१७ असार , काठमाण्डौ ।
एर्लिङ हालान्डको निर्णायक गोलमा नर्वेले आइभरी कोस्टलाई २–१ ले पराजित गर्दै विश्वकपको अन्तिम–१६ मा स्थान बनाएको छ। यो नर्वेको विश्वकप इतिहासमै पहिलो नकआउट चरणको जित हो। यसका नायक बनेका छन्, एर्लिङ हालान्ड । जसले नर्वेका लागि विजयी तथा निर्णायक गोल गरे । विश्वकपमा नर्वेको पहिलो खेलदेखि नै विश्वको नजर हालान्डमा परेको छ।
आजको खेलपछि मैदानमा नर्वेली खेलाडी र समर्थकहरू ‘भाइकिङ रो’ उत्सवमा एकैसाथ झुमेका थिए। कप्तान मार्टिन ओडेगार्डले ड्रम बजाउँदै उत्सवको नेतृत्व गरेका थिए भने हालान्ड भाइकिङ हेलमेट लगाएर उत्सवमा सहभागी भएका थिए। हालान्डले ८६औँ मिनेटमा निर्णायक गोल गर्दै टोलीलाई ऐतिहासिक जित दिलाए। उनका लागि यो गोल प्राविधिक रूपमा उत्कृष्ट नभए पनि अन्तर्राष्ट्रिय करियरकै सबैभन्दा महत्वपूर्ण गोल मानिएको छ।
उनीहरूले यसअघि विश्वविजेता जर्मनी र नेदरल्याण्ड्सलाई पछाडि छाड्दै उत्कृष्ट प्रदर्शन गरेका छन्। अब नर्वेले क्वार्टरफाइनल प्रवेशका लागि ब्राजिलसँग प्रतिस्पर्धा गर्नेछ। हालान्डले जारी विश्वकपमा पाँच गोल गरिसकेका छन्। प्रतियोगितामा उनी लियोनेल मेस्सी र किलियन एमबाप्पेपछि सर्वाधिक गोलकर्ताको सूचीमा छन्।
नर्वेले यसअघि पहिलो पटक विश्वकपमा सहभागिता जनाउँदा हालान्ड जन्मिएकै थिएनन्। तर अब यही २५ वर्षीय स्ट्राइकरको नेतृत्वमा नर्वे १९९८ पछि पहिलो पटक विश्वकपमा फर्किएको छ, जसले देशको २८ वर्ष लामो प्रतीक्षालाई अन्त्य गर्दै विश्वकपको मैदानमा धमाका मच्चाइरहेको छ।
हालान्डको समग्र अन्तर्राष्ट्रिय गोल संख्या ६० खेलमा ५३ पुगेको छ। उनी हाल विश्व फुटबलकै सबैभन्दा घातक स्ट्राइकरमध्ये एकका रूपमा हेरिएका छन्। पूर्व खेलाडी तथा विश्लेषकहरूले पनि नर्वेको सफलतामा हालान्डको निर्णायक भूमिकालाई जोड दिएका छन्। उनीहरूको भनाइमा, टोलीले कहिलेकाहीँ खेल नियन्त्रण नगरे पनि आवश्यक क्षणमा हालान्डले खेल जोगाउने क्षमता देखाएका छन्।
नर्वेका प्रशिक्षक स्टाले सोलबाकेनले हालान्डलाई विश्वकै उत्कृष्ट गोलकर्ता भन्दै उनको प्रदर्शनले देशलाई नयाँ उचाइमा पु¥याएको बताएका छन्। नर्वे अब ऐतिहासिक यात्रालाई निरन्तरता दिँदै विश्वकपमा थप ठूलो उपलब्धिको लक्ष्यमा अघि बढिरहेको छ।हालान्डको जन्म इङ्ग्ल्यान्डको योर्कशायरमा भएको थियो, जहाँ उनका पिता अल्फ–इङ्गे हालान्ड त्यतिबेला व्यावसायिक फुटबल खेलिरहेका थिए।
