१ वैशाख , काठमाण्डौ।
मध्यपूर्व तनाव शान्त पार्ने विषयलाई लिएर अमेरिका र इरानबीच फेरि वार्ता हुने भएको छ । पाकिस्तानको इस्लामावादमा भएको वार्ता असफल भएपछि अर्को वार्ताका लागि दुवै देशले आआफ्ना अडान कायम राखिरहँदा बिहीबार नयाँ चरणको वार्ता हुनसक्ने विषय बाहिरिएको हो ।
एसोसिएटेड प्रेस (एपी)ले अमेरिका र इरानबीच बिहीबार नयाँ चरणको वार्ता हुन सक्ने खबर प्रसार गरेको छ । एपीले अमेरिकी अधिकारीहरूलाई उदृत गर्दै उल्लेख गरे अनुसार, बिहीबार दुई देशबीच अर्को वार्ता हुनसक्नेछ । यसका लागि अमेरिकाले पहल गरिरहेको छ ।
इरानको प्रतिक्रिया आइसकेको छैन । यता पाकिस्तानले पनि इरान र अमेरिकाबिच फेरि अर्को चरणको वार्ता चाँडै सुरु हुन सक्ने दाबी गरेको छ । पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले जारी युद्धविराम र सकारात्मक अवस्थालाई ध्यान दिँदै इरान र अमेरिकाबिच फेरि वार्ता हुने अपेक्षा गरिएको बताएका हुन् ।
बीबीसी फारसीका अनुसार सोमबार इस्लामावादस्थित संसद् भवनबाहिर पत्रकारहरूसँग कुरा गर्दै आसिफले भने, ‘हालैको वार्तापछि सन्तोषजनक वातावरण छ र अहिलेसम्म कुनै नकारात्मक अवस्था देखिएको छैन।’ उनले अगाडि भने, ‘सामान्य अवस्था देखिएको छ र यसलाई कूटनीतिक प्रयास सही दिशामा अघि बढिरहेको संकेत मान्नुपर्छ।’
यसअघि पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफले दुई पक्षबिच युद्धविरामले प्रगतिको आशा जगाएको बताएका थिए । गत शनिबार भने पाकिस्तानको राजधानी इस्लामावादमा इरान र अमेरिकाबिच २१ घण्टा भएको वार्ता निष्कर्षविहीन भएको थियो ।
यद्यपि सो वार्तामा इरानको परमाणु गतिविधि रोक्न अमेरिका र इरानले एक–अर्कालाई प्रस्ताव दिएका थिए । जसमा अल जजिराका अनुसार इरानले ५ वर्षसम्म परमाणु परियोजना रोक्ने प्रस्ताव राखेको थियो । तर अमेरिकाले त्यसलाई स्वीकार गरेन र २० वर्षसम्म रोक लगाउनुपर्ने मागमा अडिग रह्यो ।
यसैबीच यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको तर्फबाट होर्मुज जलघाँटीमा समुद्री नाकाबन्दी सुरु गरिएको छ । यो निर्णय सोमबार साँझ ७ः४५ बजेदेखि लागू गरिएको हो । ट्रम्पले चेतावनी दिएका छन् कि यदि कुनै पनि इरानी जहाज अमेरिकी नाकाबन्दी नजिक आएमा त्यसलाई तुरुन्त नष्ट गरिनेछ ।
यसका लागि समुद्रमा लागुऔषध तस्करी गर्ने जहाजहरू रोक्दा अपनाइने जस्तै छिटो र कडा उपाय अपनाइनेछ । यस निर्णयअनुसार होर्मुज भएर हिड्न खोज्ने सबै जहाजलाई रोकेर जाँच गरिनेछ । विशेषगरी इरानलाई टोल (शुल्क) तिरेका जहाजहरूमा कडा निगरानी गरिनेछ ।
यता इरानी विदेशमन्त्री अब्बास अराघचीले रुसी समकक्षी सर्गेई लाभरोभसँग कुरा गर्दै होर्मुजमा अमेरिकाको उक्साहटपूर्ण गतिविधि विश्व शान्तिका लागि खतरनाक हुने चेतावनी दिएका छन् । इरानले आफ्ना बन्दरगाहहरूमा आक्रमण भएमा फारसको खाडी र ओमान सागरका कुनै पनि बन्दरगाह सुरक्षित नरहने चेतावनी दिएको छ ।
यसैबीच इरानले भने आफ्ना छिमेकी देशहरू साउदी अरब, युएई, कतार, बहराइन र कुवेतसँग युद्धमा भएको क्षतिको क्षतिपूर्ति माग गरेको छ । इरानका तर्फबाट संयुक्त राष्ट्रसङ्घका राजदूत अमिर सइद इरावानीले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई एउटा पत्र पठाएका छन्।
पत्रमा यी पाँच देशहरूले अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गरेका र अब उनीहरूले इरानलाई भएको क्षतिको पूर्ण भरपाई गर्नुपर्ने उल्लेख छ । बीबीसीका अनुसार, इरानी राजदूत अमिर सइद इरावानीले लेखेको पत्रलाई समाचार एजेन्सी आईआरएनएले प्रकाशित गरेको छ।
पत्रमा लेखिएको छ, ‘यी पाँच देशहरूले अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गरेका छन् र इरानप्रतिको आफ्नो जिम्मेवारी पूरा गरेका छैनन्। त्यसैले अब उनीहरूको अन्तर्राष्ट्रिय जिम्मेवारी तय भइसकेको छ। उनीहरूले इरानलाई भएको सम्पूर्ण क्षतिको पूर्ण रूपमा भरपाई गर्नुपर्छ, जसमा भौतिक र मानसिक दुवै प्रकारका क्षतिहरू समावेश छन्।’
इरानले यस्तो माग गरेको यो पहिलो पटक भने होइन । यसअघि इरानले अमेरिकासँग पनि युद्धमा भएको क्षतिको क्षतिपूर्ति मागेको थियो । यता वार्ता निष्कर्षविहीन बनेपछि र नाकाबन्दी सुरु भएसँगै विश्व बजारमा कच्चा तेलको मूल्य बढेर प्रति ब्यारेल १०० डलर पार गरेको छ।
यद्यपि, पुनः वार्ता हुन सक्ने झिनो आशाका कारण अमेरिकी सेयर बजार (एस एन्ड पी ५०० र न्यासड्याक) मा भने सामान्य वृद्धि देखिएको छ । उता ट्रम्पले चीनलाई इरानलाई सैन्य मद्दत गरेमा गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन्। यद्यपि, चिनियाँ राष्ट्रपति सी चिनफिङ पनि युद्ध अन्त्यको पक्षमा रहेको ट्रम्पको विश्वास छ।
ट्रम्पले आगामी मे १४ र १५ मा बेइजिङको भ्रमण गर्ने तय भएको छ । ट्रम्पले युद्धको कभरेजलाई लिएर ‘द न्युयोर्क टाइम्स’ लगायतका अमेरिकी मिडियामाथि आक्रोश पोख्दै उनीहरूले इरानलाई बलियो देखाउन खोजेको आरोप लगाएका छन् ।
यसका साथै, युद्धको विरोध गर्ने इसाई धर्मगुरु पोप लियोको आलोचना गरेका ट्रम्पलाई इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले जवाफ दिँदै पोपको शान्तिको अपिल स्वाभाविक रहेको र ट्रम्पको टिप्पणी ‘अस्वीकार्य’ रहेको बताएकी छिन्।


