नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

१४ असार ८३, सोमबार

१५ असार , काठमाण्डौ।

असार १५ अर्थात् राष्ट्रिय धान दिवस । सामाजिक सञ्जालमा हिलोमा रमाएका तस्बिर र भिडियोको बाढी आउने दिन । नेतादेखि अभिनेतासम्म, अनि स्कुले बालबालिकादेखि शहरका आधुनिक युवाहरूसम्म सबैजना एकदिनका लागि खेतमा ओर्लिन्छन् ।

नेपाली समाजमा एउटा जीवन्त उखान छ— ‘मानु खाएर मुरी उब्जाउने दिन’। यसको अर्थ हो, थोरै खाएर भए पनि वर्षभरिका लागि अन्नको भण्डार भर्न मेहनत गर्ने समय । असार १५ केवल एउटा पर्व वा दही–चिउरा खाने दिन मात्र होइन। यो त नेपाली किसानको पसिना, देशको अर्थतन्त्रको जग र हाम्रो राष्ट्रिय पहिचानको उत्सव हो ।

Advertisement

नेपाल सरकारले विसं २०६२ सालदेखि असार १५ लाई ‘राष्ट्रिय धान दिवस’ का रूपमा मनाउन थालेको हो। धान नेपालको मुख्य खाद्यान्न मात्र होइन, यो हाम्रो खाद्य सुरक्षाको मेरुदण्ड पनि हो । हाम्रो देशको भूगोललाई हेर्ने हो भने, कुल भू–भागको करिब १७ प्रतिशत मात्र तराई क्षेत्र छ ।

तर विडम्बना र गौरवको कुरा के छ भने, देशको धान र गहुँ उत्पादनको अधिकांश हिस्सा यही तराईको उर्वर भूमिले धान्दै आएको छ । पहाडी बेँसीहरूमा धानखेतीको आफ्नै रौनकता छ भने उच्च पहाडी क्षेत्रमा कोदो र फापरजस्ता रैथाने बालीले जनजीवन धानेका छन् । धान दिवसको सांस्कृतिक पाटो झनै सुन्दर छ ।

Advertisement

धान रोपाइँका बेला हिलोमा काम गर्दा शरीरलाई ऊर्जा चाहिने र दही–चिउरा सजिलै खान सकिने, तत्काल शक्ति दिने पौष्टिक आहार भएकाले यो परम्परा सुरु भएको मानिन्छ । गाउँघरमा गाइने असारे गीतहरू केवल मनोरञ्जन होइनन्, ती त नेपाली ग्रामीण जीवनको सुख–दुःख र श्रमलाई उत्सवमा बदल्ने अनुपम सांस्कृतिक सम्पदा हुन् ।

इतिहासको पाना पल्टाउने हो भने एउटा अचम्मको तथ्य भेटिन्छ । केही दशक अघिसम्म नेपाल धान र चामलमा मात्र होइन, अन्य कृषि उत्पादनमा समेत आत्मनिर्भर थियो । त्यति मात्र कहाँ हो र? सरकारले छुट्टै निकायमार्फत गाउँ–गाउँबाट धान संकलन गथ्र्यो, वितरण गथ्र्यो र बढी भएको चामल छिमेकी मुलुकहरूमा निर्यातसमेत गथ्र्यो ।

नेपालको चामलले विदेशको भोक मेटाउँथ्यो । तर आज, समयको चक्र यसरी घुम्यो कि हामी पूर्ण रूपमा परनिर्भर भइसकेका छौँ । जनसंख्याको अनुपात त तीव्र गतिमा बढिरहेको छ, तर हाम्रो मुख्य बाली— धान, मकै, गहुँ, जौ र कोदोको उत्पादन सोही अनुपातमा बढ्न सकेको छैन ।

नतिजा ? कृषिप्रधान भनिने देशले हरेक वर्ष अर्बौँ रुपैयाँको चामल र खाद्यान्न विदेशी मुलुकबाट आयात गरिरहनु परेको छ । हाम्रा खेतहरू बाँझो बस्दैछन्, अनि हाम्रो भान्सा विदेशी अन्नको भरमा चलिरहेको छ । आखिर यो अवस्था कसरी आयो ? नेपालको कृषिक्षेत्र आज अनेकौँ गम्भीर चुनौतीहरूको चक्रव्यूहमा फसेको छ ।

रासायनिक मलको सदावहार अभाव मुख्य चुनौती हो । यो नेपालको यस्तो विडम्बना हो, जुन हरेक वर्ष दोहोरिन्छ । असारमा धान रोपिन्छ, किसान हिलोमा पसिना बगाउँछन् । तर, बालीलाई धान फलाउन चाहिने रासायनिक मल भने भदौ–असोजमा मात्र आइपुग्छ । धान रोप्ने बेलैमा मल नपाउँदा उत्पादकत्वमा प्रत्यक्ष असर परिरहेको छ ।

