२४ असार , काठमाण्डौ।
अमेरिकाले इरानमा फेरि बमबारी सुरु गरेको छ । होर्मुज जलमार्ग हुँदै गइरहेका कतार र साउदी अरेबियाका तेल ट्यांकरसहित तीनवटा व्यापारिक जहाजमाथि आक्रमण भएपछि अमेरिकाले इरानविरुद्ध शक्तिशाली सैन्य हमला सुरु गरेको छ ।
इरानी सरकारी सञ्चारमाध्यमहरूका अनुसार इरानका रणनीतिक बन्दरगाह क्षेत्र बन्दर अब्बास, सिरिक र केश्म टापुमा ठूला विष्फोट भएका अलजजिराले जनाएको छ । यो सैन्य कारबाहीसँगै अमेरिकाले गत जुन १७ मा वासिंटन र तेहरानबीच भएको अन्तरिम शान्ति समझदारीअन्तर्गत इरानलाई तेल बिक्री गर्न दिइएको ‘विशेष छुट’ पनि खारेज गरिदिएको छ ।
स्थानीय अधिकारीहरू र इरानी सरकारी टेलिभिजनका अनुसार अमेरिकाले इरानका व्यापारिक तथा सैन्य पूर्वाधारलाई निशाना बनाएको छ । केश्म टापुमा कम्तीमा ६ वटा शक्तिशाली विष्फोटका आवाज सुनिएको छ । त्यहाँ रहेको एक ठूलो घाटलाई मुख्य रूपमा निशाना बनाइएको जनाइएको छ ।
सिरिकमा होर्मुज जलमार्गको निगरानीका दृष्टिले अत्यन्तै सामरिक महत्व बोकेको सिरिक सहरमा सातदेखि नौवटा विष्फोट भएको बताइएको छ । यहाँका व्यावसायिक तथा माछा मार्ने घाटहरूमा आक्रमण भएको रिपोर्ट सार्वजनिक भएको छ ।
इरानकै सबैभन्दा ठूलो बन्दरगाह सहर बन्दर अब्बासमा १० वटा ठूला विष्फोटका आवाज सुनिएको छ । प्रारम्भिक विवरणअनुसार यहाँका दूरसञ्चार टावर तथा अन्य तटीय संरचनाहरूमा क्षति पुगेको छ । यसैबीच, इरानका उपविदेशमन्त्रीले अमेरिकी सैन्य कारबाहीलाई जुन १७ मा भएको समझदारीको ठाडो उल्लंघन भएको बताएका छन् ।
व्यापारिक जहाजहरूमाथि इरानले आक्रमण गरेको भन्ने अमेरिकी दाबीलाई तेहरानले शंकास्पद र आधारहीन आरोप भन्दै पूर्ण रूपमा अस्वीकार गरेको छ । इरानी विदेश मन्त्रालयका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा होर्मुज जलमार्गमा इरानको अधिकार र नियन्त्रण उक्त समझदारीकै आधारमा निर्धारण भएको उल्लेख गरिएको छ ।
विज्ञप्तिअनुसार यस जलमार्गबाट हुने कुनै पनि जहाजको आवतजावत सुरक्षित बनाउन इरानी पक्षसँग समन्वय अनिवार्य छ । इरानले समन्वयबिना गरिने जहाज आवतजावतले सुरक्षा जोखिम निम्त्याउन सक्ने तर्क गरेको छ । तर कतारले भने आफ्नो जहाजमाथि भएको आक्रमणको निन्दा गरेको छ ।
‘अल–रेकायात’ नामको कतारी जहाजमा प्रहार भएपछि त्यसले सङ्कट सङ्केत (डिस्ट्रेस सिग्नल) पठाएको बताइएको छ । कतारले उक्त आक्रमणको निन्दा गर्दै यसलाई अन्तरराष्ट्रिय कानुनको उल्लङ्घन तथा अन्तरराष्ट्रिय समुद्री आवागमन र विश्वव्यापी ऊर्जा सुरक्षामाथिको खतरा भएको जनाएको छ ।
