१० चैत, काठमाण्डौ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ३६ घण्टाअघि मात्र इरानलाई पूर्ण रूपमा बर्बाद गर्ने धम्की दिएका थिए । तर, अचानक उनी युद्धविराम र सार्थक वार्ताको बाटोतर्फ मोडिए । उनी आफैले सामाजिक संजालमार्फत इरानसँगको शत्रुतापूर्ण सम्बन्ध अन्त्य गर्न वार्ता भइरहेको जानकारीमात्र दिएनन् वार्ता सकारात्मक रहेकोसम्म दाबी गरेका थिए ।
तर यता इरानका संसद् अध्यक्ष मोहम्मद–बागेर गालिबाफले भने ट्रम्पको दाबीलाई अफवाह भनेका छन् । उनले अमेरिकी अधिकारीहरूसँग आफ्नो कुनै पनि किसिमको वार्ता भएको भन्ने खबरको खण्डन गरेका छन् । विभिन्न समाचार माध्यमहरूले अमेरिकी विशेष दूत स्टिभ विटकफ र जारेड कुश्नरसँग उनको गोप्य वार्ता भएको दाबी गरेपछि गालिबाफले सामाजिक सञ्जाल एक्स मार्फत सो कुराको खण्डन गरेका हुन् ।
उक्त पोस्टमा तेल बजारलाई प्रभावित गर्न यस्तो फेक न्युज फैलाइएको आरोप लगाइएको छ । साथै, पोस्टमा भनिएको छ, ‘इरानी जनता आक्रमणकारीहरूलाई पूर्ण र पश्चात्तापपूर्ण सजायको माग गर्दछन् ।’ यो हेर्दा ट्रम्प आफ्नै जालमा फसेका देखिएका हुन् । यो युद्धमा अमेरिकाले दैनिक करिब १.३८ अर्ब डलर खर्च गर्नु परिरहेको छ ।
सुरुआती ६ दिनमा ११.३ अर्ब डलर र त्यसपछिका १२ दिनमा १६.५ अर्ब डलर खर्च भइसकेको छ । पेन्टागनले थप २०० अर्ब डलरभन्दा बढी रकम माग गरेको छ, जसलाई कंग्रेस (संसद्) बाट पारित गराउनुपर्नेछ, तर यसको सम्भावना निकै कम देखिन्छ ।
यता ‘कायर’ र ‘कागजी बाघ’ जस्ता सम्बोधन सुन्दा पनि नेटो लगायतका सहयोगी देशहरूले साथ दिएका छैनन् । २२ देशले हर्मोज जलसन्धिमा समन्वयका लागि हस्ताक्षर गरे पनि कसैले युद्धपोत पठाएनन् । कतारमा एलएनजी आपूर्ति बन्द हुनु र पाँच वर्षसम्मको अभूतपूर्व संकटको डरले युरोपमा ग्यासको मूल्य ३५ प्रतिशतले बढेको छ ।
जापानले आफ्नो रणनीतिक भण्डार निकाल्नुपरेको छ । विचलित अमेरिकाले अन्जानमै चीन र रुसलाई बलियो बनाइरहेको देखिन्छ । खाडी देशहरूमा अशान्तिको अर्थ तेलको मूल्यमा भारी वृद्धि हुनु हो । यसको असर विश्वभर देखिन थालेको छ र अमेरिकी अर्थतन्त्रमा सिधै प्रभाव पर्न थालेको छ ।
ताइवानले आफ्नो ऊर्जाको करिब ९७ प्रतिशत आयात गर्छ र उसको एलएनजी भण्डार केवल ११ दिनका लागि मात्र पर्याप्त छ । कतारले विश्वव्यापी हिलियमको करिब एकतिहाइ हिस्सा आपूर्ति गर्छ, जुन अर्धचालक चिप निर्माणका लागि आवश्यक हुन्छ । हिलियम होर्मुज जलमार्गनजिकै भण्डारण गरिएको छ ।
यसबाहेक मलको पनि संकट देखिन सक्छ । प्रत्येक एनभिडिया जीपीयू, एप्पल चिप र कृत्रिम बुद्धिमत्ता समूहहरू ताइवानको ह्सिनचुस्थित उत्पादन संयन्त्रमा निर्भर छन्, जहाँ ग्यासको उपलब्धता केही दिनका लागि मात्र बाँकी छ । ऊर्जा संकटका कारण प्रविधि क्षेत्र ठप्प हुँदा सात प्रमुख देशहरूले अर्बौंको नोक्सानी बेहोरेका छन् ।
