रसुवाको शिरमा ‘टाइम बम’ बनेर बसेका छन् हिमताल

रसुवाको शिरमा ‘टाइम बम’ बनेर बसेका छन् हिमताल
२४ असार , काठमाडौं ।
जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले मंगलबार भोटेकोशी नदीमा तिब्बत क्षेत्रबाट एक्कासि ठूलो बाढी प्रवेश गरेको जनाएको छ । तर  यस्तो बाढी आउने गरी त्यस  क्षेत्रमा ठूलो पानी भने परेको छैन् ।
चीनको तिब्बत क्षेत्रबाट बग्ने लेन्दी खोलामा उर्लिएको बाढीका कारण टिमुरे र रसुवागढी क्षेत्रमा बढी क्षति पुगेको छ । स्थानीयले भूकम्पको कम्पन जसरी थर्किएपछि आफुहरु उठेको बताएका छन् ।
बाढीपछि १८ जना बेपत्ता छन् जसमा ६ चिनियाँ नागरिक ३  नेपालका प्रहरी छन्  ।  अहिलेसम्म ९ जनाको उद्धार गरिएको छ  भने २ वटा शव भेटिएका छन् ।
महाशाखाले भोटेकोशी बाढीबारे प्रारम्भिक अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । महाशाखाको प्रतिवेदनअनुसार रसुवागढी नाकाबाट केही तल रसुवा टिमुरेस्थित रहेको जलविद्युत् आयोजनाबाट प्राप्त स्वचालित जलमापन केन्द्रको तथ्यांकअनुसार बिहान ३ः१० बजे उक्त स्थानमा जलसतह एक्कासि करिब ३.५ मिटर बढेको देखिन्छ ।
त्यस्तै रसुवागढी नाकाबाट करिब १३ किलोमिटर तल स्याप्रुवेसी स्वचालित जलमापन केन्द्रमा बिहान ३ः३० बजे एक्कासि बहाव बढेको देखिन्छ ।
उक्त केन्द्रमा बिहान ३ः३० बजे ३.६५ मिटर रहेको जलसतह एक्कासप ३ः४० बजे ५.३७ मिटर पुगेको र तत्कालै केन्द्रबाट तथ्यांक सम्प्रेषण बन्द भएको महाशाखाले जनाएको छ ।
केन्द्रका गेजरिडरलाई उद्धृत गर्दै महाशाखाले उक्त केन्द्र नै बाढीले बगाएकोसमेत जानकारी दिएको छ । महाशाखाले भोटेकोशी जलाधार क्षेत्रमा बाढी नै आउने गरी पानी नपरेको समेत जनाएको छ ।
गत २४ घण्टा (सोमबार बिहान ९ बजेदेखि २०८२–०३–२४ गते मंगलबार बिहान ९ बजेसम्म) मा नेपाल–चीन सीमाबाट नजिकमा रहेको रसुवास्थित क्यान्जिङ मौसमी केन्द्र र रसुवास्थित धुन्चे मौसमी केन्द्रमा फाटफुट मात्र वर्षा मापन भएको थियो ।
महाशाखाले विश्व मौसम संगठनको फ्ल्यास फ्लड गाइडेन्स सिस्टमको ’ग्लोबल हाइड्रोइस्टिमेटर स्याटेलाइट–बेस्ड प्रिसिपिटेसन इस्टिमेट्स’ अनुसार पनि भोटेकोशी जलाधार क्षेत्रमा गत २४ घण्टामा वर्षा भएको नदेखिएको जनाएको छ । त्यसैले पनि भोटेकोशीमा आएको बाढी वर्षाका कारण उत्पन्न भएको नदेखिएको महाशाखाको अनुमान छ ।
’भोटेकोशी नदी जलाधारको तिब्बतको क्षेत्रमा थुप्रै हिमताल अवस्थित रहेकोले बाढीको सम्भावित कारण पत्ता लगाउन तथा नदी तटीय क्षेत्रमा बाढीको असर आंकलनका लागि आज बिहान ७ बजे सेन्टिनेल एसिया प्लाटफर्ममा तत्कालको भू–उपग्रह तस्बिर प्राप्त गर्न ’इमर्जेन्सी अब्जर्भेसन रिक्वेस्ट’ जारी गरिएको छ ।