पछि परिवार नर्वे फर्कियो, जहाँ उनले ब्राइन क्लबबाट आफ्नो फुटबल यात्रा सुरु गरे। सानै उमेरदेखि उनको प्रतिभा स्पष्ट देखिन्थ्यो। ब्राइनपछि उनले मोल्डे क्लबमा ओले गुनार सोल्स्क्याएरको प्रशिक्षणमा आफ्नो खेललाई निखारे, जसले उनलाई आधुनिक आक्रमणकारी स्ट्राइकरमा रूपान्तरण गर्न महत्वपूर्ण भूमिका खेले। त्यसपछि साल्जबर्ग र बोरुसिया डर्टमण्ड हुँदै उनी विश्व फुटबलको केन्द्रमा पुगे।
२०२२ मा म्यानचेस्टर सिटीमा आबद्ध भएका उनले त्यहाँ सबै प्रमुख उपाधिहरू जितिसकेका छन्। हालान्ड इङ्ग्ल्यान्डमा जन्मिएका कारण त्यहाँबाट खेल्न योग्य थिए। तर उनले सधैँ नर्वेप्रतिको आफ्नो लगावलाई प्राथमिकता दिए। इङ्ग्ल्यान्डका तत्कालीन प्रशिक्षक ग्यारेथ साउथगेटले समेत उनी इङ्ग्ल्यान्डका लागि खेल्ने सम्भावना कमजोर रहेको बताएका थिए।
उनको यो निर्णयले व्यक्तिगत रूपमा ठूला प्रतियोगिता गुमाउने सम्भावना भए पनि उनले सधैँ आफ्नो देश रोजे। अहिले त्यसैको प्रतिफलस्वरूप विश्वकपको मैदानबाट नर्वेको खेल क्षमता विश्वभर पस्किरहेका छन्। नर्वे अहिले मार्टिन ओडेगार्ड, क्रिस्टोफर आयर, जर्गेन स्ट्रान्ड लार्सेन र ओस्कार बोबजस्ता खेलाडीहरू सहित बलियो टोलीका रूपमा उदाएको छ।
तर सबैको बीचमा हालान्डको उपस्थितिले छुट्टै पहिचान बनाउँछ। उनको प्रभाव केवल गोलमा सीमित छैन, उनी खेलको नतिजा नै परिवर्तन गर्न सक्ने खेलाडीका रूपमा परिचित छन्। यही कारण उनलाई नर्वेमा “टीमको प्रतीक” मात्र होइन, “मिशन बोकेका खेलाडी” का रूपमा हेरिन्छ।
६ फिट ५ इन्च अग्ला, सुनौलो कपाल भएका हालान्ड आज विश्व फुटबलका सबैभन्दा चिनिने अनुहारमध्ये एक हुन्। तर उनको नर्वेसँगको सम्बन्ध अझै गहिरो छ। बारम्बार आफ्नो गृहनगर फर्किएका उनी त्यहाँ सम्पत्ति जोडेर भविष्यमा फार्म सञ्चालन गर्ने इच्छा पनि व्यक्त गरेका छन्।
उनको आत्मविश्वास, सीधा स्वभाव र कहिलेकाहीँ आक्रामक खेल शैलीले उनलाई स्क्यान्डिनेभियाली संस्कृतिभन्दा फरक बनाउँछ, तर त्यही विशेषताले उनलाई विश्वस्तरीय स्टार पनि बनाएको छ । द न्यू योर्करले विश्वकप विशेष फिचर प्रकाशित गर्दै हालान्डलाई ‘आधुनिक भाइकिङ’को संज्ञा दिएको छ । रिपोर्टअनुसार उनी फुर्सदको समयमा जंगलमा गएर काठ चिर्छन् ।
