१९ असार , काठमाण्डौ।
कीर्तिमानी खेलाडी क्रिष्टियानो रोनाल्डोले विश्वकपको नकआउट चरणमा गोल गर्न नसकेको खडेरीलाई तोड््दा पोर्चुगलले क्रोएसियालाई हराउँदै अन्तिम १६ मा स्थान बनाएको छ ।
निकै संघर्षपूर्ण र क्रोएसियाको गोललाई लिएर उत्पन्न विवादका कारण केही समय तनावपूर्ण बनेको खेलमा मैदानमा बोतलको बर्षा पनि भएको थियो ।
रोनाल्डोको सट्टामा मैदानमा आएका गोन्कालो रामोसले इन्ज्योरी टाइममा गरेको गोलले पोर्चुगलले अन्तिम १५ को स्थान सुरक्षित गरेको हो ।
रामोसको यही गोलको सहयोगमा पोर्चुगलले क्रोएसियालाई २–१ ले पराजित गर्दै स्पेनसँगको भेट पक्का गरेको हो ।
टोरन्टोमा भएको खेलमा इभान पेरिसिसचले क्रोएसियालाई अग्रता दिलाएका थिए ।
उनले खेलको ५३ औं मिनेटमा गोल गरेपछि खेलमा दबाबमा रहेको क्रोएसियाले अग्रता बनाएको थियो ।
यो बेलासम्म खेल पोर्चुगलले ५८ प्रतिशतले नियन्त्रणमा राखेको थियो ।
तर पेरिसिसचको गोलले दबाबमा परेको पोर्चुगललार्ई ६८ औं मिनेटमा राहत मिलेको थियो ।
पोर्चुगलले पाएको पेनाल्टी अवसर खेर नफ्याली रोनाल्डोले गोल गर्दा खेल बराबरीमा मात्र आएन ।
अहिलेसम्मको ६ विश्वकप सहभागितमा नकआउट चरणको खेलमा गोल गर्न नसकेको खडेरी पनि तोड्दै रोनाल्डोले आफ्ना आलोचकहरुलाई जवाफ दिएका छन् ।
रोनाल्डोको नाममा सबै छ सहभागितामा विश्वकपमा गोल गर्ने पहिलो खेलाडीको कीर्तिमान यही विश्वकपमा कोरिएको छ ।
खेलको ८१ औं मिनेटमा प्रशिक्षक रोबर्टो मार्टिनेजले रोनाल्डोलाई विश्राम दिएर उनको सट्टा मैदानमा रामोसलाई उतारेका थिए ।
मार्टिनेजको यो निर्णमा रोनाल्डो निकै निराश देखिएका थिए ।
तर रामोसले आफु रोनाल्डोको विकल्पमा किन योग्छ छु भन्ने प्रमाण पेश गर्दै इन्ज्योरी समयमा हेडमार्फत सुन्दर गोल गर्दै पोर्चुगललाई बढत दिलाए ।
तर खेलको अन्तिम समयमा क्रोएसियाले गरेको गोलाई भिएआरले मान्यता नदिएपछि खेल पोर्चुगलको पक्षमा पुग्यो ।
भिएआरको निर्णयप्रति आपत्ति जनाउँदै क्रोएसियाली प्रशंसकहरुले मैदानमा बोतल प्रहार गर्दा केही बेर स्थिति तनाबपूर्ण बनेको थियो ।
खेलमा लामो समय रियल म्याड्रिडबाट खेलेका दुई सहयात्री रोनाल्डो र क्रोएसियाली कप्तान लुका मोर्डिचले मैदानमा अंकमाल गर्दा दर्शकदिर्घां भावुक बनेको थियो ।
अन्तिम विश्वकप खेलिरहेका मोड्रिच आफ्नो टोली घर फर्कने पछि मैदानमा नै निराश बनेका थिए ।
उनले आफ्नो टोलीले फर्काएको बराबरी गोललाई मान्यता नदिदा असन्तुष्टि व्यक्त गरेका थिए ।





