१६ असार, काठमाण्डौ ।
कार्लो एन्सेलोटीको टोलीको पुनरागमन जितमा नायक बनेका गेब्रियल मार्टिनेलीले नाटकीय विजयी गोल गर्दा जापान फेरि एकपटक निराश बनेको छ । ह्युस्टनमा पुनरागमन जितका साथ ब्राजिलले जापानलाई २–१ ले पराजित गर्दा जापानको पहिलो पटक नकआउट चरण पार गर्ने सपनामा तुषारापात भएको छ ।
हाफ टाइमसम्म काइसु सानोले जापानलाई अगाडि बढाए । तर खेल पुनः सुरु हुने बित्तिकै कासेमिरोले बराबरी फर्काए । बेञ्चबाट आएका वैकल्पिक खेलाडी गेब्रियल मार्टिनेलीले इन्ज्योरी समयमा गोल गर्दा ब्राजिलले आइतबार अन्तिम १६ मा नर्वे वा आइभरी कोस्टसँगको खेलका लागि आफ्नो उपस्थिति पक्का गरेको छ ।
गेब्रियल मार्टिनेलीको खेलको ९५ औं मिनेटको विजयी गोलले ब्राजिल नाटकीय रूपमा पछि परेको अवस्थालाई उल्ट्याउँदै २–१ ले जित हासिल गर्न सफल भयो । अन्तिम समयको गोलले जापानमाथि क्रुर विजय हात पार्दा ब्राजिलले आफ्नो श्रेष्ठता भने जोगाउन सफल भएको छ ।
जापानका लागि काइसु सानोले २९औं मिनेटमा गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाउँदा बाज्रिलको वेञ्चमा निराशा छाएको थियो । उनले मैदानको बिच भागमा ब्राजिलियन खेलाडीले गरेको गल्तीको फाइदा उठाउँदै त्यसलाई आफ्नो पक्षमा सदुपयोग गर्न सफल भएका हुन् । सानोको लामो र दर्शनीय प्रहार ब्राजिलका गोलकिपर एलिसन बेकर पूर्णत असहाय बने ।
जर्मन क्लब मेइन्ज ०५ बाट खेल्ने सानोको यो जापानका लागि यो पहिलो गोल हो । तर दोस्रो हाफमा ब्राजिल खेलमा फर्कदा त्यतिखेरका नायक बने– मिडफिल्डर कासेमिरो । उनले खेलको ५६औं मिनेटमा गाब्रीएल मागल्हाएसको क्रसमा हेड मार्फत गोल गर्दै ब्राजिललाई बराबरीमा उभ्याएका हुन् ।
यो गोलसँगै कासेमिरो ब्राजिलका लागि विश्वकपमा गोल गर्ने दोस्रो बढी उमेरका खेलाडी समेत बनेका छन् । उनले ३४ वर्ष १२६ दिनको हुँदा गोल गर्न सफल भए । यसअघि बेबटोले ३४ वर्ष १३७ दिन हुँदा सन् १९९८ मा डेनमार्क विरुद्ध गोल गरेका थिए । बराबरी गोलपछि ब्राजिलले जापानमाथि निरन्तर दबाब बढाएको थियो ।
तर जापानका गोलकिपर जिओन सुजुकीले उत्कृष्ट बचाउ गर्दै ब्राजिलको एकपछि अर्को आक्रमणलाई विफल तुल्याएका थिए । सुजुकीले ब्राजिलको खतरनाक ४ प्रहारलाई विफल तुल्याउँदा दुई प्रहारमा भने चुके । जापानको पोष्टमा १९ सट प्रहार गरेको ब्राजिलले ७ सट टार्गेटमा हान्न सफल भएको थियो ।