कतारको विदेश मन्त्रालयका प्रवक्ता माजेद अल–अन्सारीले सामाजिक सञ्जाल ‘एक्स’मार्फत जारी विज्ञप्तिमा घटनाका लागि इरानलाई पूर्ण रूपमा कानुनी रूपमा जिम्मेवार ठहर गर्दै यस्ता गतिविधि तत्काल रोक्न आग्रह गरेका छन् । यसैबीच उता सिरियाको राजधानी दमास्कसमा फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँको भ्रमणका क्रममा मंगलबार दुईवटा शक्तिशाली विस्फोट भएका छन् ।
सञ्चारमाध्यमका अनुसार राष्ट्रपति म्याक्रोँ बसेको ‘फोर सिजन्स होटल’बाट करिब १२५ मिटरको दूरीमा विस्फोट भएको हो । म्याक्रोँ सोमबार सिरियाको राजधानी दमास्कस पुगेका थिए । सिरियाली सञ्चारमाध्यमहरूका अनुसार घटनामा चारजना प्रहरी अधिकारीसहित १८ जना घाइते भएका छन् ।
सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा घटनास्थलबाट बाक्लो धुवाँ र आगोको मुस्लो उठिरहेको देखिन्छ । घटनापछि सुरक्षा निकायहरूले प्रभावित क्षेत्रलाई घेराबन्दी गर्दै सडक आवागमन बन्द गरेका छन् । फ्रान्सेली राष्ट्रपतिको कार्यालय एलिसी प्यालेसले राष्ट्रपति म्याक्रोँ पूर्ण रूपमा सुरक्षित रहेको जनाएको छ ।
विस्फोटपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै म्याक्रोँले भने, “सिरियाका नागरिकहरू स्वतन्त्र, सुरक्षित, एकताबद्ध र सबै समुदायलाई समेट्ने देश चाहन्छन् । उनीहरूको यो आकांक्षालाई कसैले रोक्न सक्दैन । मेरो सिरिया भ्रमण यथावत् रहनेछ ।” बसर अल–असद सत्ताच्युत भएपछि सिरियाको भ्रमण गर्ने म्याक्रोँ पहिलो प्रमुख युरोपेली नेता बनेका छन् ।
दमास्कस विमानस्थलमा सोमबार उनलाई सिरियाका विदेशमन्त्री असद अल–शैबानीले स्वागत गरेका थिए । मंगलबार म्याक्रोँले सिरियाका अन्तरिम राष्ट्रपति अहमद अल–शरासँग भेटवार्ता गरेका छन् । दुवै नेताले ऐतिहासिक उमय्यद मस्जिदको पनि अवलोकन गरेका छन् ।
म्याक्रोँको भ्रमणमा सिरियाको पुनर्निर्माण, वैदेशिक लगानी, सुरक्षा सहकार्य तथा आतंकवादविरुद्धको अभियान मुख्य एजेन्डाका रूपमा रहेका छन् । साथै, पूर्वाधार, वित्तीय क्षेत्र र ऊर्जा क्षेत्रमा सम्भावित सहकार्यबारे पनि छलफल भइरहेको बताइएको छ ।
यसअघि जुलाई ३ मा दमास्कसस्थित ‘प्यालेस अफ जस्टिस’ नजिकको एक क्याफेमा बम विस्फोट भएको थियो । उक्त घटनामा पाँचजनाको मृत्यु भएको थियो भने २० जना घाइते भएका थिए । दमास्कसका गभर्नर माहेर मरवान इद्लिबीका अनुसार क्याफेमा इम्प्रोभाइज्ड एक्सप्लोसिभ डिभाइस (आईईडी) राखिएको थियो ।
घटनामा संलग्न भएको आशंकामा एकजनालाई पक्राउ गरिएको छ । अधिकारीहरूले केही समूहले देशमा अस्थिरता सिर्जना गर्ने प्रयास गरिरहेको बताएका छन् । यद्यपि, हालसम्म उक्त विस्फोटको जिम्मेवारी कुनै पनि आतंकवादी समूहले लिएको छैन ।




