२९ असार, काठमाण्डौ ।
सुकुम्बासीहरू रविन तामाङ, इन्द्र बहादुर राई हुँदै भेषराज दर्जीसम्म आइपुग्दा होस् वा राइड शेयरिङ्ग गरेर जीविकोपार्जन गरिरहेका गणेश नेपालीले आत्मदाह गर्दा किन नहोस्, जति हुनु पर्दथ्यो त्यति सहानुभूति कतैबाट देखिएन । कसैको ज्यान गएको छ तर सामान्य करूणा पनि झल्किंदैन।
एक हिसाबले भन्दा, यो राज्य अनि समाजकै मानवता हराउँदै गएको भान हुन्छ । गणेश नेपाली, मानव विकास सूचकाङ्कमा देशकै पुछारमा रहेको मुगु जिल्लाको दलित परिवारका एक सदस्य थिए। दृष्टिविहीन बुबा र दीर्घरोगी आमाका छोरा, उनको २५ वर्षकै उमेरमा बिहेवारी भएर छोरी जन्मिसकेकी थिइन ।

कृषिमा जेटिएसम्मको अध्ययन सकेका उनी लोकसेवा आयोगको प्रतिस्पर्धामा दुई पटकसम्म असफल भए । त्यसपछि रोजगारीको लागि दुबई जाने मनस्थितिमा पुगिसकेका थिए । परिवारको पेट पाल्न जग्गा धितो राखेर लिएको मोटरसाइकलमार्फत राइड सेयरिङको काम गर्थे। तर अहिले समाजले नै ’एक हजार जरिवाना तिर्न नसकेर मृत्यु रोजेको, नियम सबैले पालना गर्नुपर्छ’ जस्ता टिप्पणी गरिरहेको सुनिन्छन्।
अभिनेत्री सुरक्षा पन्तको शब्दमा भन्दा, ’हजार रूपैयाँ पनि ठूलो रकम लाग्ने साथीहरुलाई फोन गर्नु, सम्झनु बेला बेलामा। किनकी कसैको लागि त्यही रकम ठूलो हुनसक्छ।’ यति भनिसकेपछि यसमा थप तर्कको आवश्यक रहेन। किनकी गणेश नेपाली तिनै परिवारका सदस्य हुन्, जसले १२०० रूपैयाँमा एक केजी पाइने खसीको मासु पनि खान पाएनन्।
पैसा अभावकै कारण उनको अन्तिम इच्छा पनि पूरा भएन। गणेशका दाइ मदन भन्दैछन्, ’भाइले खसीको खुट्टा लिएर आएको रहेछ, मैले बिहान पकाएको थिएँ, तर भाइ आउला आउला भनेर पर्खिरहेको बेला प्रहरीको फोन आयो। तिम्रो मान्छेले पेट्रोल छर्किएर शरीरमा आगो लगायो भनेर खबर ग¥यो।’
दोस्रो, नियम सबैले मान्नुपर्छ। राज्य सधैं गिभ एण्ड टेकमा चल्छ। त्यो भनेको, यदि नागरिक आफूले कमाएको पैसाबाट लुरूलुरू कर तिर्न जान्छन् भने त्यहाँ एउटा सौदा हुन्छ। नागरिकले कर तिर्छन् अनि राज्यले त्यसको बदलामा संरक्षणको जिम्मा लिएको हुन्छ। राज्य भनेको शासन पनि हो, संरक्षण पनि हो। संरक्षणविनाको शासन संसारमा कतै पनि टिकेको छैन।
नागरिकलाई भोकै पर्न दिइने छैन, छानो खोसिने छैन र सबैभन्दा ठूलो विषय उसको प्रतिष्ठा हरण गरिनेछैन भनेर राज्यले नागरिकसँग सन्धि गरेको हुन्छ। त्यही दोहोरो सन्धिका भरमा प्रणाली चलेको हुन्छ। जब कुनै मोडमा नागरिक नाजुक बन्छ, त्यो बेला तिमी सुरक्षित छौं किनकि तिम्रो श्रम, पसिना र करले यो प्रणाली चलेको छ भन्न राज्य सविनय हाजिर हुनुपर्छ ।
