२५ वैशाख , काठमाण्डौ ।
चीनले भ्रष्टाचारसम्बन्धी मुद्दामा दोषी ठहर भएका दुई पूर्वरक्षामन्त्री तथा कम्युनिस्ट पार्टीका नेतालाई निलम्बित मृत्युदण्डको सजाय सुनाएको छ । भ्रष्टाचारको मामिलामा दुई पूर्वरक्षामन्त्री ली साङ्फु र वेई फेङ्गेलाई मृत्युदण्डको सजाय सुनाएको हो । बीबीसीका अनुसार, चिनियाँ अदालतले पूर्व रक्षामन्त्रीहरूविरुद्ध ठूलो परिमाणमा घुस लिएको र शक्ति दुरुपयोग गरेको निष्कर्ष निकाल्दै यस्तो फैसला गरेको हो ।
चीनको कानुनी व्यवस्थामा निलम्बित मृत्युदण्ड भनेको तुरुन्त कार्यान्वयन नगरिने मृत्युदण्ड हो । सामान्यतया दुई वर्षसम्म दोषीले थप गम्भीर अपराध नगरे सजायलाई आजीवन काराबासमा रूपान्तरण गरिन्छ । राष्ट्रपति सी जिनपिङ नेतृत्वमा चीनले पछिल्ला वर्षहरूमा भ्रष्टाचारविरुद्ध व्यापक अभियान चलाइरहेको छ। उच्च सैन्य अधिकारी र कम्युनिष्ट पार्टीका प्रभावशाली नेतासमेत यस अभियानको निशानामा परेका छन् ।
पूर्व रक्षामन्त्रीहरूविरुद्धको कारबाहीलाई चिनियाँ सेनाभित्रको शक्ति संघर्ष र अनुशासन कडाइसँग पनि जोडेर हेरिएको छ। विश्लेषकहरूका अनुसार, यसले सैन्य संरचनाभित्र भ्रष्टाचार नियन्त्रण गर्ने सन्देश दिन खोजेको देखिन्छ। बीबीसीका अनुसार, चीनले पछिल्लो समय सैन्य नेतृत्वमाथि निगरानी बढाउँदै गएको छ।
सैन्य अदालतले वेइलाई घुस लिएको तथा लीलाई घुस स्वीकारेको र घुस खुवाउने प्रस्ताव पनि गरेको अभियोगमा दोषी ठहर गरिएको हो। उनीहरुले जिन्दगीभरि राजनीतिक अधिकार पाउने छैनन् र उनीहरुको सम्पत्ति पनि जफत गरिएको छ। मृत्युदण्ड जन्मकैदमा फेरिएपछि उनीहरु जिन्दगीभरि रिहा हुने छैनन्।
२०१२ मा सीले भ्रष्टाचारविरुद्ध कारबाही थालेयता सैन्य अधिकारीहरुलाई सुनाइएको यो कठोरतम सजाय हो। ली मार्च देखि अक्टोबर २०२३ सम्म चीनका रक्षामन्त्रीका रूपमा कार्यरत थिए। उनी चीनका सबैभन्दा कम समय सेवा गर्ने रक्षामन्त्री हुन्। वेईले उनीभन्दा अघि यो पदमा काम गरेका थिए र सन् २०१८ देखि २०२३ सम्म सेवा दिएका थिए।
बेइजिङले जुन २०२४ मा वेई र ली दुवैविरुद्ध अनुसन्धानको घोषणा ग¥यो र पार्टीको पोलिटब्युरोको निर्णयपछि उनीहरूलाई कम्युनिस्ट पार्टीबाट निष्कासन गरियो। आरोपपत्रका अनुसार, वेई सी जिनपिङको भ्रष्टाचारविरोधी अभियानका क्रममा “झोङचेङ शि जी“ अर्थात् “निष्ठाहीन भई पवित्रता गुमाएको“ भनी वर्णन गरिएका एकमात्र शीर्ष चिनियाँ जनरल बने।
यो चिनियाँ कम्युनिस्ट पार्टीसँग विश्वासघात गर्ने वा कुनै विरोधी शक्तिबाट प्रभावित भएको परोक्ष संकेत हो। सन् २०२४ को बयानमा भनिएको थियो, उनको विश्वास टुटेको छ र उनले आफ्नो पवित्रता गुमाइसकेका छन्।नोभेम्बर २०१२ मा महासचिव सी जिनपिङले भ्रष्टाचारविरोधी अभियानको घोषणा गर्दा विश्लेषकहरूले यसलाई शंकाका नजरले हेरेका थिए।
