१९ भदौ, विराटनगर ।
फ्रान्सको राजधानी पेरिसमा जारी पेरिस पारा ओलम्पिक खेलकुद-२०२४ मा नेपालका लागि ऐतिहासिक कास्य पदक जितेकी पलेशा गोवर्धनसहित सबै खेलाडी स्वदेश फर्किएका छन् ।
कास्यपदक जितेकी २१ वर्षीय पलेशासहित तीनै खेलाडी बुधबार बिहान काठमाडौं आइपुगेका भएका हुन् । बिहान ८ बजे उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका उनीहरूलाई विमानस्थलमा भव्य स्वागत गरिएको थियो ।
लगत्तै उनीहरूलाई नगर परिक्रमा गराएर त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् पुर्याइने कार्यक्रम रहेको छ ।
विमानस्थलको भिआइपी कक्षबाट पलेसासहितको नेपाली टीमलाई एयरपोर्ट, गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, शहीदगेट, त्रिपुरेश्वर चोक हुँदै राष्ट्रिय खेलकुद परिषद्को प्रांगणमा पुर्याइएको थियो ।
पलेशा पारालिम्पिकमा पदक जित्ने पहिलो नेपाली खेलाडी बनेकी थिइन् । उनीसँगै गएका दुई खेलाडी भने पहिलो चरणबाट बाहिरिएका थिए । पौडीका भीमबहादुर कुमाल र तेक्वान्दोका भरतसिंह महरा पहिलो चरणबाटै बाहरिएका थिए ।