विशेषत ५२औं मिनेटमा ब्राजिलका डानिलोको पासमा ब्रुनो गुमाइरेसको खतरनाक हेडर सुजुकीले उत्कृष्ट बचाउ गर्दै विफल पार्दा ५४औं ब्राजिलका कासेमिरोले हानेको गम्भीर सटलाई पनि विफल तुल्याएका थिए । यस्तै भिनिसियसको प्रहार पोस्टमा लागेर फर्किदा इन्ज्योरी टाइममा मार्टिनेलीले विजयी गोल गरे ।
जसले जापानको आशामा तुषारापात गराएको थियो । ब्राजिल अन्तिम १६ मा पुग्दा उसको भेट उसको भेट अब आइभरी कोस्ट वा एर्लिङ हालान्डको नर्वेसँग हुनेछ । यो हारले जापानले विश्वकपको आफ्नो पछिल्ला दुई नकआउट खेलहरूमा भोगेको इतिहास दोहोर्याएको छ ।
जापानले यस अघिका दुई विश्वकपमा पनि नकआउट चरणको खेलमा अग्रता लिएपनि सबैमा हार व्यहोरेको थियो । सन् २०१८ मा बेल्जियम विरुद्ध अन्तिम १६ मा जापानले २–० को अग्रता लिएर पछि ३–२ ले पराजित भएको थियो । यस्तै २०२२ मा क्रोएसिया विरुद्ध १–० ले अग्रता लिएर पछि पेनाल्टी सुटआउटमा पराजित भएको थियो ।
जापानमाथिको यो जितको सहयोगमा ब्राजिलले भने आफ्नो आभा बचाउन सफल भएको छ । ब्राजिलमा यस्ता खेलहरूमा लाइन पार गर्ने आभा छ । जहाँ उनीहरूसँग बेन्च बाहिर पनि धेरै विकल्पहरू छन् । नेयमार जुनियर बिना पनि, दबाब बढाउन सक्छ ब्राजिल भने उनीहरूसँग विश्वकप जित्नको लागि अनुभवी ट्रफी विजेताको इतिहास पनि छ ।
ब्राजिल हालसम्म सबैभन्दा बढी पाँच पटक विश्वकप जित्ने टोली हो । तर ब्राजिलको टोलीमा पनि खाडलहरू छन्। जसले उनीहरूलाई हराउन योग्य बनाउँछ। तर जापानविरुद्धको खेलमा उनीहरुले कुनै खाडल बन्ने अवसर दिएनन् । जुन मोरक्को विरुद्धको खेलमा उनीहरूको मिडफिल्ड व्यापक रूपमा देखिएको थियो ।
तर यसपटक कासेमिरो त्यो अवस्था आउन नदिइ जापानविरुद्ध आफ्नो टोलीलाई बचाउन आरम्भ गरे । लुकास पाक्वेटाले खेलमा फर्कन संघर्ष गर्नुपरेको थियो तर हाफ टाइममा लागेको चोटका कारण उनी मैदानबाट बाहिर निस्किए। एन्ड्रिक र म्याच–विनर गेब्रियल मार्टिनेलीले हाफ टाइमपछि ब्राजिलको खेल सम्हाल्ने प्रयास गरे ।
जहाँ मार्टिनेली सफल भइछाडे । यदि पिचको दुबै छेउमा उत्कृष्ट प्रदर्शन गर्ने ब्रुनो गुइमारेस नभएको भए, ब्राजिलको मिडफिल्ड उपस्थिति नै खेलमा देखिने थिएन । धेरै अनिश्चिताको प्रश्नलाई मैदानमा उभ्याउँदै ब्राजिलले जहिले पनि विस्तारै खेल सुरु गर्छ र आफु राम्रो टोली भएको प्रमाणलाई अन्ततः पेश गरेरै छाड्छ ।
जापानविरुद्ध पनि उसको यही रणनीति सफल हुन पुग्यो । दक्षिण कोरियाले पहिलो चरण पार गर्न नसक्दा र इरान गलत निर्णयको शिकारले बाहिरिदा जापानामाथि एसियाको आशा टिकेको थियो । तर जापानको हारपछि अब बाँकी रहेको अष्ट्रेलियामाथि मात्र आशा बाँकी रहेको छ ।




