२ असार, ताप्लेजुङ । निरन्तर परेको वर्षाका कारण ताप्लेजुङका विभिन्न ठाउँमा गएको पहिरोले दर्जनौँ परिवार विस्थापित भएका छन् ।
गएको बुधवारदेखि ताप्लेजुङमा निरन्तर पानी परिरहेको छ ।
गएराति मिक्वाखोला गाउँपालिका–५ ताङखु गाउँमा सात जना किसानको २३ रोपनी अलैँची बगान पहिरोले बगाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कमलकुमार लुङ्गेलीले बताए ।
यस्तै हिजो पहिरो जाँदा मिक्वाखोला–५ पापुङमा आइतवीर लिम्बू, मनकुमार लिम्बू र मोहन लिम्बूको परिवार विस्थापित भएको छ ।
यसैगरी सिरिजङ्घा गाउँपालिका–६ मामाङ्खेमा हिजो गएको पहिरोले छ वटा परिवार विस्थापित भएका छन् ।
यस्तै सिरिजङ्घा–७ मा नवराज लिम्बू र शुक्रराज लिम्बूको घर तथा गोठ पूर्णरूपमा क्षति भएको छ ।
यसैगरी सिरिजङ्घा–८ याम्फुदिनको साम्मेधुङ टोलका पदम माबो, कीर्तिमान लिम्बू, राजबहादुर लिम्बू र छिरिङ भोटेको परिवार विस्थापित भएको प्रहरीले जनाएको छ ।
पहिरोले खानेपानीमा क्षति पु¥याउँदा मामाङ्खेका तीन सय परिवार खानेपानीबाट वञ्चित हुनुपरेको पनि स्थानीयले जानकारी दिएका छन् ।
यसैगरी याम्फदिनमा पनि एक दर्जनभन्दा धेरै परिवार बाढी पहिरोको उच्च जोखिममा रहेका स्थानीय जनप्रतिनिधि सन्तोष राईले जानकारी दिए ।
ताप्लेजुङमा गएको बुधवारदेखि पहिरोमा परि पाँच जनाको ज्यान गइसकेको छ । ५५ वटा पशुचौपाया मरेका छन् ।
मनसुन पूर्णरूपमा सक्रिय नहुँदै बाढी पहिरोले मानवीयसहित पशुचौपाया, खेतीबाली, सडक, पुल, खानेपानीलगायत संरचनामा क्षति गर्न थालेकाले जिल्लावासी त्रसित बनेका छन् ।
ताप्लेजुङका ६१ मध्ये ४१ वटा वडा पहिरोको उच्च जोखिममा छन् ।