तर यो अभियान चीनको इतिहासकै सबैभन्दा कडा र व्यापक भ्रष्टाचारविरोधी अभियान साबित भएको छ । सन् २०१२ मा सत्तामा आएयता सी जिनपिङको भ्रष्टाचारविरोधी अभियानले ४० लाखभन्दा बढी मुद्दाहरूको अनुसन्धान ग¥यो, जसमा हजारौं व्यक्तिहरूलाई पदबाट हटाइयो वा जेल सजाय दिइयो।
यसका अतिरिक्त सरकार वा पार्टीमा नियम उल्लंघन गर्ने ६ लाख ४४ हजार जनालाई अप्रिल २०२२ सम्म कारवाही गरिएको थियो। वरिष्ठ अधिकारीहरूमाथिको मुद्दाको संख्या सन् २०१२ मा चार जनाबाट बढेर सन् २०१३ मा २४, सन् २०१४ मा ४१ र सन् २०१५ मा ४७ जनामा पुग्यो।
सन् २०२२ मा फेरि वृद्धि भएर ४० जना, सन् २०२३ मा ५० जना र सन् २०२४ मा ५९ जना ठूला बाघहरु पक्राउ परेका थिए । सन् २०२४ मा उपमन्त्री स्तर वा माथिका ५६ जना वरिष्ठ अधिकारीहरू अनुसन्धानमा परे , जुन सन् २०२३ को तुलनामा करिब २५ प्रतिशत बढी थियो।
अभियानका प्रारम्भिक वर्षहरूमा धेरै ठूला नेताहरू फसे, जसमा केन्द्रीय राजनीतिक तथा कानुनी मामिला आयोगका पूर्वसचिव झोउ योङकाङ, केन्द्रीय सैन्य आयोगका पूर्वउपाध्यक्षहरू शु काइहोउ र गुओ बोक्सिओङ र कम्युनिस्ट पार्टीका महासचिवालयका पूर्वनिर्देशक लिङ जिहुआ समावेश छन्।
पार्टी प्रमुख र पोलिटब्युरो स्थायी समितिका दाबेदार बो सिलाइलाई पार्टीबाट निष्कासन गरी भ्रष्टाचारको आरोपमा मुद्दा दायर गरियो। यस्तै चीनको विशाल सुरक्षा तन्त्रका पूर्वप्रमुख झोउ योङकाङलाई सन् २०१५ मा आजीवन कारावासको सजाय सुनाइयो। वरिष्ठ सैन्य अधिकारीहरूमाथिको मुद्दाको संख्या पनि सन् २०१२ मा एक जनाबाट बढेर सन् २०१४ मा २३ र सन् २०१५ मा ५३ जनामा पुग्यो।
अनुशासन निरीक्षण आयोगका १५० भन्दा बढी सदस्यहरू भ्रष्टाचार रोक्ने स्वयं निकायका पदाधिकारीहरु पनि भ्रष्टाचारको आरोपमा अनुसन्धानमा परेका छन् । यो अभियानले चीनमा अहिलेसम्मकै सबैभन्दा साहसी र गम्भीर भ्रष्टाचारविरोधी रूप लिएको विश्लेषण गरिन्छ तर केही विश्लेषकहरूले यो अभियान अत्यधिक भएको, मुख्यतः गुटीय राजनीतिबाट प्रेरित भएको, अधिकारीहरूलाई निर्णय लिनबाट निरुत्साहित गरेको र चीनको अर्थतन्त्र कमजोर बनाएको चिन्ता व्यक्त गरेका छन्।
भ्रष्टाचारविरोधी जाल झन् फराकिलो भएको छ । सी जिनपिङको यो अभियान संख्याको हिसाबले विश्व इतिहासकै सबैभन्दा ठूलो भ्रष्टाचारविरोधी अभियानका रुपमा हेरिन्छ । तर यसलाई शक्ति सुदृढीकरणको राजनीतिक हतियार बनाएको भन्दै आलोचना समेत हुँदै आएको छ ।



