काठमाडौँ,असोज ८
बङ्गबन्धु गोल्डकपमा नेपालले सहभागीता जनाउने भएपछि पाँच वर्षको अन्तरालमा हुन लागेको ए डिभिजन लिग भने केही समयका लागि स्थगित हुने सम्भावना देखिएको छ ।
ए डिभिजन लिग असोज १३ गतेदेखि शुरु हुँदैछ भने बङ्गबन्धु गोल्डकपमा नेपालको राष्ट्रिय टोलीले असोज १५ देखि २६ गतेसम्म सहभागिता जनाउनेछ ।
राष्ट्रिय टोलीका खेलाडी ए डिभिजनका छ क्लबमा आबद्ध छन् । बङ्गबन्धुमा सहभागिता जनाएसँगै लिग पनि जारी राखिँदा ती क्लबलाई अप्ठेरो पर्र्ने क्लबले बताउँदै आएको छ ।
बङ्गबन्धुमा सहभागिता निश्चित भएसँगै लिगका खेल केही तलमाथि हुनसक्ने लिग निर्देशक सञ्जीव मिश्रले बताउँछन् । उनले भने “बङ्गबन्धुमा नेपालले सहभागिता जनाउने वा नजनाउने निर्णय भइनसकेको अवस्थामा हामीले लिगको खेल तालिका सार्वजनिक गरेका हौँ । अब नेपालले सहभागिता सुनिश्चित गरेको अवस्थामा केही खेल तलमाथि हुनसक्छ ।”
एन्फा महासचिव तुलाधरले सोमबार एन्फा पदाधिकारी र लिग कमिटीबीचको छलफलपछि यसबारे निर्णयमा पुगिने जानकारी दिए । महासचिव तुलाधरका अनुसार ए डिभिजन लिगको उद्घाटन गरेपछि बङ्गबन्धु गोल्डकप अवधिभरका लागि लिग स्थगित गर्ने वा राष्ट्रिय खेलाडी अनुबन्ध नभएका छ क्लबबीचको खेल सञ्चालन गर्ने यी दुई विकल्पबारे छलफल हुनेछ ।
बंगबन्धुमा सहभागिता जनाउने वा नजनाउने भन्ने अन्यौलता भएको बेला अघिल्लो संकरणमा विजेता भएबापतको २५ हजार अमेरिकी डलर नेपालले पाएपछि सहभागिता जनाउने भएको हो ।यसअघि नेपालले पाउनुपर्ने ५० हजार अमेरिकी डलर मध्ये २५ हजार मात्र पाएको थियो ।