उनी दैनिक करिब ६ हजार क्यालोरी खाने गर्दछन् । फुटबल प्रशिक्षणपछि उनी काँचो दूध पिउने गर्छन् । यस कारण पनि उनलाई ‘भाइकिङ स्टार’ भनेर भन्ने गरिन्छ । जारी विश्वकपमा हालान्डले आफूलाई सर्वाधिक गोल गर्ने खेलाडी (गोल्डेन बुट) को दौडमा समेत उभ्याइसकेका छन् ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिरहेका अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सी र फ्रान्सका कप्तान किलियन एम्बाप्पे समान ६–६ गोलसहित शीर्ष स्थानमा छन् भने दुई स्टारलाई हालान्डले ५ गोलसहित पछ्याइरहेका छन् । आइभोरी कोस्टविरुद्धको खेलमा निर्णायक गोल गर्दै उनले अन्तर्राष्ट्रिय फुटबलमा आफ्नो ६०औँ गोल पूरा गरेका हुन्।
हालान्डले यो उपलब्धि केवल ५३ अन्तर्राष्ट्रिय खेलमै हासिल गरेका छन्, जसअनुसार उनको प्रति खेल औसत १.१३ गोल रहेको छ। हालान्डले किलियन एम्बाप्पेको ६० अन्तर्राष्ट्रिय गोलको कीर्तिमानसँग बराबरी गरेका छन्। तर जहाँ एमबाप्पेलाई यो उपलब्धिसम्म पुग्न १०१ खेल लागेको थियो, हालान्डले लगभग आधा खेलमै त्यही आँकडा पूरा गरेका छन्।
पछिल्ला १३ प्रतिस्पर्धात्मक अन्तर्राष्ट्रिय खेलमा हालान्डले २५ गोल गरेका छन्। साथै, उनले फिफा विश्वकपका विभिन्न स्तरमा गरी कुल १४ गोल गरेका छन्, जसमा सिनियर विश्वकप २०२६ मा पाँच गोल र २०१९ अन्डर २० वल्र्डकपमा नौ गोल समावेश छन्। वरिष्ठ टोलीबाट डेब्यु गरेयता हालान्डका लागि गोल गर्नु सामान्यजस्तै बनेको छ।
उनले केवल ४६ खेलमै ५० अन्तर्राष्ट्रिय गोल पूरा गरेका थिए भने त्यसपछि थप सात खेलमै ६० गोलको ऐतिहासिक आँकडा छोएका हुन्। उनको उत्कृष्ट फिनिसिङ, बलियो शारीरिक क्षमता र बौद्धिक गतिशीलताले उनलाई विश्व फुटबलका सबैभन्दा पूर्ण र निर्णायक फरवार्डमध्ये एक बनाएको छ।
अहिले केवल २५ वर्षका रहेका हालान्डसँग आफ्नो यो कीर्तिमान अझ धेरै वर्षसम्म विस्तार गर्ने पर्याप्त समय छ। व्यक्तिगत उपलब्धिभन्दा पनि उनी नर्वेली फुटबलको पुनर्जागरणका प्रमुख प्रतीक बनेका छन्। करिब तीन दशकपछि नर्वेले फिफा विश्वकपमा पुनरागमन गर्दा टोलीको नेतृत्व हालान्डले गरेका छन् भने कप्तान मार्टिनसहितको प्रतिभाशाली पुस्ताले उनलाई साथ दिएको छ।
फ्रान्ससँग समूह चरणमा भएको ४–१ को हारमा नर्वेले हालान्डको अनुपस्थितिलाई कति महसुस गरेको थियो भन्ने पनि देखाएको छ। उक्त खेलमा मुख्य प्रशिक्षकले आफ्ना प्रमुख गोलकर्तालाई मैदानमा उतारेका थिएनन्। हालान्डले जारी विश्वकपमा इराक र सेनेगलविरुद्ध २, २ गोल गरेका थिए भने फ्रान्सविरुद्ध नर्वे पराजित भएको खेलमा उनी बेन्चमा रहेका थिए ।




