११ कार्तिक , काठमाण्डौ।
काठमाडौंमा जारी सातौं संस्करणको साफ महिला च्याम्पियनसिपको सेमिफाइनल खेलमा घरेलु टोली नेपालले आज पाँच पटकको विजेता भारतसँग खेल्दै छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजेबाट सुरु हुने खेल निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।
साफ महिला च्याम्पियनसिपको उपाधि जित्ने सपना पूरा गर्न नेपाललाई आज भारतविरुद्धको खेल हार्ने छुट छैन ।घरेलु टिम नेपाल र भारत लगातार दोस्रो पटक सेमिफाइनलमा भिड्न लागेको हो ।
पछिल्ला संस्करणमा नेपालले भारतलाई हराएर साफ महिला च्याम्पियनसिपको फाइनल खेलेको थियो । जुन भारतविरुद्ध नेपालको पहिलो जित थियो । त्यसपछि नेपालले भारतविरुद्ध लगातार सानदार प्रदर्शन गर्दै आएको छ ।
पछिल्ला तीन खेलमा भारतसँग नेपाल हारेको छैन । समग्रमा भने नेपालमाथि भारत हाबी छ । यी दुईबिच भएका कुल १७ भिडन्तमा भारतले ११ र नेपालले दुई खेलमा जित हात पारेका छन् ।
साफमै पनि चार पटक फाइनल र एक पटक सेमिफाइनलमा नेपाल भारतसँग पराजित भएको छ । तर विगतमा दक्षिण एसियाली महिला फुटबलमा एकछत्र राज गरेको भारतको चमक अहिले कम भइसकेको छ ।
यस प्रतियोगिताको समूह चरणमा पनि बंगलादेशसँग ३–१ ले हारेर भारतले समूह ‘ए’ उपविजेतामा चित्त बुझाएको थियो । जसको फाइदा नेपाललाई सेमिफाइनलमा हुन सक्छ । नेपाल सात हजार घरेलु दर्शकको ऊर्जा र मैदानको फाइदामा खेल्दै छ ।
पछिल्ला दुई खेलमा १७ गोल गरेपछि नेपाली स्ट्राइकरहरू अहिले उच्च मनोबलमा छन् । पहिलो खेलमा भुटानसँग गोलरहित बराबरीमा रोकिएको नेपाल बाँकीका दुई खेलमा तुलनात्मक रूपमा कमजोर मानिएका माल्दिभ्सलाई ११–० र श्रीलंकालाई ६–० ले हराएर समूह ‘बी’ विजेता बनेको हो ।
त्यसैले यस प्रतियोगितामा नेपालको वास्तविक परीक्षा भारतविरुद्ध नै हुने छ । नेपाली फुटबल टिम भारतविरुद्ध खेल्दा सधैँ अतिरिक्त प्रयास लगाउने गर्दछ । नेपाली फुटबल समर्थक पनि आफ्नो टिमले सधैँ भारतविरुद्ध जितेको हेर्न चाहन्छ ।
यही प्रेरणाले नेपालले भारतविरुद्ध खेल्ने पक्का छ । नेपालका मुख्य प्रशिक्षक राजेन्द्र तामाङलाई पहिलो रोजाइका दुई खेलाडी हिराकुमारी भुजेल र दीपा शाही नहुँदा रणनीति बनाउन केही कठिन हुन सक्छ ।
भुटानविरुद्धकै पहिलो खेलमा घाइते हुँदा यी दुवै खेलाडी प्रतियोगिताबाट बाहिरिएका थिए । ‘राइट ब्याक’ पूजा राना पनि चोटकै कारण पहिलो खेल खेलेपछि मैदानमा उत्रिएकी छैनन् ।
