गृहमन्त्रीको निर्देशनपछि कोशी अस्पतालको अतिक्रमण क्षेत्रमा डोजर चल्यो

२९ असार, काठमाण्डौ ।

गृहमन्त्री सुधन गुरुङ र स्वास्थ्य मन्त्री निशा मेहताको कडा निर्देशनपछि विराटनगरस्थित कोसी अस्पतालको स्वामित्वमा रहेको बहुमूल्य सरकारी जग्गाको अतिक्रमण हटाउन डोजर चलाइएको । अस्पतालको जग्गा अतिक्रमण गरी विभिन्न चारवटा संस्थाहरूले अवैध रूपमा निर्माण गरेका दुई दर्जन भन्दा बढी व्यावसायिक सटरहरू भत्काइएको हो ।

अतिक्रमण हटाउन अस्पताल प्रशासनले दिएको ७ दिने अल्टिमेटम आइतबार सकिएको थियो । सोमबार बिहानैदेखि अस्पताल चोक र देवकोटा चोक क्षेत्रमा डोजर परिचालन गरिएको छ । सम्भावित अवरोध रोक्न ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

Advertisement

अस्पतालको जग्गामा विभिन्न सङ्घ–संस्थाले व्यावसायिक प्रयोजनका लागि भवन निर्माण गरेका थिए । ती भवनबाट ती संस्थाहरूले भाडासमेत उठाउँदै आएका थिए । अस्पतालले पटक–पटक ती संरचना हटाउन प्रयास गर्दा पनि सफल हुन सकेको थिएन ।

Advertisement

अस्पतालको जग्गामा नेपाल रेडक्रस सोसाइटी, नेपाल क्षयरोग निवारण संस्था, गणेश मन्दिर समिति र देवकोटा पुस्तकालयले स्थायी संरचना निर्माण गरेका छन् । केही संस्थाले ३० भन्दा बढी सटर औषधि पसल, चिकित्सक लगायत तेस्रो पक्षलाई भाडामा दिएका थिए ।

अस्पतालले आफ्नो गुरुयोजना कार्यान्वयनका लागि लामो समयदेखि संरचना हटाउन ताकेता गर्दै आएको थियो । गत असार २१ गते गृहमन्त्री सुधन गुरुङ र स्वास्थ्यमन्त्री निशा मेहताले स्थलगत अनुगमनका क्रममा संरचना खाली गराउन निर्देशन दिनुभएको थियो । त्यसलगत्तै अस्पताल प्रशासनले सात दिनभित्र संरचना हटाउन सार्वजनिक सूचना जारी गरेको थियो, जसको म्याद सोमबार सकिएको छ ।

म्याद सकिएसँगै एकाबिहानैदेखि डोजर परिचालन गरिएको हो । अस्पतालको अभिलेखअनुसार नेपाल क्षयरोग निवारण संस्थाले ६ कट्ठा ८ धुर र नेपाल रेडक्रस सोसाइटीले करिब २ कट्ठा जग्गा वर्षौँदेखि प्रयोग गर्दै आएका थिए । गणेश मन्दिर समिति र देवकोटा पुस्तकालयले पनि सडक मोहडामा सटर निर्माण गरी व्यावसायिक प्रयोजनमा प्रयोग गर्दै आएका थिए ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा चन्द्रभाल झाले सबै अतिक्रमित संरचना हटाएर जग्गा आफ्नै सेवा विस्तार र संस्थागत प्रयोजनमा उपयोग गरिने बताए । जथाभावी निर्माण गरिएका संरचनामा डोजर चलाएर भत्काइएपछि वर्षौँदेखिको अतिक्रमण अन्त्य भई अस्पतालले आफ्नो सम्पत्ति निर्वाध रूपमा उपयोग गर्न पाउने उनको भनाइ छ ।

अस्पतालको जग्गामा बनाइएका भवन भत्काउँदा मानवीय सेवामा सञ्चालनमा रहेका रेडक्रस र क्षयरोग निवारण संस्थाहरूलाई भने समस्या परेको छ । रेडक्रसको भवनमा रक्त सञ्चार सेवा समेत सञ्चालनमा रहेको थियो । अहिले गणेश मन्दिर, क्षयरोग निवारण संस्था, नेपाल रेडक्रस सोसाइटी र देवकोटा पुस्तकालयका मुख्य कार्यालय वा सेवा प्रवाह गर्ने भवनहरू भने नभत्काइने अस्पतालले जनाएको छ ।

