ । आजै बस्ने प्रतिनिधिसभाको बैठकबाट समितिको घोषणा हुनेछ ।