त्यसैले आज गणेश नेपालीले किस्तामा किनेको मोटरसाइकल राइड सेयरमा चलाउँदा पनि हरेक किलोमिटरमा कर थोपर्ने नयाँ सरकारको नयाँ आदेश मानेका हुन् । अब प्रश्न जन्मिन्छ–त्यसोभए राज्यले आफ्नो कर्तव्य पूरा गरेको छ त ? जसकारण कर तिर्न बाध्य हुनुपर्छ ? सम्पादक उमेश चौहान भन्छन्, ’नाजुक नागरिकलाई उल्टै लेखेट्ने, घेर्ने र हतोत्साहित गर्ने हो भने पेट्रोल छर्किएको, आगो सल्काएको र नागरिकलाई जलाएको अभियोग राज्यलाई लाग्छ।
त्यो अभियोगबाट न हिजोको सरकारले उन्मुक्ति पाउँछ, न आजको सरकारले।’ त्यसकारण आज गणेश नेपालीले नियम कानून मान्नुपथ्र्यो भनेर सपाट टिप्पणी गर्ने हो भने हिजो प्रेम आचार्यले पनि आफूले खाएको ऋण तिरेर जानुपथ्र्यो भन्ने असंवेदनशील कित्तामा पुगिन्छ। यस्तो मनोविज्ञानले मानवताका जुनसुकै किल्ला भत्काउन सक्छ।
फेरि पनि सत्य चाहिं के हो भने, गणेश नेपालीको आत्मदाहको सतहमा एक हजार देखिएला, तर त्यसको गुदीमा चरम गरिबी, निरन्तरको तिरस्कार र असीमित दुःखका लाखौँ–करोडौँ पत्रहरू प्रष्टै देखियो। बाहिर देख्दा, १००० रुपैयाँ जरिवाना र मोटरसाइकल जफत आत्मदाहको कारण देखिन्छ।
तर, भित्री भार भने आर्थिक तनाव, पारिवारिक जिम्मेवारी, बेरोजगारी र निराशा, विदेशिने बाध्यता इत्यादि हो। जुन कहीं न कहीं राज्यले लादिदिएको भार हुन्। अर्थात् यसरी भनौं, यसमा प्रत्यक्ष जिम्मेवार राज्यका संयन्त्रहरु छन् । त्यही पीडाले गणेश भित्रभित्रै राख भएर जलिसकेका थिए।
बिहीबारको घटनाले उनको शरीरमा पेट्रोल छर्कन ट्रिगर गरिदियो र उनी सदाका लागि अस्ताए। मृत्युमा पनि पोलिएर मर्ने, अर्थात् सबैभन्दा पीडादायी मरण रोजेका उनको मृत्यु जति पीडादायी र भयानक छ, त्योभन्दा बढी पीडादायी छ, यतिखेर सामाजिक सञ्जालमा देखिएको उदासीनता र सदनमा पोखिएको सरकारी निर्मम प्रतिक्रियाहरू।
लाग्छ, यतिखेर समाजमा समानुभूतिको खडेरी परेको छ। यसको अन्तर्यमा पनि अल्गोरिदम र समाजको स्वविवेक हाबी देखिन्छ। गरिबी कुनै समाजको रहर होइन, यो संरचनागत बाध्यता हो। काठमाडौं महानगरपालिकाले मोटरसाइकलमा ‘ह्विल लक’ लगाइदिएपछि मुगुका गणेश नेपालीले जरिवाना तिर्न सकेनन् ।
राहदानी विभागअघि मोटरसाइकल पार्किङ गरेका गणेशले जरिवाना तिर्न नसक्ने भन्दाभन्दै पनि प्रहरीले आनाकानी गरेपछि उनले आफ्नै बाइकमा रहेको पेट्रोल छर्केर आत्मदाहको प्रयास गरे। गणेश र प्रहरीबीच केहीबेर नोकझोकसमेत भएको थियो ।