यस्तै, आज गाउँघरमा अर्मपर्म गर्ने, खेत जोत्ने र रोपाइँ गर्ने युवाहरूको संख्या शून्यप्रायः छ । वैदेशिक रोजगारीको मोह र कृषिमा भविष्य नदेख्दा लाखौँ युवाहरू देश छाडेर गइरहेका छन् । जसका कारण गाउँमा श्रमको ठूलो संकट पैदा भएको छ । खेतीपाती र कृषिप्रति युवापुस्ताको अरुचि यति बढेको छ कि अबको केही दशकमा खेतमा उत्रिने मान्छे नै नहुने खतरा बढेको छ ।

यता, मौसमको अनिश्चितता अर्को ठूलो चुनौती हो। समयमा वर्षा नहुँदा आकाशे पानीको भरमा बस्नुपर्ने बाध्यता छ । अनि जब वर्षा हुन्छ, तब अत्यधिक वर्षा भएर बाढी र पहिरोले किसानको उठिबास लगाउँछ। सिँचाइको पर्याप्त व्यवस्था नहुँदा किसानहरू सधैँ प्रकृतिको जुवा खेल्न बाध्य छन् ।

सहरीकरणको नाममा उर्वर भूमिमा कङ्क्रिटका महलहरू ठडिएका छन् । गाउँघरमा श्रमिक अभाव र खेतीको लागत बढेकाले उर्वर खेतहरू झाडी र जंगलमा परिणत हुँदैछन् । कतिपय क्षेत्रमा त खेतीयोग्य जमिनमा खाद्यान्न उब्जाउन छाडेर काठ उत्पादन गर्ने सिसौ जस्ता बिरुवा रोप्ने प्रवृत्ति बढेको छ ।

आजका किसानसँग उन्नत बिउबिजनको अभाव छ। कृषि उपकरणहरू अझै पनि आम किसानको पहुँचमा छैनन्। कीटनाशक औषधिको सही प्रयोग कसरी गर्ने भन्ने ज्ञान छैन । गाउँमा कृषि प्राविधिक त छन्, तर उनीहरू किसानको खेतसम्म पुग्दैनन् । माटो परीक्षण, मलको उचित मात्रा र रोग व्यवस्थापन जस्ता आधारभूत कुरामा किसानहरू अझै पनि पुरानै परम्परागत ज्ञानको भरमा छन् ।

एउटा समय थियो, जब गाउँघरमा रोपाइँ आफैँमा एउटा ठूलो सामाजिक पर्व हुन्थ्यो । गाउँका मुखिया, जिम्वाल र स्थानीय अगुवाहरूले पञ्चेबाजा वा नौमती बाजाको धुनमा सामूहिक रूपमा रोपाइँ गराउँथे । जसलाई ‘बेठी लगाउने’ भनिन्थ्यो । गाउँभरिका मानिसहरू एकठाउँमा जुट्थे, सुख–दुःख साट्थे ।

असारे गीत, नाचगान र सामूहिक श्रमले सामाजिक एकता र भाइचारालाई सिमेन्ट जस्तै बलियो बनाउँथ्यो । तर आज? त्यो मौलिक परम्परा लगभग लोप हुने अवस्थामा पुगेको छ । अहिले धेरै ठाउँमा रोपाइँ केवल ‘फेसबुक स्टेटस’ र ‘टिकटक भिडियो’ बनाउने औपचारिक कार्यक्रममा सीमित हुन थालेको छ ।

कलाकार र सेलिब्रेटीहरू भिडियो छायांकनका लागि मात्र खेतमा पुग्छन् । मन्त्री र नेताहरू सुरक्षाकर्मीको घेराभित्र रहेर, कताबाट क्यामेराको एङ्गल मिल्छ, त्यतै हेरेर दुई मुठा धान रोप्छन् र गाडी चढेर ओभानो शहर फर्किन्छन् । विद्यालयहरूले पनि विद्यार्थीलाई खेतमा त लैजान्छन्, तर त्यो केवल एकदिने पिकनिक जस्तो मात्र हुन्छ ।

शहरका धेरै विद्यार्थीलाई थाहै छैन कि उनीहरूले प्लेटमा खाने चामल कसरी फल्छ । एकदिन हिलोमा उत्रिएर फोटो खिच्दैमा कृषिप्रति न त सम्मान जाग्छ, न त दीर्घकालीन आकर्षण नै पैदा हुन्छ। संस्कृति संरक्षणको ठाउँमा आज प्रदर्शन र देखावटीपन हाबी भएको छ ।

कृषि वन तथा वातावरण मन्त्रालयअन्तर्गतको कृषि विभागको आँकडाअनुसार यो वर्ष देशभर १५ दशमलव ६ प्रतिशत मात्रै धान रोपाइँ भएको छ । विभागका अनुसार नेपालमा ४१ लाख ३१ हजार किसान घरधुरीमध्ये २७ लाख ६५ हजार घरधुरी धान खेतीमा संलग्न छन् भने कुल खेतीयोग्य जमिनको ५४ प्रतिशत क्षेत्रमा धान खेती हुने गरेको छ ।

कृषि क्षेत्रको कुल गार्हस्थ उत्पादनमा धानको झण्डै १३ प्रतिशत तथा कुल खाद्यान्न उत्पादनमा ५० प्रतिशत योगदान रहेको उल्लेख गरिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

सम्बन्धित समाचार

Scroll to Top