११ भदौ ,विराटनगर।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने छ।
कोशी, बागमती र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
आज राति देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी, बागमती र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
यस्तै देशका केही ठूलासाना नदीमा आज पनि पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना छ । नदीतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
यस दिन संखुवासभा, मकवानपुर, पर्सा, चितवन, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, गोरखा, लमजुङ र कास्की भई बहने केही साना नदीमा बहाव उल्लेख्य बढ्ने अनुमान छ । यी जिल्लाका केही नदीमा महाशाखाले आकस्मिक बहावको जोखिमको पूर्वानुमान गरेको छ ।
इलाम, झापा, सोलुखुम्बु, सिन्धुली, धादिङ, रसुवा, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, बारा, रुकुम पश्चिम, जाजरकोट, जुम्ला, मुगु, दैलेख, सुर्खेत, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, बझाङ, बैतडी, दार्चुला, डडेलधुरा र डोटी भई बहने केही साना नदीमा पनि बहाव बढ्ने अनुमान छ ।
अबका तीन दिन कोशी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीहरूको जलसतह सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान छ । कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह पनि सतर्कता तहभन्दा तलै रहने महाशाखाको अनुमान छ ।
यसैबीच सल्यानमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । कालीमाटी गाउँपालिका–१ लक्ष्मीपुर सातलखोलाका ५६ वर्षीय दल बहादुर कार्कीको चट्याङ लागेर मृत्यु भएको हो । सोमबार घर नजिकै गोठालो गएका कार्कीलाई साँझ ६ बजे चट्याङले हानेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक नविन कार्कीले जानकारी दिए ।
चट्याङ लागेर गम्भीर घाइते कार्कीलाई उपचारका लागि सल्यान जिल्ला अस्पतालमा ल्याउँदा डाक्टरले मृत घोषणा गरेको उपरीक्षक कार्कीले बताए । कार्की कालीदेवी प्राथमिक विद्यालय लक्ष्मीपुरका प्रधानाध्यापक थिए ।