गणेशको निधनपछि वीर अस्पताल परिसरमा मृतकका आफन्त, सहकर्मी राइड शेयरिङमा काम गर्नेहरू, मुगुवासी, मानव अधिकारकर्मी अनि पत्रकारहरूको ठूलो भिड जम्मा भयो। मृतकले न्याय पाउनुपर्ने माग गर्दै प्रदर्शनकारीले अस्पताल परिसरमा चर्को नाराबाजी गरिरहे। यो नारा माइतीघर मण्डलासम्म लाग्यो ।
अस्पतालको एउटा कुनामा भावविह्वल अवस्थामा बसिरहेका गणेशका दाइ मदनले अगाडि क्यामेरा तेस्र्याएर बसेकाहरूलाई सोधे, ’हिजो मेरो भाइ आगोले जलेर छटपटाइरहँदा तपाईंहरू कहाँ जानुभएको थियो ? किन बचाउनुभएन ? आज किन आउनुभएको ?’ यो दृष्टान्तबाट यति भन्न सकिन्छ, गरिबीले मानिसको जीवनयापनलाई कठिन मात्रै बनाउँदैन।
यसले मानिसको विकल्प, अवसर, सम्बन्ध, आत्मसम्मान र भविष्यको कल्पनालाई समेत साँघुरो घेराभित्र सीमित गराइदिन्छ। यसलाई लेखक सन्जीव उप्रेतीले ’संरचनात्मक लाभांस’ नामक पुस्तकबाट बुझाउने कोसिस गरेका छन्। त्यस्तो साँघुरो गल्छेडोमा बाँचेका मान्छेका लागि त्यहाँ चल्ने ससाना बतास पनि विनाशकारी तुफान लाग्न सक्छ।
भारतमा बर्सेनि लाखौँ किसानहरूले किन आत्महत्या गरिरहेका हुन्छन् ? नेपालमा पनि आत्महत्या गर्नेहरूमध्ये ८५ प्रतिशत जति किन गरिब वा निम्न–मध्यम वर्गका मानिसहरू छन् ? त्यसको कारण यस्तै ससाना बतासहरू उनीहरूको दृष्टिमा आँधीबेहरी हुनु हो। गरिबहरूका लागि बालीनालीको उत्पादन कम हुनु, ऋण थपिँदै जानु, परिवारका सदस्य बारम्बार बिरामी पर्नु जस्ता सामान्य घटनाहरू पनि अकल्पनीय सङ्कट बन्ने गर्छन्।
तर यति हुँदाहुँदै पनि मानिसहरूले ’खुचिङ्ग’ भनिरहेका देखिन्छन्। मनोवैज्ञानिकहरूका अनुसार, समानुभूति प्रकट गर्नु भनेको मनोवैज्ञानिक रूपमा महँगो कुरा हो। सहानुभूति प्रकट गर्दा मान्छेमा असहजता, ग्लानि, उदासीपना र जिम्मेवारीबोध हुन सक्छ। एक हजारमा कसैले ज्यान लिएको घटनालाई समानुभूतिको दृष्टिले हेर्दा मान्छेलाई आफूले बेकारमा गरिरहेको फजुल खर्चप्रति आत्मग्लानी हुन सक्छ।
गणेशका परिवारसँग सरकारले ९ बुँदे सहमति गरेको छ । यो घटनाको छानविन प्रतिवेदन ७ दिन भित्र आउने छ । घटनामा संम्लग्न भनिएका महानगरका प्रहरीलाई निलम्बन गरिनेछ भने छानविन समितिबाट प्रतिवेदन आए गणेशलाई सहिद घोषणा गर्न प्रस्ताव गरिनेसम्मको सहमति छ । यद्यपि गणेशका परिवारले भने प्रहरीमा किटानी जाहेरी दिएका छन ।
त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि भएको घटनामा मृत्यु भएका गणेश नेपालीका परिवारले जिल्ला प्रहरी वृत्त, कालिमाटीमा किटानी जाहेरी दर्ता गराएका छन्।