महाशाखाका हाइड्रोलोजिस्ट सौहार्द जोशीले पाल्पा र उदयपुरमा राखिएका मौसमी राडारबाट हेर्दा पनि तिब्बती क्षेत्रमा समेत ठूलो पानी परेको नदेखिएको  बताएका छन्  ।
“अहिलेलाई यति भन्न सकिन्छ कि आजको बाढी वर्षाका कारण आएको होइन, तिब्बती क्षेत्रमा समेत १०÷१२ मिलिमिटरभन्दा बढी पानी परेको छैन,’ हाइड्रोलोजिस्ट जोशीले भनेका छन् , ’स्याटेलाइट तस्बिर आएपछि ठ्याक्कै कारण भन्न सकिन्छ ।’
महाशाखाले त्रिशूली नदीको रसुवागढीदेखि धादिङको बेनिघाटसम्म नदीतटीय क्षेत्रमा अर्को सूचना जारी नहुँदासम्म सतर्कता अपनाउन पनि आग्रह गरेको छ ।
रसुवा जिल्लालाई असर गर्ने तिब्बती क्षेत्रमा  हिमतालहरू बन्ने, बढ्ने र कहिलेकाहीँ फुट्ने प्रक्रिया निरन्तर चलिरहन्छ । यद्यपि, अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्रले यस क्षेत्रमा २२ वटा हिमताल रहेको उल्लेख गरेको छ ।
रसुवामा बग्ने भोटेकोशी नदीको मुख्य जलाधार   तिब्बतमा पर्छ। तिब्बतमा यसलाई ’पोइचुु’  बेसिन भनिन्छ।  तिब्बतको हिमाली क्षेत्र, विशेषगरी शिशापाङ्मा हिमालको फेदीमा पर्छ।
तिब्बतमा यसलाई पोइचु वा मात्साङ छाङ्पो भनिन्छ। नदी तिब्बतबाट बग्दै नेपाल प्रवेश गर्छ, जहाँ यसलाई भोटेकोशी भनिन्छ। भोटेकोशीको मुख्य पानीको स्रोत हिमनदी  र हिमाली हिउँ पग्लनु हो।
शिशापाङ्मा हिमाल र वरपरका हिमनदीहरूबाट बग्ने पग्लिएको पानी नै भोटेकोशीको प्रमुख स्रोत हो ।  इसिमोडले गरेको सन् २०२० को एक विस्तृत अध्ययन अनुसार भोटेकोशी–सुनकोशी (पोइकु) को जलाधारमा, तिब्बततर्फ मात्रै २२ वटा हिमतालहरू रहेका छन्।
यी २२ हिमतालहरूमध्ये केहीलाई सम्भावित खतरनाक हिमतालको रूपमा पहिचान गरिएको छ। यसको अर्थ हो,यी तालहरू फुट्ने र विनाशकारी बाढी निम्त्याउने जोखिम बढी  रहन्छ ।
रसुवाको भोटेकोसी र त्यसपछि बन्ने त्रिशूली नदीको पानीको मुख्य स्रोत चीनको तिब्बती पठारमा रहेका हिमनदी र हिमतालहरू हुन्। त्यसैले, तिब्बतमा हुने कुनै पनि घटनाको प्रत्यक्ष असर नेपालको रसुवा, नुवाकोट, धादिङ हुँदै तल्लो तटीय क्षेत्रसम्म पर्दछ ।
जलाधारमा रहेका २२ हिमतालहरूमध्ये केही तालहरूलाई विगतका अध्ययनहरूले पनि फुट्न सक्ने जोखिमयुक्त सूचीमा राखेका थिए।
यी तालहरूको आकार, तिनीहरूको छेउमा रहेको कमजोर मोरेन  अर्थात हिमनदीले थुपारेको माटो र ढुङ्गाको थुप्रो र पानीको बढ्दो सतहका कारण तिनीहरूलाई खतरनाक मानिन्छ।
हाल रसुवामा आएको बाढीको प्रकृति हेर्दा, यो सामान्य वर्षाले नभई तिब्बतमा रहेको कुनै हिमताल फुटेर वा तालको एक भाग भत्किएर आएको हुनसक्ने आशंका विज्ञहरूले गरेका छन्।
जल तथा मौसम विज्ञान विभागले भूउपग्रहबाट अनुसन्धान सुरु गर्नुले पनि यही आशंकालाई बलियो बनाएको छ।
[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.