ती संस्थाहरूले सामाजिक सेवाको आवरणमा अस्पतालको जग्गा ओगटेर व्यावसायिक प्रयोजनका लागि तेस्रो पक्षलाई भाडामा लगाएका २६ वटा सटरहरूमा चाँही डोजर चलाइने भएको छ । पहिलो चरणमा गणेश मन्दिर परिसरका ५ सटर, जहाँ सञ्चालित उज्ज्वल फर्मा, कलश फर्मा, उत्सव किराना पсел, श्रुति फार्मेसी र बालबालिका क्लिनिक रहेका छन् ।

यसै गरी क्षयरोग निवारण संस्थाका ९ सटर, यसअन्तर्गत रहेका श्रेष्ठ खाजाघर, मदिना होटल, पुन्टु कलेक्सन, पूर्वाञ्चल बायोमेडिकल, दीपेश शाकाहारी खाजाघर, रहिम मोटरसाइकल मर्मत पसल, मोनिका फार्मेसी र निरुपमा होटल रहेका छन् । नेपाल रेडक्रस सोसाइटीका ६ सटर, रेडक्रसको जग्गामा सञ्चालित सुनिल भेराइटीज, सुमना ट्रेडर्स, त्रिवेणी फोटो स्टुडियो, राष्ट्रिय वाणिज्य बैंक, कोसी मार्भलस र मिना मेडिकलका सटरहरू रहेका छन् ।

देवकोटा पुस्तकालयका सडक मोहडामा सञ्चालनमा रहेका ६ वटा व्यावसायिक सटरहरू पनि भत्काइने सूचीमा सूचीकृत छन् । यसअघि अस्पतालले सुरुमा १५ दिने सार्वजनिक सूचना जारी गरेर संरचना खाली गर्न भनेको थियो, तर राजनीतिक र सामाजिक पहुँचका आधारमा ती संरचना खाली गर्न व्यवसायी र संस्थाहरूले अस्वीकार गर्दै आएका थिए ।

सरकारी सम्पत्तिको यस्तो चरम दुरुपयोग भएपछि केही समयअघि गृहमन्त्री सुदन गुरुङ र स्वास्थ्यमन्त्री निशा मेहताले कोशी अस्पतालको संयुक्त रूपमा स्थलगत निरीक्षण गरेका थिए । निरीक्षणका क्रममा सरकारी जग्गामा भइरहेको व्यापार र विकृति देखेपछि गृहमन्त्री गुरुङले स्थानीय प्रशासन र अस्पताल प्रशासनलाई तत्काल कडा कदम चाल्न र ७ दिनभित्र अतिक्रमण गरिएका सबै संरचना हटाउन निर्देशन दिएका थिए ।

गृहमन्त्रीको सोही कडा निर्देशन र ‘जिरो टोलरेन्स’ नीतिका कारण अहिले स्थानीय प्रशासन र अस्पताल प्रशासनले यो प्रक्रियालाई तीव्र गतिमा अघि बढाएका हुन् । विराटनगर–७ स्थित कित्ता नम्बर ११, १२, १५, २२, २३ र २६ को बहुमूल्य जग्गामा यी चार संस्थाले लामो समयदेखि सामाजिक सेवाको नाममा व्यापारिक गतिविधि गर्दै आएका थिए ।

अस्पतालको आन्तरिक अध्ययन प्रतिवेदन अनुसार क्षयरोग निवारण संस्थाले ६ कट्ठा ८ धुर सरकारी जग्गा ओगटेर मासिक करिब दोब्बर ९दुई लाख० रुपैयाँ भाडा उठाइरहेको छ । त्यस्तै, मानवीय सेवा गर्ने रेडक्रसले २ कट्ठा जग्गामा बनेको भवन बैंकलाई भाडामा दिएर मासिक १ लाख ५० हजार रुपैयाँ आम्दानी गरिरहेको छ ।

यसैगरी गणेश मन्दिर र देवकोटा पुस्तकालयले पनि मुख्य सडकको मोहडामा रहेका सटरहरूबाट मासिक लाखौँ रुपैयाँ असुलिरहेका छन् । तर, उक्त रकम अस्पतालको हित वा बिरामीको सेवामा खर्च नभई संस्थाकै मातहतमा रहने गरेको थियो । कोसी अस्पताल प्रशासनले अस्पतालको बृहत्तर गुरुयोजना (मास्टर प्लान) कार्यान्वयन गर्न, नयाँ आधुनिक भवनहरू निर्माण गर्न र आफ्नै जग्गाको सही सदुपयोगका लागि यो कदम चाल्न अनिवार्य भएको जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top