९ जेठ , काठमाण्डौ ।
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन अन्तर्गत अहिले बन्दसत्र जारी छ । हिजो सोमबार नै हुने भनिएको बन्दसत्र विवाद बढेपछि आज दिउँसो ढिला गरी सुरु भएको हो । महाधिवेशन प्रतिनिधि छनोटमा विवाद उत्पन्न भएपछि निर्धारित समयमा बन्दसत्र सुरु हुन सकेको थिएन ।
आज दिउँसो भने पार्टी सभापति रवि लामिछाने महाधिवेशन स्थलमा पुगेसँगै बन्दसत्र सुरु भएको थियो । प्रतिनिधि छनोटको विवाद समाधान गर्ने सम्पूर्ण जिम्मेवारी सभापति लामिछानेलाई सुम्पिएर नेताहरूले बन्दसत्र अगाडि बढाएका हुन् । बन्दसत्र सुरुभइसक्दा वरिष्ठ नेतासमेत रहेका प्रधानमन्त्री बालेन्द्र शाह भने अहिलेसम्म उपस्थित भएका छैनन् ।
यद्यपि उनी पनि आउने क्रममा रहेको पार्टी प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै रविले भने महाधिवेशनका क्रममा पार्टीभित्र विवाद र मनमुटाव रहेको स्वीकार गरेका छन् । तर, उनले कुनै पनि विवादलाई सडकमा नलैजान पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिए।
उनले रास्वपालाई विश्वास गरेर मत दिएका जनताका लागि भए पनि कुनै गुटबन्दी नगर्न समेत आग्रह गरे । लामिछानेले पार्टीभित्र गुट–उपगुट र पुरानै राजनीतिक शैली दोहोरिए अपेक्षित परिणाम हासिल नहुने बताए । उनले पुरानै राजनीतिक अभ्यास, आन्तरिक खिचातानी र शक्ति प्राप्त गर्ने दौडले पार्टीलाई सफलतामा नपु¥याउने बताए ।
उनले फरक परिणाम चाहिएको भए सोच र कार्यशैलीमै परिवर्तन आवश्यक रहेको स्पष्ट पारे । ‘म तपाईहरुलाई सम्मान गर्न चाहान्छु । जो जहाँ जसरी आउनुभएको भएपनि हाम्रो उद्देश्य साझा छ । लक्ष्य प्राप्त गर्ने तरिका पनि एकै हुनुपर्छ । राजनीतिक चरित्र उस्तै रह्यो, राजनीतिक खिचातानी उस्तै रह्यो, शक्ति प्राप्त गर्ने दौड उस्तै रह्यो, झन्झन् शक्तिशाली बन्नका लागि गुट–उपगुटको सङ्घर्ष उस्तै रह्यो भने हामीबाट आउने परिणाम उस्तै हुन्छ फरक हुँदैन,’ उनले भने, ‘फरक परिणाम निकाल्ने हो भने केही फरक त सोच्नैपर्छ। जो जहाँ जसरी आउनुभएको भएपनि हाम्रो उद्देश्य साझा छ । जहाँबाट जसरी आएको भए तापनि यो निलो रङभित्र हामीले राष्ट्रका लागि गर्नुपर्ने प्रतिबद्धता सँगै मिसिएर आएको छ। हिजोकै शैलीले फरक परिणाम निकाल्ने कसैले पनि दिवास्वप्न देखेको छ भने त्यो असफलता तर्फ जान्छ।’
बन्दसत्रका लागि विभिन्न कार्यक्रमहरू तय गरिएका छन् । पार्टी महामन्त्रीद्वारा सञ्चालन गरिने आजको बन्दसत्रमा साङ्गठनिक, आर्थिक र राजनीतिक प्रतिवेदनहरूमाथि घनीभूत छलफल हुने कार्यतालिका रहेको छ । बन्दसत्र सुरु भएसँगै अनुशासन आयोगका तर्फबाट रमाकान्त रिमालले प्रतिवेदन प्रस्तुत गरेका छन् ।
यस्तै कोषाध्यक्ष लिमा अधिकारीले पार्टीको वित्तीय प्रतिवेदन प्रस्तुत गरी छलफल अगाडि बढाउनेछिन् । यसैगरी, त्यसपछि महामन्त्री कविन्द्र बुर्लाकोटीले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम छ । महाधिवेशनको विशेष आकर्षणका रूपमा विधान संशोधनको प्रस्ताव रहनेछ ।
केन्द्रीय समितिबाट पारित विधान संशोधन प्रस्तावलाई सहमहामन्त्री विपिन कुमार आचार्यले प्रस्तुत गर्नेछन् । त्यसपछि पार्टीको नीतिगत दिशा स्पष्ट पार्न उपसभापति डा. स्वर्णिम वाग्लेले ’अर्थ–राजनीतिक प्रस्तावना’ प्रस्तुत गर्ने कार्यतालिका छ । त्यसपछि सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । जसमाथि सहभागीहरूले छलफल गर्नेछन् ।
बन्दसत्रको अन्त्यतिर सभापति लामिछानेले नै अन्तरिम व्यवस्थापन समिति गठनको घोषणा गर्नुका साथै आयोजक समितिले सम्हाल्दै आएको सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगलाई हस्तान्तरण गर्नेछन् । बन्दसत्रको अन्तिम चरणमा निर्वाचन आयोगले निर्वाचन प्रक्रियासम्बन्धी जानकारी र कार्यतालिका प्रकाशन गर्नेछ।
निर्वाचन आयोगका अनुसार तालिका प्रकाशन भएपछि निर्वाचनका बाँकी प्रक्रियाहरू निरन्तर रूपमा अगाडि बढ्ने रास्वपाले जनाएको छ । यसबीच लामिछानेले महाधिवेशन प्रतिनिधिका रूपमा तोकिएको पाँच हजार स्वेच्छिक भएको घोषणा गरेका छन् । बन्दसत्रलाई सम्बोधन गर्दै सभापति लामिछानेले तोकिएको पाँच हजार शुल्क स्वेच्छिक बनाउने घोषणा गर्दै तिरिसकेकाहरूले पनि फिर्ता लिन सक्ने बताए ।
‘प्रतिनिधिका रूपमा तोकेको ५ पाँच हजार स्वेच्छिक बनाउन चाहन्छु’, लामिछानेले भने,‘यति धेरै दिन बस्दा तपाईंहरुलाई दुख भयो होला । चाहनुहुन्छ भने तिरेकाहरुले पनि फिर्ता लिन सक्नुहुनेछ ।’ सभापति लामिछानेले निर्वाध रूपमा उम्मेदवारी दिन आग्रह गर्दै रास्वपा पुराना पार्टी र नेताहरू जस्तो नभएको बताए ।
साथै उनले यसलाई र उसलाई भोट दिनु भन्ने मानिस रास्वपाको मानिस हुन नसक्ने पनि बताए । ‘विवेक प्रयोग गरेर ५२ लाख नागरिकले रास्वपालाई शक्तिशाली दल बनाए’, उनले भने, ‘अब पार्टीमा पनि हामीले विवेक प्रयोग गर्नुपर्छ ।’ सभापति लामिछानेले बुद्धिमत्तापूर्वक महाधिवेशन गर्नुपर्ने भएकाले केही चुनौती आएपनि अग्रजहरूले राजनीतिक दल निर्माणका क्रममा धेरै दुख पाएका बताउँदै आफूहरूलाई दुई दिन दुःख भएको समेत बताए ।