अन्तर्राष्ट्रिय उर्जा एजेन्सीका अनुसार, नौ देशका ४० वटा ऊर्जा भण्डारहरू युद्धमा नराम्ररी क्षतिग्रस्त भएका छन् । विश्वव्यापी तेल आपूर्ति दैनिक ११ मिलियन ब्यारेलले घटेको छ, जुन सन् १९७० को दशकको संकटभन्दा पनि गम्भीर हो । एजेन्सीले यस युद्धलाई आधुनिक इतिहासकै सबैभन्दा भीषण ऊर्जा संकट भनेको छ ।
अमेरिकी केन्द्रीय बैंकले ब्याजदर कटौतीको सम्भावना मात्र होइन, अमेरिकीहरूको राहतको आशा पनि समाप्त गरिदिएको छ । यता साउदी अरब र संयुक्त अरब इमिरेट्स जस्ता देशहरू पूर्ण युद्ध चाहँदैनन् । उनीहरू असुरक्षित महसुस गरिरहेका छन् र यो कुरा उनीहरूले ट्रम्पलाई स्पष्ट पारिसकेका छन् । अर्कोतर्फ, इरान सजिलो निसाना होइन ।
उसले मिसाइल, प्रोक्सी हतियार र तेल मार्गहरू अवरुद्ध गरेर बराबरीको जवाफी कारबाही गर्ने क्षमता देखाएको छ । उता अमेरिकामा पेट्रोलको मूल्य प्रतिग्यालिन ९३ सेन्टले बढेको छ । ६६ प्रतिशत अमेरिकीहरूले यसलाई ट्रम्पको ‘आफ्नो मर्जीको युद्ध’ भनेका छन् भने ६० प्रतिशत यसको विरोधमा छन् ।
५७ प्रतिशत मानिसहरूले अवस्था बिग्रँदै गएको बताएका छन् । ट्रम्प बिनानतिजाको कुनै पनि संघर्ष सहन सक्दैनन्, किनकि उनको छविमा असर पुगेको छ । अमेरिकामा युद्ध लामो समयसम्म तन्किने आशंका बढेको छ । ट्रम्प सम्भवतः इतिहासकै त्यस्ता विरलै राष्ट्रपति हुन्, जसको लोकप्रियता युद्धका बेला बढ्नुको साटो उल्टै घटेको छ ।
यसैबीच जारी युद्धको चौथो हप्तामा प्रवेश गर्दै गर्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी नेतृत्वबीच ‘दाबी–प्रतिदाबी’को शृंखला सुरु भएको हो । ट्रम्पले इरानसँगको वार्तालाई सकारात्मक भन्दै आक्रमण रोक्ने घोषणा गरे पनि इरानले यसलाई ठाडै अस्वीकार गरेको हो । ट्रम्पले इरानलाई होर्मुज जलमार्ग नखोले इरानका पावर प्लान्टहरू ध्वस्त पार्ने चेतावनी दिएको ४८ घण्टाको अल्टिमेटम समाप्त हुनु केही समयअघि मात्र आफ्नो अडान परिवर्तन गरेका हुन् ।
ट्रम्पले आगामी पाँच दिनसम्म इरानी पावप्लान्टहरूमा कुनै पनि सैन्य हमला नगर्न ‘डिपार्टमेन्ट अफ वार’ रक्षा मन्त्रालयलाई निर्देशन दिए । उनले बितेका दुई दिनमा अत्यन्तै फलदायी कुराकानी भएको र यो संवाद हप्ताभरि जारी रहने पनि बताए । तर तेहरानको प्रतिक्रिया ट्रम्पको दाबीसँग मेल खाँदैन ।
इरानी पक्षले ट्रम्पको दाबीलाई कडा शब्दमा खण्डन गर्यो । ट्रम्पको घोषणाको केही समयपछि नै इरानको सरकारी टेलिभिजनले तेहरानको कडा चेतावनीका कारण अमेरिकी राष्ट्रपति पछाडि हटेको दाबी ग¥यो । समाचार एजेन्सी एपीले इरानको एउटा सरकारी समाचारपत्रलाई उद्धृत गर्दै उल्लेख गरेअनुसार, विदेश मन्त्रालयले अमेरिकासँग कुनै पनि वार्ता भएको कुरालाई अस्वीकार गरेको छ ।
ट्रम्पका एक निकटवर्तीले भने इजरायलको दबाबमा इरानमाथि हमला गरिएको बताएका छन् । इरानी सञ्चारमाध्यमका अनुसार, विश्वव्यापी तेल बजारमा आएको उछाल र इरानले पश्चिम एसियाका सबै अमेरिकी ऊर्जा केन्द्रहरूमा हमला गर्ने चेतावनी दिएपछि ट्रम्प पछाडि हटेको बताएको छ । ट्रम्पले इरानलाई लिएर कयौँ दाबीहरू गरेका छन् ।