नेपालको प्रमुख शक्ति भनेको दक्षिण एसियाकै सर्वश्रेष्ठ महिला फुटबल सावित्रा भण्डारीको उपस्थिति हो । पछिल्लो संस्करणमा नेपालले सावित्राबिना नै भारतलाई हराएको थियो ।
अहिले सावित्राको उपस्थितिमा नेपाली टिम उच्च मनोबलमा खेल्ने पक्का छ । सावित्रा ५३ अन्तर्राष्ट्रिय गोल गरिसकेकी स्ट्राइकर हुन् । अर्की स्ट्राइकर रेखा पौडेल पनि भारतविरुद्ध हेर्नलायक खेलाडीका रूपमा रहनुहुने छ ।
चालु प्रतियोगितामा रेखाले सर्वाधिक सात गोल गरेकी छन् । आबुधावीबाट उच्चस्तरको व्यावसायिक महिला लिगको अनुभवले आफू अझ खारिएकी प्रमाण रेखाले यस प्रतियोगितामा देखाइरहेकी छन् ।
उनले समूह चरणमा माल्दिभ्सविरुद्ध एक्लैले पाँच गोल गरिन् । यसअघि साफमा नेपालका लागि पाँच गोलको कोसेढुङ्गा सावित्राले मात्र हासिल गरेकी थिइन् । माल्दिभ्सविरुद्ध पाँच गोल गरेपछि श्रीलंकासँगको खेलमा पनि रेखाबाट दुई गोल आयो ।
भारतका प्रमुख प्रशिक्षक सन्तोष कश्यप पनि नेपाल बलियो टिम भएको बताउँछन् । दशरथ रङ्गशालामा नेपाललाई दर्शकको पनि अपार समर्थन हुने भएका कारण घरेलु टिमसँग खेल्नु चुनौती हुने उनको भनइ छ ।
आजको पहिलो सेमिफाइनलमा भने गत विजेता बंगलादेश र भुटानबीच पनि प्रतिस्पर्धा हुनेछ । सन् २०२२ को संस्करणमा पनि यही सेमिफाइनल समीकरण जुरेको थियो । त्यसमा बंगलादेशले भुटानमाथि ८–० को ठूलो अन्तरको जित रचेको थियो ।
दोस्रो सेमिफाइनलको निर्णय भने झिनो अन्तरले मात्र भएको थियो, त्यसमा नेपालले भारतलाई १–० ले हराएको थियो । रश्मिकुमारी घिसिङको त्यो प्रख्यात गोलको मदतमा नेपाल पहिलोपल्ट भारतविरुद्ध हाबी भएको थियो ।
यसपल्टको संस्करणमा उदीयमान टिम रहेको छ भुटान । पछिल्लो केही समयदेखि सबैले महसुस गरिरहेको थियो, भुटानी फुटबल स्तर उकालो चढ्दै छ । यो तथ्य महिला फुटबलमा पनि लागू हुन्छ ।
भुटान दुई वर्षअगाडि पहिलो पटक सेमिफाइनल पुगेको थियो । अहिले टोलीले त्यस्तै उपलब्धि दोहो¥याएको छ । लगभग मान्न सकिन्छ, यसपल्ट बंगलादेशले फेरि दोहो¥याएर त्यस्तो ठूलो अन्तरको जित भुटानविरुद्ध निकाल्न सक्दैन ।
बरू उल्टै संघर्ष गर्नुपर्ने हुनसक्छ । ‘भुटानी महिला फुटबल अहिले सही दिशातर्फ अग्रसर छ र हामीले सेमिफाइनलमा बलियो चुनौती पेस गर्नेछौं,’ भुटानी टिमका प्रशिक्षक निकोला डेमिन भन्छिन ।
बंगलादेशी प्रशिक्षक पिटर बटलर पनि मान्छन्, अब भुटान पहिले जस्तो रहेन, बलियो प्रतिद्वन्द्वी भएको छ । त्यसैले बटलरलाई पनि लागेको छ, खेल प्रतिस्पर्धात्मक हुनेछ । उनले भनेका छन्, ‘इतिहासमा के भएको छ, त्यसलाई मनमा राखेर खेल्नुहुन्न । हामी सेमिफाइनलमा राम्रो खेल्नेमा तत्पर छौं ।’