एकातर्फ उनले वार्तामा सहमतिका धेरै बुँदाहरू फेला परेको बताएका छन् भने, अर्कोतर्फ इरानमा सत्ता परिवर्तन प्रभावकारी रूपमा अगाडि बढिरहेको दाबी गरेका छन् । उनले चेतावनी दिँदै वार्ता असफल भयो भने बमबारी जारी रहने बताएका छन् । ट्रम्पले यो पनि स्पष्ट पारेका छन् कि आफू आयतुल्लाह खामेनेईका छोरा मुजतबालाई नेता नमान्ने र सम्भवतः भेनेजुएलामा जस्तै इरानमा पनि अमेरिकाले एक ‘नेता’ खोज्ने जनाए ।
यो संकटको मुख्य केन्द्रविन्दु पछिल्लो समय होर्मुज जलमार्ग बनेको छ । यो जलमार्ग विश्वको २० प्रतिशत तेल आपूर्तिको लाइफलाइन हो । इरानले जलसन्धि पूर्ण रूपमा बन्द गर्ने धम्की दिएपछि ढुवानी ९५ प्रतिशतले घटेको छ । तेलको मूल्य प्रतिब्यारेल ११० डलरसम्म पुगेको थियो, तर ट्रम्पको ‘वार्ता’ को खबरपछि यो १०० डलर मुनि झरेको छ ।
यसैबीच, ओमानका विदेशमन्त्री बद्र अल–बुसैदीले हर्मोज जलमार्गमा सुरक्षित मार्ग सुनिश्चित गर्न ओमानले सघन रूपमा काम गरिरहेको बताएका छन् । ओमान सधैँ अमेरिका र इरानबीचको भरपर्दो मध्यस्थकर्ता रहँदै आएको छ । यस्तै यसै हप्ता पाकिस्तानको इस्लामाबादमा अमेरिका र इरानका वरिष्ठ अधिकारीहरूबीच बैठक हुने सम्भावना रहेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।
पाकिस्तान, टर्की र इजिप्टले पर्दा पछाडि बसेर दुवै देशलाई वार्ताको टेबलमा ल्याउने प्रयास गरिरहेका रोयटर्सले स्रोतलाई उद्धृत गर्दै उल्लेख गरेको छ । एक वरिष्ठ इजरायली अधिकारीले इस्लामाबादमा बैठक आयोजनाका निम्ति सम्पर्क भइरहेको र त्यसमा अमेरिका तथा इरानका शीर्ष प्रतिनिधि सहभागी हुन सक्ने बताएका छन् ।
एक पाकिस्तानी अधिकारी र अर्को एक स्रोतले पनि युद्ध अन्त्य गर्न यसै हप्ता इस्लामाबादमा वार्ता हुन सक्ने बताएका छन् । पाकिस्तानी अधिकारीका अनुसार, अमेरिकी उपराष्ट्रपति जेडी भान्सका साथै स्टिभ विट्कफ र ट्रम्पका ज्वाइँ जेरेड कुश्नरले इस्लामाबादमा इरानी अधिकारीसँग भेट्ने अपेक्षा गरिएको छ ।
हालैका दिनमा पाकिस्तान, टर्की र इजिप्टका विदेशमन्त्रीहरूले छुट्टाछुट्टै बैठकमा ह्वाइट हाउसका दूत विट्कफ र इरानका विदेशमन्त्री अब्बास अराघचीसँग छलफल गरेका छन् । इजरायली सञ्चारमाध्यमका अनुसार, विट्कफ र कुश्नरले इरानको संसद्का सभामुख मोहम्मद बाघेर गालिबाफसँग पनि सम्पर्क गरेका छन्, जो यो युद्धका क्रममा प्रमुख निर्णयकर्ताका रूपमा उभिएका छन् ।
एक स्रोतले युद्ध अन्त्य र बाँकी मुद्दाको समाधान निकाल्ने उद्देश्यसहित मध्यस्थता जारी रहेको र प्रगति भइरहेको जनाएको छ । यसैबीच, ट्रम्पले वार्ता निकै सशक्त रहेको र धेरै महत्त्वपूर्ण बुँदामा सहमति भइसकेको बताएका हुन् । उनले कूटनीतिका निम्ति पाँच दिनसम्म सैन्य कारबाही रोकिएको जानकारी दिएका थिए ।
ट्रम्पले इरानले आफैँ वार्ताका निम्ति सम्पर्क गरेको बताएका थिए । तर, इरानले यो भनाइ खारेज गरेको छ । इरानको विदेश मन्त्रालयका प्रवक्ताले विगत २४ दिनमा अमेरिकासँग कुनै वार्ता नभएको बताएका छन् ।

